संसद्को टिकट पाएपछि दिलीपकुमार बगडिया (अग्रवाल)ले नगर प्रमुखबाट चाँडै राजीनामा गर्ने जनाए। 'निर्वाचन आयोगसँग सल्लाह गरेर चाँडै राजिनामा गर्छु,' उनले भने।
विराटनगर — नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार बगडिया (अग्रवाल) लाई उम्मेदवार बनाउने भएको छ।
शनिबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकले अग्रवाललाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । दुई कार्यकालसम्म रंगेली नगरपालिकाको नेतृत्व सम्हालेका अग्रवाललाई टिकट दिनु एमालेको स्थानीय तहमा सफल मानिएका नेतृत्वलाई संघीय संसद्मा स्थापित गर्ने संकेत रहेको एक एमाले नेताले जनाए।
स्थानीय विकास, प्रशासनिक अनुभव र संगठनभित्रको पकडलाई आधार मानेर अग्रवाललाई अघि सारिएको एमाले नेताहरूको भनाइ छ । हालै सम्पन्न एमालेको ११औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
संसद्को टिकट पाएपछि बगडियाले नगर प्रमुखबाट चाँडै राजीनामा गर्ने जनाए। 'निर्वाचन आयोगसँग सल्लाह गरेर चाँडै राजिनामा गर्छु,' उनले भने।
यसअघि मोरङ–२ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेल, नगर प्रमुख अग्रवाल र पूर्व राष्ट्रिय सभा सदस्य नैनकला ओझासहित तीन जनाको नाम सिफारिस गरिएको थियो । अन्ततः पार्टीले संसदीय अनुभवभन्दा पनि स्थानीय तहमा कार्यकारी नेतृत्वको निरन्तरता र जनसमर्थनलाई प्राथमिकता दिएको दाबी गरेको छ ।
मोरङ जिल्लामा रहेका छवटै निर्वाचन क्षेत्रमध्ये एमालेले अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको छ । क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, ३ मा दिलीप राई र ४ मा जीवन घिमिरेलाई उम्मेदवार बनाइसकेको एमालेले ५ र ६ नम्बर क्षेत्रमा भने निर्णय गर्न बाँकी छ ।
