भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको चहलपहल, जिल्लाबाट भित्रिँदै छन् प्रतिनिधिहरू

हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी काम पनि सँगसँगै धमाधम अगाडि बढेका छन्।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Congress special general convention in full swing at Bhrikutimandap, delegates are arriving from the district

What you should know

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड देखिन थालेको छ ।

देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा चहलपहल तीव्र बन्दै गएको हो। आइतबार र सोमबार आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। 

मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले स्थल क्षेत्र थप सक्रिय देखिएको छ।

महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै धमाधम अगाडि बढेका छन्। प्रतिनिधिहरू आउन थालेपछि स्वयंसेवकहरू परिचालन गरिँदै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले जानकारी दिए।

भृकुटीमण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर तथा प्रचार सामग्री राख्ने काम भइरहेको छ भने प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको प्रचारप्रसार समितिका सदस्य सचिव माधव चम्लागाईंले बताए ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ। त्यसैले प्रतिनिधिहरू मात्र होइन, शुभेच्छुक तथा समर्थकहरू पनि राजधानी आइरहेका छन्।

जनपरिचालन समितिका अनुसार उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको छ। यससँगै भृकुटीमण्डप क्षेत्र विशेष महाधिवेशन केन्द्रित राजनीतिक गतिविधिको मुख्य केन्द्रका रूपमा रूपान्तरण हुँदै गएको छ।

कान्तिपुर

Link copied successfully