यसअघि ज्वागलस्थित सहयोगी कुमार बेनको घरलाई राजनीतिक वार्ताको केन्द्र बनाएका बालेनले सहमतिपत्रमा हस्ताक्षर गर्न भने नयाँ ठाउँ रोजेका हुन् ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आइतबार बिहान ७ बुँदे सहमति भयो । यो सहमतिअनुसार बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् भने पार्टीको नेतृत्व रवि लामिछानेले गर्नेछन्।
यो सहमति भने रास्वपाका नेता तथा पूर्वसांसद असिम शाह र आसिफ शाहको कार्यालय कमलपोखरीमा भएको हो । छलफलमा सहभागी रास्वपा र बालेनको तर्फका नेताहरूले शनिबार साँझदेखि आइतबार बिहान सवा ४ बजेसम्म निरन्तर छलफल गरी सहमतिको टुंगो लागेको हो । त्यसका लागि ठाउँ भने शाहको कार्यालय रोजिएको छलफलमा सहभागी दुवै तर्फका नेताहरूले जानकारी दिएका छन् ।
कमलपोखरीमा पूर्वसांसद असिम र उनका दाइ आसिफको चलचित्र निर्माण, गीतका भिडियो लगायतका कार्य गर्नका लागि लिइएको कार्यालय छ । रवि र बालेनले सोही कार्यालयलाई वार्तास्थल बनाएका थिए । शनिबार बिहानैदेखि बालेन मन्त्री कुलमान घिसिङसँग संवादमा थिए । बालेनसँग भेटेपछि घिसिङले उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बोलाएका थिए ।
त्यहाँ रवि र बालेनको तर्फबाट आएको आगामी राजनीतिमा कसरी जाने भन्ने प्रस्तावबारे छलफल भएको थियो । उज्यालो नेपालको केन्द्रीय समितिले रवि लामिछाने पार्टी सभापति र बालेन आगामी प्रधानमन्त्री हुने प्रस्ताव अस्वीकार गरेको थियो । केन्द्रीय समिति बैठकपछि पनि बालेनले घिसिङलाई बालुवाटारस्थित एक घरमा भेट गरेका थिए ।
त्यहाँ सहमति हुन नसकेपछि बालेन असिम शाहको कार्यालय पुगेका थिए । त्यहाँ लामिछानेसहितका नेताहरू सहभागी थिए । रवि र बालेनबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर हुँदा रास्वपाका दुवै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले उपस्थित थिए । त्यसका अलवा नेता असिम शाह पनि संलग्न थिए ।
बालेनका तर्फबाट भने कुमार बेन, भुपदेव शाह, सुदीप ढकाल, केपी खनाल, निश्चल बस्नेतलगायतको उपस्थिति थियो । रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित निवास रास्वपा सभापति लामिछाने र बालेनबीच गत सोमबार साँझ ७ बजेदेखि मंगलबार बिहान साढे १ बजेसम्म वार्ता चलेको थियो । त्यो दिन रवि र बालेन चढेको गाडीलाई रास्वपा उपसभापति डीपी अर्यालले चलाएका थिए ।
यसबीचमा रवि र बालेनबीच ललितपुरको ज्वालगस्थि बालेनका सहयोगी कुमार बेनको घरमा पनि छलफल भएको थियो । उक्त छलफल पछि वार्तका लागि नयाँ ठाउँ हुनुपर्ने विषय उठेको थियो । त्यसपछि बालेनसँग काम गरेका र रास्वपाबाट नेतासमेत रहेका असिम शाहको कार्यालयलाई वार्तास्थल बनाइएको हो ।
