समानुपातिक उम्मेदवार छान्न अन्तिम गृहकार्यमा दल

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दुई दिन समय दिइएकामा आइतबार तीन दलले मात्र सूची पेस गरेका छन्।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Parties in final homework to select proportional representation candidates

What you should know

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्ने अन्तिम गृहकार्यमा राजनीतिक दलहरू लागेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउने समय आइतबार र सोमबारका लागि तोकेको भए पनि अधिकांश दलले दोस्रो दिन मात्र बुझाउँदै छन् । 

आयोगका अनुसार आइतबार तीन दलले मात्र बन्दसूची बुझाएका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाको बन्दसूची आयोगमा पेस भएको हो । अन्य दल बन्दसूची तयारीका लागि आन्तरिक छलफल गरिरहेका छन् । केही दल भने एकता प्रक्रियामै छन् । 

कांग्रेसले समानुपातिक उम्मेदवार छान्न भूगोल र जनसंख्याका आधारमा प्रदेशलाई कोटा निर्धारण गरेर छलफल गरिरहेको छ । केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार क्षेत्रीय समिति हुँदै सिफारिस गरिएका नामको संख्या करिब १८ सय छ । निर्वाचनमा भाग लिने दलले समानुपातिक प्रणालीतर्फ न्यूनतम ११ र अधिकतम ११० उम्मेदवारको सूची बुझाउनुपर्छ । सूचीमा कम्तीमा ५० प्रतिशत महिला हुनुपर्छ ।

कांग्रेसले समानुपातिकमा सबै जिल्लाको प्रतिनिधित्व गराउने तयारी गरेको छ । २०६४ सालयता समानुपातिकतर्फ अवसर पाएकालाई यस पटक नदोहोर्‍याउने मापदण्ड तय गरिएको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्था नेताहरूले दुरुपयोग गरेको आरोप लागेका कारण कांग्रेसले यस पटक समानुपातिकमा नदोहोर्‍याउने निर्णय गरेको हो । प्रदेशका सांसद, प्रदेशसभाको समानुपातिक सूचीमा नाम भएका उम्मेदवार र स्थानीय तहका पदाधिकारीलाई पनि कांग्रेसले उम्मेदवार नबनाउने भएको छ ।

कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रबाट समानुपातिक समावेशिताका आधारमा कम्तीमा एक महिलासहित तीन जनाको नाम पठाउन निर्देशन गरेको थियो । तर जिल्लाले आकांक्षी सबैको सूची केन्द्रमा पठाइदिएकाले छनोटमा कठिनाइ परिरहेको नेताहरूले बताएका छन् । पहिले समानुपातिकमा अवसर पाएकालाई नदोहोर्‍याउने मापदण्ड तय भएपछि आकांक्षीको संख्या केही घटेको छ । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार कार्यसम्पादन समितिमा रहेका सम्बन्धित प्रदेशका नेता र प्रदेश कार्यसमिति सभापतिले छलफल गरेर उम्मेदवारको नाम टुंग्याउनेछन् । 

एमाले केन्द्रीय सचिवालय बैठकले समानुपातिक उम्मेदवारको सूची टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । आइतबारको सचिवालय बैठकमा प्रस्तावित नाममा छलफल भए पनि अन्तिम निर्णय गर्ने जिम्मा ओलीलाई दिइएको सचिव राजन भट्टराईले जानकारी दिए । ‘अध्यक्षले ११० नाम प्रस्ताव प्रस्तुत गर्नुभयो । त्यसमा साथीहरूको राय आएको छ,’ उनले भने, ‘भोलि (सोमबार) अध्यक्षले टुंग्याएपछि निर्वाचन आयोगमा सूची बुझाउँछौं ।’

एमालेले गएको निर्वाचनमा समानुपातिक सूचीमा परिसकेका उम्मेदवार नदोहोर्‍याउने नीति लिएको छ । समानुपातिक सूचीमा सचिव पद्मा अर्याललाई महिला ‘क्लस्टर’ को एक नम्बरमा प्रस्ताव गरिएको छ । खस आर्यको एक नम्बरमा पूर्वउपाध्यक्ष गुरु बरालको नाम राखेको छ । नेताहरू शान्ता चौधरी, नीरु पाल, टुका हमाललगायतको नाम पनि सिफारिस गरेको छ । जेन–जी समूहबाट नीता घतानीको नाम पनि राखिएको छ । प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा एमालेले उम्मेदवार तय गर्न लागेको हो । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले पनि समानुपातिक उम्मेदवारको नाम टुंग्याउन गृहकार्य गरिरहेका छन् । तत्कालीन माओवादी, एकीकृत समाजवादीसहित १५ घटकका व्यक्ति समेटेर उनीहरूले समानुपातिक उम्मेदवारको सूची तयार पार्नेछन् । 

नेकपाका नेता वर्षमान पुनले एकताको भावना समेट्ने गरी उम्मेदवारको सूची तयार गरिने बताए । नेकपाले जेन–जी र महिला अनिवार्य सिफारिस गर्न मातहत समितिलाई निर्देशन दिएको थियो ।

जसपा नेपालका नेता मनीष सुमनले जनजाति, मधेश, दलित आन्दोलनबाट आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाइने जानकारी दिए । ‘पार्टी संसदीय बोर्डले सूचीलाई अन्तिम रूप दिएपछि निर्वाचन आयोगमा बुझाउँछौं,’ उनले भने । जनमत पार्टीका महासचिव चन्दन सिंहले हिमाल, पहाड, तराई–मधेश समेटेर युवा, पढेलेखेका व्यक्तिलाई समानुपातिकमा उम्मेदवार बनाइने जानकारी दिए । नागरिक उन्मुक्ति पार्टी नेपाललगायत दल पनि समानुपातिक उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छन् । 

राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत समेट्नुपर्नेछ ।  

कान्तिपुर संवाददाता

Link copied successfully