बाग्लुङबाट रास्वपाले गंगा छन्त्याल, कांग्रेसले रेनुका काउचा र नेकपाले बलावती शर्माको नाम चयन गरी निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
बाग्लुङ — बाग्लुङले समानुपातितर्फबाट तीनजना महिला सांसद पाउने निश्चित भएको छ । रास्वपा, कांग्रेस र नेकपाले समानुपातिकतर्फबाट एक एकजना महिला सांसदको नाम निर्वाचन आयोगमा बुझाएको हो । प्रत्यक्षतर्फबाट भने बाग्लुङबाट महिला विजयी भएका छैनन ।
रास्वपाले बाग्लुङबाट गंगा छन्त्याल, कांग्रेसले रेनुका काउचा र नेकपाले बलावती शर्माको नाम चयन गरी आयोगमा सिफारिस गरेको छ ।
आयोगमा रास्वपाबाट ५७ जना उम्मेदवारको नाम छनोट गरी पठाउँदै गर्दा ४८ महिलामध्ये महिला, आदिवासी जनजातितर्फबाट बाग्लुङबाट छन्त्यालको नाम सिफारिस भएको छ । महिलातर्फ छन्त्याल परेको रास्वपाका जिल्ला अध्यक्ष महेन्द्र खड्काले बताए ।
कांग्रेसले २० जना समानुपातिक सांसदको नाम सिफारिस गरेको छ । यसमा १५ जना महिला उम्मेदवार छनोट भएकोमा आदिवासी जनजाति कोटाबाट बाग्लुङकी काउचाको नाम सिफारिस भएको कांग्रेस बाग्लुङका सचिव हरिहर शर्माले बताए । ‘बन्दसूचीमा बाग्लुङबाट ३ जना महिलाको नाम रहेको थियो,’ शर्माले भने, ‘पार्टीले पाएको समानुपातिक सिटमा भने आदिवासी जनजाति कोटाबाट सांसदमा काउचा पर्नुभएको छ ।’
नेकपाले ९ जना सांसदको नाम टुंग्गाउँदै गर्दा महिला खस आर्यबाट बाग्लुङकी बलावती शर्मा परेकी छन् । शर्मा नेकपाका नेता तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नवलपरासी पश्चिम–२ बाट पराजित दवेन्द्र पौडलकी श्रीमती हुन् ।
२ निर्वाचन क्षेत्र रहेको बाग्लुङमा प्रत्यक्षतर्फ दुवै क्षेत्रमा रास्वपा विजयी भएको थियो । बाग्लुङ–१ बाट शुसिल खड्का र बाग्लुङ–२ बाट सोम शर्मा विजयी भएका थिए ।
