विशेष महाधिवेशन नेतृत्व परिवर्तनसम्मै जान सक्छ : गुरुराज घिमिरे

घिमिरले नेतृत्व परिवर्तनबिनाको भेलाको औचित्य नहुने बताएका छन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Special general convention may lead to leadership change: Gururaj Ghimire

What you should know

काठमाडौँ — कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नेतृत्व परिवर्तनसम्मै जान सक्ने बताएका छन्।

कान्तिपुरसँगको विस्तृत कुराकानीमा उनले नेतृत्व परिवर्तनबिनाको भेलाको औचित्य नहुने पनि बताए।

उनले भने, ‘मैले बारम्बार भन्दै आएको छु—केन्द्रीय समितिले जिल्ला सभापतिहरूको भेला बोलाइदिन सक्छ, मिति तर्जुमा गर्न छलफल गर्न सकिन्छ। नीति बनाउन केन्द्रीय समिति आफैं पर्याप्त छ। तर नेतृत्व परिवर्तन गर्न महाधिवेशन नै चाहिन्छ, महासमितिले पनि सक्दैन। यो विशेष महाधिवेशन नेतृत्व परिवर्तनसहित नीतिगत विषय, विधान र संरचनागत फेरबदलमा छलफल गरी टुंगो लगाउन बोलाइएको हो।’

विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन बोलाइए पनि यो नियमित महाधिवेशनजस्तै भएको बताउँदै घिमिरेले नियमित महाधिवेशनले गर्ने सबै काम यसले गर्न सक्ने बताए। उनले स्पष्ट शब्दमा भने, ‘यसले नेतृत्व मात्र होइन, पूर्ण केन्द्रीय कार्यसमिति (सबै क्लस्टरमा) चयन गर्छ।’ उनले नेतृत्व चयन प्रक्रिया २९ पुससम्म जान सक्ने पनि जानकारी दिए।

घिमिरेले विशेष महाधिवेशनले केही विशेष निर्णयहरू गर्न सक्ने पनि बताए। लामो समय एउटै व्यक्ति नेतृत्वमा बस्न नपाउने व्यवस्था तथा दुई पटक शपथ खाएपछि तेस्रो पटक प्रधानमन्त्री हुन नपाउने व्यवस्था विशेष महाधिवेशनले गर्न सक्ने उनको भनाइ छ। उनले भने, ‘पार्टीभित्र एउटै व्यक्तिलाई पटक–पटक अवसर दिन हुँदैन भन्ने आवाज ठूलो छ। त्यसलाई हामी सम्बोधन गर्छौं।’

विशेष महाधिवेशनको विरोध गर्नेहरूप्रति पनि उनले कटाक्ष गरे। उनले भने, ‘३६ वर्षसम्म पार्टी र देश चलाउनेहरू, जो अहिले हाम्रो विशेष महाधिवेशनको सन्दर्भमा ठूलाठूला कुरा गर्दै छन्, उहाँहरूको धरातल मक्किसकेको छ। ठूलो कुरा गर्ने अधिकार छैन।’

सम्बन्धित समाचार

विशेष महाधिवेशन अराजनीतिक छ : विमलेन्द्र निधि [अन्तर्वार्ता]


कान्तिपुर

Link copied successfully