सहमतिअनुसार रास्वपामा बालेन पक्षका व्यक्तिहरूलाई संलग्न गरेर त्यसकोविवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको हो ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीलाई अद्यावधिक गर्नेबारे रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ । सहमतिअनुसार रास्वपामा बालेन पक्षका व्यक्तिहरूलाई संलग्न गरेर त्यसकोविवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको हो ।
आइतबार बिहान भएको सहमतिपत्रको बुँदा नम्बर ६ मा भनिएको छ, 'यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।'
रास्वपाको पार्टी संरचनालाई थप सक्षम र फराकिलो बनाउनका लागि युवा अभियन्ता र अनुभवी विज्ञलाई ल्याउने सहमतिपत्रमा उल्लेख गरिएको छ । 'बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,' सहमतिपत्रमा उल्लेख छ ।
रास्वपाको नाम, झन्डा र चुनाव चिह्न भने साविककै हुने रवि र बालेनले गरेको सहमतिपत्रमा उल्लेख गरिएको छ । 'पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी', दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी' र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,' सहमतिपत्रमा उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान पनि गरिएको छ ।
