समानुपातिक सूची बुझाउने तयारीमा कुलमान

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउने तयारीमा कुलमान घिसिङ लागेका हुन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Kulman in preparation to submit proportional list

काठमाडौँ — मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने तयारी गरेको छ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउने तयारीमा कुलमान घिसिङ लागेका हुन् ।

आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाउने तयारी भइरहेको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए ।

रास्वपा र शाहसँगको छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाउन लागिएको थापाले बताए । 

'रास्वपासँग छलफल चलिरहेको छ । तर समानुपातिक बन्दसूची उहाँहरूसँगै बसेर तयार पार्नका लागि समय भएन । संवादलाई निरन्तरता रहने गरी समानुपातिक बन्दसूची एक्लै बुझाउने तयारी गरेका छौं,' थापाले भने, 'बन्दसूचीका लागि आफ्नो तयारी गरिरहेका छौं । समानुपातिक सूची आयोगले तोकेको समयभित्र बुझाउने तयारीमा छौं ।'

आइतबार साँझ पनि रवि लामिछाने, बालेन्द्र शाह र मन्त्री घिसिङबीच छलफल भएको थियो । तर सहमति नभएपछि रास्वपासँगै बन्दसूची बुझाउने सम्भावना सकिएको हो । निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाउनका लागि पुस १३ र १४ गतेको समय तोकेको छ ।

कान्तिपुर

Link copied successfully