उनीहरु भन्छन्- ‘पार्टीमा निरन्तर योगदान दिने कार्यकर्ताको कदर भएको छैन, नातावाद र कृपावाद हाबी बढी छ । ’
What you should know
काठमाडौँ — भृकुटीमण्डप यतिबेला नेपाली कांग्रेसको विशेष महाधिवेशनको चहलपहलले तातेको छ ।
भाषण, नाराबाजी र झोलाले भरिएको त्यो भिडमा केही अनुहार भने अरूभन्दा फरक देखिन्छन् । संघर्ष, आशा र परिवर्तनको चाहना बोकेका महिला प्रतिनिधिको भिडमा मुगुकी नानी खत्री पिठ्युँमा दुई वर्षको छोरा बोकेर उभिएकी छन् ।
हातमा कांग्रेस महाधिवेशनको झोला, घाँटीमा प्रतिनिधिको परिचयपत्र । छोरो निद्रामा छ, नानी भने कहिले बच्चातिर नजर पुर्याउँछिन्, कहिले साथी कार्यकर्तासँग गफिन्छिन् ।
दुर्गम जिल्ला मुगुबाट बच्चा बोकेर काठमाडौं आइपुगेकी नानीको उद्देश्य स्पष्ट छ- कांग्रेसको नयाँ नेतृत्व छनोट गर्नु । करिब १० वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय उनी यसअघि पनि महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा खत्याड गाउँपालिकामा महिला सदस्य पदमा पराजित भएपछि झन् राजनीतिमा अघि बढ्ने आँट आएको उनी बताउँछिन् । ‘चुनाव हारेपछि मन खिन्न भयो, तर त्यसले झन् अगाडि बढ्न प्रेरणा दियो । दुर्गम जिल्लाका गरिब–दुःखीको प्रतिनिधित्व गर्न राजनीतिमा लागेको हुँ,’ उनले भनिन् ।
नानीको जीवन संघर्षले भरिएको छ । मुगुजस्तो दुर्गम जिल्लामा राम्रोसाग खान–लगाउनै मुस्किल छ । उनले भनिन्, ‘खाऊँ भने चारो छैन, लगाऊँ भने टालो छैन । बिहान खाए बेलुकाको के खाने भन्ने चिन्ता हुन्छ ।’
अब दुःख–पीडा बुझ्ने नेतृत्व चाहिएको छ उनलाई । चार सन्तानकी आमा नानीका श्रीमान् रोजगारीका लागि भारतमा भारी बोकिरहेका छन्। देशमै रोजगारी भएको भए विदेश जानुपर्थेन भन्ने पीडा उनीसँग छ । राजनीतिले अहिलेसम्म उनको दुःखमा मलमपट्टी लगाउन नसकेको स्वीकार्छिन् । त्यसैले यसपटक उनी पुरानाभन्दा नयाँ नेतृत्वप्रति आशावादी छिन् । ‘पुरानाले परिवर्तन गर्न सकेनन्, अब पुरानोलाई किन रोज्ने ? ’ उनले प्रश्न गरिन् ।
मुगुबाट दुई महिला प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्। नानीसँगै आएकी अर्की प्रतिनिधि हुन्— सूर्यदेवी मल्ल ।
छायानाथ रारा नगरपालिकाकी सूर्यदेवीको राजनीतिक यात्रा २०४८ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो । महिला संघ, जिल्ला तहका विभिन्न जिम्मेवारी हुँदै उनी भूमि आयोगकी सदस्यसमेत भइसकेकी छन् ।
मुगुबाट काठमाडौं आइपुग्न मात्रै करिब ५० हजार लाग्ने र त्यसलाई बेवास्ता गरेर उनी नेतृत्व छनोटमा सहभागी भएको बताइन् । उनले भनिन्, ‘पुस्ता हस्तान्तरणको कुरा बेवास्ता गर्न हुँदैन । नयाँ नेतृत्वलाई अघि बढाउन हामी खर्च गरेर यहाँ आइपुगेका छौं । ’
पुराना पुस्ताले काम नगरेका होइनन् भन्ने उनलाई लाग्दछ । तर नातावाद र कृपावाद बढेकामा उनको गुनासो छ । उनले भनिन्, ‘पार्टीमा निरन्तर योगदान दिने कार्यकर्ताको कदर भएको छैन, नातावाद र कृपावाद हाबी बढी छ । ’
सामाजिक बन्देज चुनौती तोडेर राजनीतिमा आएकी सूर्यदेवीले महिलाले राजनीतिमा भोग्नुपर्ने चुनौती नजिकबाट देखेकी छन् । नयाँ नेतृत्वले दुर्गम र पछाडि परेका क्षेत्रका महिलालाई समानुपातिक मात्र होइन, प्रत्यक्षमा पनि अवसर दिनुपर्ने उनको माग छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाकी माइली दनुवार पनि विशेष महाधिवेशन प्रतिनिधि हुन् ।
२०४९ सालदेखि निरन्तर राजनीतिमा सक्रिय उनी यसपटक समानुपातिक बन्दसूचीमा परे पनि सिफारिस हुन सकिनन् । अल्पसंख्यक र पिछडिएको वर्गबाट प्रतिनिधित्व गर्ने उनले अवसर नपाउँदा पार्टीमा आफ्नो पहुँच नपुगेको बताइन् । उनले भनिन्, ‘समानुपातिकमा पिछडिएको वर्गलाई अघि बढाउनुपर्ने हो तर जसले लबिङ गर्न सक्छ, त्यही मात्रै अगाडि बढ्ने अवस्था छ ।’
काठमाडौं क्षेत्र नं. ४ की प्रतिनिधि रीताकुमारी बुढाथोकी कांग्रेस इकाइ सदस्यदेखि क्षेत्रीय कार्यवाहक सभापति हुँदै महाधिवेशन प्रतिनिधि बनेकी हुन् ।
उनलाई पनि पुरानो नेतृत्वलाई सम्मान गर्दै अबको समयमा नयाँ नेतृत्व आउनुपर्ने भन्ने लागेको छ । उनका अनुसार १४औं महाधिवेशनमा महिला र युवाको उपस्थिति उत्साहजनक छ, तर नेतृत्व तहमा अझै महिलाको संख्या न्यून छ । उनले भनिन्, 'महिला समावेशीमा मात्र होइन, खुल्ला प्रतिस्पर्धामा पनि महिलाले अवसर पाउने वातावरण बनाउनु अबको नेतृत्वको जिम्मेवारी हो ।’
६६ वर्षीया कृष्णादेवी यादव सर्लाही क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्दै नातिनीको हात समातेर महाधिवेशनमा आइपुगेकी छन् ।
राजनीतिप्रति चासो राख्ने उनी युवा नेतृत्वको पक्षमा छन् । उनले भनिन्, ‘जो लड्न सक्छ, उठ्न सक्छ, जुध्न सक्छ, उसैले अब नेतृत्व सम्हाल्नुपर्छ,’ उनले भनिन् । उनको नजरमा पार्टी फुटाउने होइन, बचाउने नेतृत्व चाहिएको छ । पदमा पुग्नु मात्रै होइन, पदको सदुपयोग गर्न सक्ने नेतृत्व यो महाधिवेशनले चुन्नुपर्ने उनको भनाइ छ ।
