कुलमानसँग रास्वपाको वार्ता निष्कर्षविहीन, फेरि कुराकानी हुने

आइतबार पोखरा पुगेर कुलमानले आफ्नो सम्मानलाई नमेटाइ सहकार्य गर्न तयार रहेको बताएका थिए । काठमाडौं फर्किनासाथ उनीसँग वार्ता भएको हो ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

RSVP's talks with Kulman inconclusive, talks to resume

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउने प्रयासस्वरूप कुलमान घिसिङसँग भएको संवाद निष्कर्षविहीन बनेको छ । आइतबार बेलुकी अबेरसम्म भएको वार्ता टुंगोमा नपुगेपछि फेरि कुराकानी गर्ने सहमति भएको हो ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले घिसिङसँग कुराकानी गरेका हुन् । तर, मिलनविन्दु तत्काल ननिस्किएपछि नेताहरू उठेको रास्वपाका एक नेताले कान्तिपुरलाई बताए ।

'उहाँहरूबीच संवाद निरन्तर राख्ने कुराकानी भएको छ,' उनले थपे । 

शनिबार राति ७ घन्टासम्म भएको छलफलपछि बालेन्द्रले सरकार र रविले पार्टीको नेतृत्व गर्ने गरी समझदारी भएको थियो । मध्यराति छलफल चलिरहँदा कुलमानलाई समेत बोलाउन खोजिएको थियो । तर, उनले फोन उठाएका थिएनन् । 

आइतबार पोखरा पुगेर कुलमानले आफ्नो सम्मानलाई नमेटाइ सहकार्य गर्न तयार रहेको बताएका थिए । काठमाडौं फर्किनासाथ उनीसँग वार्ता भएको हो । 

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीका सदस्य र पदाधिकारीबाट पनि बालेन्द्र–रविसँग मिल्न दबाब छ। रास्वपा छाडेकी सुमना श्रेष्ठले कुलमानलाई एकतामा समेट्ने जिम्मेवारी रवि र बालेन्द्रकै भएको बताएकी थिइन् ।

कान्तिपुर

Link copied successfully