सिटौला निकट नेता पनि विशेष महाधिवेशनको पक्षमा, शिवाकोटीले गरे 'आजादी'को आह्वान

विशेष महाधिवेशन पक्षधरहरूका अनुसार झापाबाट करिब ७० प्रतिशत हाराहारी महाधिवेशन प्रतिनिधि सहभागी हुने लगभग निश्चित भइसकेको छ ।

पुस २६, २०८२

पर्वत पोर्तेल

Leaders close to Sitaula also in favor of special general convention, Shiwakoti calls for 'independence'

What you should know

विराटनगर — नेपाली कांग्रेसमा विशेष महाधिवेशनको बहस पेचिलो बनेका बेला त्यसको असर अब कृष्णप्रसाद सिटौला निकट समूहभित्रै देखिन थालेको छ ।

लामो समयदेखि संस्थापन धार मानिँदै आएका सिटौलानिकट झापाका नेताहरू धमाधम विशेष महाधिवेशनको पक्षमा उभिन थालेपछि कांग्रेसभित्रको शक्ति सन्तुलनमा नयाँ संकेत देखिएको हो । 

यही क्रमको सबैभन्दा महत्वपूर्ण राजनीतिक सन्देश सिटौलाकै गृहजिल्ला झापाबाट आएको छ ।

झापा कांग्रेसका पूर्वसभापति, संविधानसभा सदस्य तथा सिटौलाका विश्वासपात्र मानिने सुधीर शिवाकोटी खुलेर विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । उनको यो कदमलाई व्यक्तिगत निर्णय मात्र नभई सिटौला समूहभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ ।

विशेष महाधिवेशन पक्षधरहरूका अनुसार झापाबाट करिब ७० प्रतिशत हाराहारी महाधिवेशन प्रतिनिधि सहभागी हुने लगभग निश्चित भइसकेको छ । यदि यो दाबी यथार्थमा परिणत भयो भने झापा मात्र होइन, समग्र कोशी प्रदेशमै संस्थापन पक्षका लागि यो ठूलो झड्का हुन सक्छ ।

शिवाकोटी झापा कांग्रेसमा गहिरो संगठनात्मक जरा भएका नेता हुन् । सिटौला जिल्ला सभापति हुँदा सचिव रहेका उनी पछि दुई कार्यकालसम्म झापा कांग्रेसको सभापति बने । यही संगठनात्मक पृष्ठभूमिका कारण उनको आहृवानलाई सामान्य राजनीतिक अभिव्यक्ति भन्दा बढी कार्यकर्ता तहमा प्रभाव पार्ने संकेतका रूपमा लिइएको छ ।

सामाजिक सञ्जालमार्फत शनिबार विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै शिवाकोटीले पार्टी ‘सुकिला–मुकिलाको कब्जा’ मा परेको आरोप लगाएका छन् । उनले बीपी कोइरालाको विचारलाई उद्धृत गर्दै पार्टीलाई पुनः शुद्धीकरण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । ‘सक्ने साथीहरू काठमाडौं जाऔं, नसक्नेहरूले जिल्लामै बसेर सक्रिय समर्थन गरौं,’ उनको आह्वान छ ।

उनले लेखेका छन्, 'यो मक्काएको संस्थापन भनिएका नेताहरुबाट र यिनको दादागिरीबाट पार्टीलाई आजाद गर्ने अभियानमा लाग्न हार्दिक आह्वान गर्दछु ।'

Leaders close to Sitaula also in favor of special general convention, Shiwakoti calls for 'independence'

राजनीतिक रूपमा यो अभिव्यक्ति वैचारिक असहमति मात्र होइन । शिवाकोटीको पछिल्लो असन्तुष्टिको पृष्ठभूमि पनि उतिकै अर्थपूर्ण छ । यसपटक राष्ट्रिय सभामा उम्मेदवार बनाउने आश्वासन पाए पनि अन्तिम समयमा नाम काटिएपछि उनले सार्वजनिक रूपमा असन्तोष जनाएका थिए । यसले विशेष महाधिवेशनप्रतिको उनको समर्थनलाई व्यक्तिगत पीडा र संगठनात्मक असन्तोषको मिश्रणका रूपमा पनि व्याख्या गर्न सकिने ठाउँ दिन्छ । 

शिवाकोटी २०५६ देखि २०६४ सम्म दुई कार्यकाल झापा कांग्रेसको सभापति बनेका नेता हुन् । २०७० को संविधानसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित उनी २०४६ र २०६२–६३ का दुवै जनआन्दोलनमा झापामा आन्दोलनको अगुवाइ गर्ने नेताका रूपमा चिनिन्छन् । २०६२–६३ को जनआन्दोलनका क्रममा सेनाको हिरासतमा रही चरम यातना खपेको इतिहासले पनि उनको राजनीतिक पृष्ठभूमिलाई फरक बनाउँछ ।

विशेष महाधिवेशन पक्षधर एक नेताका अनुसार सिटौलानिकट नेता नै विशेष महाधिवेशनतर्फ आकर्षित हुनु कांग्रेसभित्रको विवाद अब व्यक्तिगत गुटभन्दा बाहिर निस्केर नेतृत्वप्रतिको असन्तोषमा रूपान्तरण भइरहेको संकेत हो ।

झापाबाट आएको यो सन्देशले विशेष महाधिवेशनको बहसलाई नयाँ मोड दिएको छ । अब प्रश्न उठेको छ, यो केही नेताको व्यक्तिगत निर्णय हो, कि सिटौला समूहभित्रै सुरु भएको पुनर्संरचनाको संकेत ? पुस २७–२८ को विशेष महाधिवेशन नजिकिँदै जाँदा झापाको भूमिकाले त्यसको उत्तर दिनेछ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully