किन अड्किरहेको छ रास्वपा–बालेन वार्ता ?

शक्ति बाँडफाँडको विषयमा कुरा नमिलेकाले उनीहरुबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।

पुस १२, २०८२

कान्तिपुर संवाददाता

Why are the RSP-Balen talks stalled?

What you should know

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शनिबार हुने भनिएको वार्ता अनिश्चित बनेको छ ।

बालेन र रविलाई एक ठाउँमा ल्याउने गृहकार्य स्वरुप सहकार्यको मोडालिटी बनाउने जिम्मेवारी रास्वपाबाट शिशिर खनाल, असिम शाह र बालेनका तर्फबाट कुमार बेन र भूपदेव शाहलाई दिइएको थियो । तर, शक्ति बाँडफाँडको विषयमा कुरा नमिलेकाले वार्ता निष्कर्षमा पुगेको छैन ।

बालेनले रास्वपासँग उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसमेत समेटिने गरी सहमति गर्न खोजेका छन् । त्यसका लागि बालेन पक्षले ५० प्रतिशत हिस्सा खोजी रहेको छ । तर, रास्वपा सभापति लामिछाने त्यसका लागि तयार देखिएका छैनन् ।

बालेन नै पार्टीमा आउने सम्भावना बढेपछि लामिछाने कारागारमा छँदा पार्टीमा भित्र्याउने छलफल अघि बढाइएका कुलमानसँग रास्वपा नेताहरुले दूरी बढाएका थिए । अहिले रास्वपा पक्षले बालेनको टिम र जेन–जीलाई मात्र भित्र्याउने गरी प्रस्ताव गरेका थिए ।

तर, बालेनले आफूसहित कुलमानलाईसमेत ल्याउन चाहेका छन् । त्यसकै लागि शनिबार बिहान ८ बजे बालुवाटारस्थित एक घरमा पुगेर बालेनले घिसिङसँग भेट गरेका थिए । त्यसक्रममा बालेनले रास्वपाबाट आएको प्रस्तावबारेसमेत सुनाएका थिए ।

विगतमा बालेनले आफू घिसिङकै पक्षमा रहेको उनलाई आश्वसन दिँदै आएका थिए । त्यही आश्वासन पाएपछि घिसिङले १४ मंसिरमा बालेनसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘देश बनाउने अभियानमा हामीसँगै छौं’ लेखेका थिए । तर, बालेनको अहिले रास्वपासँग निरन्तर संवाद हुन थालेपछि उनले घिसिङसँग पनि छलफल गरिरहेका छन् ।

रास्वपासँग एकता नभए बालेन देश विकास पार्टीमार्फत राजनीति अघि बढाउने तयारीमा छन् । त्यसका लागि लतिलपुरमा उनले पार्टी कार्यालयसमेत तयार गरिसकेका छन् । यो पार्टीको चुनाव चिह्न लौरो छ भने अहिले अध्यक्षमा सन्ध्या खनाल छिन् । पार्टी एकता नभए वेग्लै किसिमले अघि बढ्ने गरी समानुपातिक सूची पनि तयार गरिसकेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully