दाङ क्षेत्र नं. १ बाट मेटमणी चौधरी, २ बाट निर्मल आचार्य र ३ बाट धनबहादुर मास्कीको नाम टुंगो लगाएको हो ।
दाङ — नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्यका लागि दाङका सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
क्षेत्र नं. १ बाट मेटमणी चौधरी, २ बाट निर्मल आचार्य र ३ बाट धनबहादुर मास्कीको नाम टुंगो लगाएको हो ।
चौधरी २०७४ र २०७९ मा गरी दुईपटक प्रतिनिधिसभाका सदस्य निर्वाचित भई एकपटक शहरी विकास मन्त्री भएका थिए । उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका प्रमुख सचेतक समेत थिए । उनले २०७९ को निर्वाचनमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भई २६ हजार ५ सय ७६ मतका साथ विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेकी शान्ता चौधरीले २१ हजार ४ सय ९३ मत प्राप्त गरेकी थिइन् ।
आचार्य २०७० को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार भई पराजित भएका थिए । मास्की २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा दाङ ३ (२) बाट २२ हजार ३ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनी लुम्बिनी प्रदेशको अर्थमन्त्रीसमेत भएका थिए । मास्की कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भएका थिए । उनका प्रतिस्पर्धी एमालेका हुकुमबहादुर बस्नेतले २० हजार १ सय ९३ मत प्राप्त गरेका थिए ।
