हामी नयाँ नेतृत्वसहित निर्वाचनमा जान्छौँ। विशेष महाधिवेशनको निर्णयअनुसार उच्च आत्मविश्वासका साथ अगाडि बढ्छौँ।
What you should know
काठमाडौँ — विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचका अनेक चरणका वार्तापछि पनि नेपाली कांग्रेस एकताबद्ध हुन सकेन। संस्थापन पक्षले अनुशासनको कारबाही गरेपछि बुधबार मध्यरातमा विशेष महाधिवेशन पक्षधरहरूले नयाँ केन्द्रीय कार्यसमितिको घोषणा गरे।
बिहीबार नै विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न थापा पक्ष निर्वाचन आयोग पुगिसकेको छ। यही पृष्ठभूमिमा विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गुरुराज घिमिरेसँग गंगा बीसीले गरेको कुराकानीः
कांग्रेस एकढिक्का राख्न सक्नुभएन नि ?
सबैभन्दा दुःखद पक्ष के हो भने हामीले उद्घाटन समारोहलाई नै एकताको सन्देश प्रवाह गर्ने अवसरमा परिणत गर्न चाहेका थियौँ। गगन थापा र विश्वप्रकाश शर्माले यसलाई एकता समारोहमा परिणत गर्नुपर्छ भनेर सबैलाई निर्देशन दिनुभएको थियो। हामी वक्ताहरूले पार्टीभित्रको एकता प्रवर्द्धनमा जोड दिएका थियौँ।
हामीले विशेष महाधिवेशन चलाइरहँदा पनि वार्ता र संवादको ढोका खुला राखेका थियौँ। वार्ता चलिरहँदा सहमतिको सम्भावना हुँदाहुँदै एक्कासि उहाँहरू (देउवा पक्ष) ले महामन्त्रीद्वय र सहमहामन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय लिनुभयो। त्यसपछि हामीसँग कुनै बाटो रहेन ।
एकताको सम्भावना जीवित हुँदाहुँदै पार्टीका बहुसंख्यक सदस्यलाई यो पार्टीमा कुनै स्थान छैन भन्नुभयो। त्यसैले हामी विशेष महाधिवेशनको कार्यसूचीअनुसार निर्णय गर्न बाध्य भयौँ र नेतृत्व चयनको प्रक्रियामा अघि बढ्यौँ।
देउवा पक्ष तपाईंहरूको प्रस्तावमा किन सहमत हुन सकेन ?
प्रजातन्त्र भनेको अहंकारी व्यवस्था होइन। यहाँ अहंकार वर्जित छ, यो विनम्र प्रणाली हो। सहअस्तित्व प्रजातन्त्रको अभिन्न मन्त्र हो। तर सहअस्तित्वलाई इन्कार गर्ने, मनोगत पारामा पार्टी चलाउन चाहने केही स्वार्थी तत्त्वबाट पार्टी प्रभावित भयो । सबैभन्दा दुःखद कुरा त ६० वर्षभन्दा लामो समय पार्टीमा योगदान दिनुभएका वयोवृद्ध पार्टी सभापति पनि त्यसैबाट प्रभावित हुनुभयो। पार्टीलाई एकताबद्ध राख्न उहाँ संकल्पित हुनुहुन्छ भन्ने हामीलाई लागेको थियो। तर पार्टी सभापतिले सबै कुरालाई आफ्नो वशमा राख्न सक्नुभएन। त्यसबाट हामी दुःखित छौँ।
अब आधिकारिक कांग्रेस कुन हो ?
महाधिवेशन पार्टीको सर्वोच्च संस्था हो। पार्टीको विधानअनुसार हामीले विशेष महाधिवेशन बोलाएका हौँ, जसमा पार्टीका बहुमत प्रतिनिधि सहभागी हुनुभयो। सर्वोच्च संस्थाको मार्गनिर्देशन केन्द्रीय कार्यसमितिले मान्नुपर्छ, पार्टीका सदस्यहरूले मान्नुपर्छ। निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिनेमा शंका छैन।
विभाजित कांग्रेस लिएर निर्वाचनमा कसरी जानुहुन्छ ?
हामी नयाँ नेतृत्वसहित निर्वाचनमा जान्छौँ। विशेष महाधिवेशनको निर्णयअनुसार उच्च आत्मविश्वासका साथ अगाडि बढ्छौँ। पार्टीभित्रको राजनीतिलाई नयाँ आयाम दिएका छौँ, पार्टीलाई नयाँ जीवन दिएका छौँ।
मुलुक र लोकतन्त्रलाई केन्द्रबिन्दुमा राखेर नेपाली जनताको जीवन सहज र सुखद बनाउने, देश र प्रजातन्त्रको रक्षा गर्ने तथा मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने दिशामा हामी अघि बढ्छौँ। जनताको प्रिय पार्टी बनाएर जनताले चाहेको ठाउँमा देशलाई पुर्याउँछौँ।
