पुराना र नयाँ पुस्ताको संघर्षले कांग्रेस विभाजन भएपछि प्रमुख राजनीतिक दलका नेताहरुको मुख्य नजर यतैतिर केन्द्रित गरेका छन् ।
What you should know
काठमाडौँ — नेपालका प्रमुख राजनीतिक दलहरुले सबभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस विभाजन भएकोमा दुःख व्यक्त गर्दै यसले मुलुकको राष्ट्रिय राजनीतिमा नकारात्मक प्रभाव पार्ने बताएका छन् ।
पुराना र नयाँ पुस्ताको संघर्षले कांग्रेस विभाजन भएपछि प्रमुख राजनीतिक दलका नेताहरुको मुख्य नजर यतैतिर केन्द्रित गरेका छन् ।
नेताहरुले कांग्रेस विभाजनपछि हुने आधिकारिक विवादले आसन्न निर्वाचनको कार्यतालिका प्रभावित नहुने गरी निर्वाचन आयोगलगायत सम्बन्धित निकायले समाधान दिनुपर्ने सुझाव दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसको विभाजन दुःखद भएकमो बताए । पार्टीभित्रको विवादलाई आन्तरिक रुपमा समाधान हुन नसक्दा यो अवस्था आएको उनको भनाइ छ । यो विभाजनले आसन्न निर्वाचनलाई प्रभावित नहुने गरी विचार गर्नुपर्ने बताए ।
‘पार्टी विभाजन हुनु राम्रो होइन तर प्रतिनिधिसमाको निर्वाचन प्रक्रिया तोकिएकै तालिकामा अघि बढ्नुपर्छ’ उनले भने । इतिहासमा ठूलो भूमिका खेलेको कांग्रेसले समस्या समाधान गरी अघि जानुपर्ने उनको भनाइ छ ।
‘कांग्रेसको विभाजन वास्तवामा दुःखद हो । पार्टी फुट्नुपर्छ भन्ने पक्षमा छैन । विचार एक छ भने बाँकी कुरामा सहमति गर्नुपर्छ । समयको माग के हो ख्याल गर्नुपर्छ । कार्यकर्ताको मन ध्यान दिनुपर्छ । वार्ता र संवाद माध्यामबाट हल हुनुपर्थ्यो,’ उनले भने, ‘इतिहासका अनेकौं मोडमा कांग्रेस नेताहरुले महत्त्वपूर्ण भूमिका खेलेका छन् । २००७ सालदेखि हालसम्म इतिहासमा ठूलो भूमिका खेलेको कांग्रेसले अहिले पनि चुनौती सामना गरेर अघि बढ्नुपर्छ ।’ यो विभाजनले कांग्रेसलाई निकै नोक्सान पुर्याउने पनि बताए ।
एमाले उपाध्यक्ष गोकर्ण विष्टले कांग्रेस विभाजनले फेरि पनि राजनीतिक अस्थिरतालाई सहयोग पुग्ने बताए । ‘पार्टीको आन्तरिक लोकतन्त्रलाई सीमाभित्र रहेर बलियो बनाउनु उपयुक्त हुन्थ्यो,’ उनले भने, ‘यो विभाजनले देशको राजनीतिलाई प्रभाव पार्छ । निर्वाचनलाई मोहोललाई असहज बनाउँछ । पार्टी विभाजन हुनु भनेको लोकतन्त्रका लागि सुखद कुरा होइन ।’
उनले कांग्रेस विभाजनले निर्वाचन कार्यक्रमलाई समेतलाई प्रभाव पार्ने जोखिम रहेको बताए । ‘यसले निर्वाचन कार्यक्रमलाई प्रभावित गर्ने जोखिम रहन्छ,’ उनले भने, ‘लोकतन्त्रमा पार्टी विभाजन हुनु राम्रो मान्न सकिँदैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले लामो इतिहास भएको कांग्रेस विभाजनले दीर्घकालीन रुपमा लोकतन्त्रको संस्थागत विकास र तत्काल निर्वाचन परिणाममा फेरबदल ल्याउने बताए । लामो इतिहास भएको लोकतान्त्रिक दल विभाजन हुनु दूर्भाग्य भएको उनको भनाइ छ ।
‘प्रतिस्पर्धी दलहरु बलिया भए लोकतन्त्र बलियो हुन्छ,’ उनले भने, ‘कांग्रेस विभाजनले आगामी निर्वाचनमा आउने परिणामलाई फरक पार्ने भएकाले लोकतन्त्र संस्थागत गर्न क्षति पुर्याउँछ ।’ उनले कांग्रेस विवाद निर्वाचन आयोगमा पुगेर छिटो निर्क्यौल गर्नुपर्ने बताए ।
‘निर्वाचन आयोगको काम चुनाव गराउने र दलका विवाद निर्क्योल गर्ने हो,’ उनले भने, ‘निर्वाचन आयोगले यसबारे छिटो निर्णय दिनुपर्छ । दुबै पक्ष आयोग गए भने रातदिन काम गरेर सकेसम्म छिटो टुंग्याउनुपर्छ ।’
निर्वाचनको मुखमा कांग्रेसको विभाजनले नेपालको तरल राजनीतिलाई झन् असर गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
‘देशको पुरानो ठूलो दल कांग्रेस निर्वाचनको मुखमा विभाजन भएको छ । मुलुकको राजनीति गम्भीर तरल अवस्थामा भएकाले कुनै पनि अर्थमा यो विभाजन सुखद होइन,’ उनले थपे, ‘प्रजातान्त्रिक व्यवस्थामा दलहरुको विभाजन आफैंमा राम्रो होइन ।’ कांग्रेस विभानले चुनावी परिणामभन्दा मुलुकको राजनीतिक रुपमा बढी प्रभावित गर्ने बताए ।
