कुलमान, रवि र बालेनको अध्यक्ष मण्डल बनाएर एउटै चुनाव चिह्नमा जानुपर्छ : उज्यालो नेपालका नेता ढकाल

'जनताले कुलमान घिसिङजस्तो प्रमाणित नेतृत्व चाहियो भनेको छ । एउटै एजेन्डा हो भने प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेलाई दिएर कसरी एकता हुन्छ ?' 

पुस १२, २०८२

कान्तिपुर संवाददाता

We should form a presidium of Kulman, Ravi, and Balen and go with a single election symbol: Ujjaya Nepal leader Dhakal

What you should know

काठमाडौँ — उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दलहरूको सहअस्तित्व स्थापित हुने गरी सबै पक्षलाई एकतामा आउन आह्वान गरेको छ ।

तर, रास्वपा र काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पार्टी संस्थापक कुलमान घिसिङसमक्ष एकताका लागि राखेको प्रस्ताव भने अस्वीकार गरेको छ । 

उज्यालो नेपालको शनिबारको केन्द्रीय समिति बैठकले सबै पक्षको सहअस्तित्व स्थापित हुने प्रस्ताव नआएको भन्दै रास्वपा र बालेनबाट आएको प्रस्ताव अस्वीकार गरेको केन्द्रीय सदस्य शंकर ढकालले उज्यालो नेपाल हदैसम्म लचिलो हुँदा पनि अन्य पक्षबाट इमानदार प्रस्ताव नआएको बताए । 

'हामी एकताका लागि हदैसम्म लचिलो छौं । रास्वपा र बालेनबीचमा सहमति भएको भनिएको छ तर त्यो सहमति औपचारिक होइन भन्ने हाम्रो विश्वास छ । जे सार्वजनिक भएको छ यदि त्यस्तै हो भने त्यो सहमति इमानदारितामा टेकेको छ भन्ने पनि लाग्दैन,' केन्द्रीय समिति बैठकपछि ढकालले भने, 'एक जनाले कार्यकारी मागेको (बालेन प्रधानमन्त्री) र अर्कोले पार्टी नेतृत्व मागेको (रवि लामिछाने पार्टी सभापति) भनेको छ । अहिलेको अवस्थामा देशले मागेको भने प्रमाणित नेतृत्व हो, त्यो भनेको कुलमान घिसिङ हो । जनताले अहिले मागिरहेको तीनवटा शक्ति मिलुन् भन्ने हो । तीनवटा शक्ति सहअस्तित्वमा मिल्ने होला ।'

उज्यालो नेपाललाई ब्रान्ड बनाएर अगाडि बढाउनुपर्ने विषय केन्द्रीय समितिमा उठेको पनि केन्द्रीय सदस्य ढकालले बताए । तीन पार्टी मिल्दा सबैलाई समान हुने गरी नेतृत्व चयन गर्नुपर्ने र आगामी दिनमा प्राप्त हुने पदहरूमा जिम्मेवारी पछि नै तोक्नुपर्ने उनले बताए । 'अहिले तीन शक्ति छन् । उहाँहरूलाई अध्यक्ष मण्डल बनाइदिउँ र एउटै चुनाव चिह्नबाट निर्वाचनमा जाउँ भन्ने हाम्रो धारणा हो । जनताले कुलमान घिसिङजस्तो प्रमाणित नेतृत्व चाहियो भनेको छ, कतिले बालेनजस्तो युवा मागेको छ भने कतिले रवि लामिछानेजस्तो नेतृत्व मागेको छ । निर्वाचनपछि जो पनि प्रधानमन्त्री उम्मेदवार हुन सक्छ । एउटै एजेन्डा हो भने प्रधानमन्त्री र सभापति उहाँहरूलाई दिएर कसरी एकता हुन्छ ?,' ढकालले भने ।

रास्वपा र बालेनबाट उज्यालो नेपाललाई आएको प्रस्ताव मिलेर जाने खालको नभएको ढकालको भनाइ छ । तर पनि संवादबाट समाधान निकाल्न सकिने उनको भनाइ छ । अहिले पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्नेदेखि अन्य काम निरन्तर रुपमा अगाडि बढाउने पनि ढकालले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully