दुई वर्षे बच्चा बोकेर कांग्रेस नेतृत्व छान्न काठमाडौं आइपुगेकी मुगुकी नानी

खाउँ भने चारो छैन, लगाउँ भने टालो छैन । बिहान खाए बेलुकाको के खाने भन्ने चिन्ता हुन्छ।

पुस २९, २०८२

प्रकृति दाहाल

Mugu's daughter arrives in Kathmandu to elect Congress leadership with two-year-old child

What you should know

काठमाडौँ — भृकुटीमण्डपमा तेस्रो दिनदेखि कांग्रेस महाधिवेशन जारी छ। नेता, कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो भीड छ। चौरभरि भेला भएका कार्यकर्ताहरू कोही बदाम–सुन्तला खाइरहेका छन्, कोही मञ्चतिर टोलाइरहेका छन्। यही भीडभाडमा भेटिइन्—मुगुकी कांग्रेस प्रतिनिधि नानी खत्री

हातमा कांग्रेस महाधिवेशनको झोला, घाँटीमा महाधिवेशन प्रतिनिधिको परिचयपत्र र पिठ्युँमा पछ्यौराले कस्सिएको दुई वर्षे छोरा। नानी बेला–बेला पिठ्युँमा लोलाइरहेको छोरातिर हेर्छिन्, अनि बेला–बेला साथीभाइसँग राजनीतिक गफमा भुल्छिन्।

कर्णालीको मुगुबाट बच्चा बोकेर काठमाडौं आइपुगेकी नानी खत्रीको उद्देश्य एउटै छ—कांग्रेसको नयाँ नेतृत्व छनोट गर्नु। उनी करिब १० वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय छिन्। यसअघि पनि उनी नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि भइसकेकी छन्।

खाउँ भने चारो छैन, लगाउँ भने टालो छैन। बिहान खाए बेलुकाको के खाने भन्ने चिन्ता हुन्छ।२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी मुगु खत्याड गाउँपालिकामा महिला सदस्य पदकी उम्मेदवार बनेकी थिइन्। त्यतिबेला पराजित भए पनि उनले राजनीतिलाई निरन्तर अघि बढाइरहिन् । उनले सुनाइन्, ‘चुनाव हारेपछि मन खिन्न भयो, तर त्यसपछि झन् अगाडि बढ्न मन लाग्यो। दुर्गम जिल्लाका गरिब–दुःखीको प्रतिनिधित्व गर्दै राजनीतिमा लागेको हुँ।’ 

नानीले आफ्नो जीवन संघर्षले भरिएको र यही संघर्ष चिर्न राजनीतिलाई माध्यम बनाएको बताइन्। मुगुजस्तो दुर्गम जिल्लामा राम्रोसँग खान–लगाउन समेत मुस्किल पर्ने अवस्था रहेको उनको भनाइ छ। दुःख पोख्दै उनले भनिन्, ‘खाउँ भने चारो छैन, लगाउँ भने टालो छैन। बिहान खाए बेलुकाको के खाने भन्ने चिन्ता हुन्छ।’

उनले आफ्नो ठाउँमा गाडी चढ्नसमेत एक दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको बताइन्। यही यथार्थ र पीडा बदल्न आफू राजनीतिमा आएको भन्दै उनले राजनीतिले सही नेतृत्व छान्न सके यस्ता अवस्था सुध्रिन सक्ने आशा व्यक्त गरिन्।
उनले भनिन्, ‘अब हामीलाई दुःख–पीडा बुझ्ने नेतृत्व चाहिएको छ, जसले गर्दा हाम्रो जीवन अलि सहज होस्।’

नानीका चार सन्तान छन्। तीमध्ये एउटालाई बोकेरै उनी महाधिवेशनमा सहभागी हुन आएकी हुन्। उनका श्रीमान् रोजगारीका लागि भारतमा भारी बोक्ने काम गर्छन्। देशमै रोजगारी भएको भए श्रीमान् विदेश जानुपर्दैनथ्यो भन्ने उनलाई लाग्छ। राजनीतिक अवस्था ठीक नभएकै कारण आज पनि श्रीमान् भारत जान बाध्य भएको उनले बताइन्।

यसपटकको महाधिवेशनमा उनी पुरानाभन्दा नयाँ नेतृत्वप्रति आशावादी छिन्।
उनले भनिन्, ‘पुरानाले परिवर्तन गर्न सकेनन्, अब पुरानोलाई किन रोज्ने? मेरो रोजाइ र आशा नयाँ नेतृत्व हो।’

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully