रवि-बालेन पक्षबीच आज हुनेछ निर्णायक वार्ता, दोस्रो तहका नेता छलफलमा

पार्टीमा वरीयता, टिकट बाँडफाँट, समानुपातिक सूची, चुनावपछि प्रधानमन्त्री को बन्ने लगायतका विषयमा समेत आजै निर्क्यौल गरिने दुवै पक्ष निकट स्रोतको भनाइ छ ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Decisive talks between Ravi-Balen factions to take place today, second-tier leaders in discussions

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच आज निर्णायक वार्ता हुने भएको छ ।

दुवै पक्षका नेताहरुले सहमतिका लागि खाका तयार पार्ने काम गरिरहेका छन् । त्यसमा टुंगो लागेपछि शुक्रबार दिउँसो नै टुंगो लगाउने तयारी गरिएको रास्वपाका एक नेताले कान्तिपुरलाई बताए ।

‘अहिलेसम्म वार्ता सहमति उन्मुख छ, हाम्रो पार्टीले बनाएको वार्ता समितिले केके कुरामा समझदारी हुन्छ भन्ने बुँदाहरू तयार गरिरहेको छ,’ ती नेताले भने, ‘त्यसपछि मेयरको तर्फबाट कुमार बेन, असिम शाहसहितका साथीसँग कुरा गरेर टुंगोमा पुग्ने तयारी छ ।’

सहमति हुने स्थितिमा रवि र बालेनबीच समेत कुराकानी हुने ती नेताले बताए । बालेनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसमेत आफ्नो पक्षमा रहेको भन्दै एकमुष्ठ सहमति गर्न खोजेका छन् । नेताहरुका अनुसार अहिले हुन लागेको समझदारीमा चुनावपछि प्रधानमन्त्री को बन्ने, पार्टी वरीयता, टिकट बाँडफाँट, समानुपातिक सूची लगायतका विषयमा समेत निर्क्यौल गरिनेछ । ‘रवि र बालेन बस्नुअघि दोस्रो तहका नेताहरुले सबै विषयको टुंगो लगाउनेछन्,’ बालेननिकट स्रोतले भन्यो ।

रास्वपा सभापति लामिछानेले सोमबार बेलुकी ७ बजेदेखि राति १ बजेसम्म बालेनसँग सहकार्यबारे छलफल गरेका थिए । बालेनलाई प्रधानमन्त्री बनाएर जान सकिनेबारे रास्वपा नेताहरुले प्रस्ताव गरेपछि लामिछानेबाट स्पष्ट प्रस्ताव आएको थिएन । पछि चितवन पुगेर लामिछानेले छलफल त्यसचरणमा पुगिनसकेको भन्दै खण्डन गरेका थिए ।

त्यसपछि बालेनले आफ्नो नेतृत्वमा लौरो चुनाव चिह्न भएको देश विकास पार्टीलाई अघि बढाउने गरी छलफल थालेका थिए । मेयरमा उम्मेदवारी दिनुअघिबाटै साथ दिँदै आएका साथी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा बालेनले बुधबार अपराहृनदेखि बिहीबार अबेरसम्मै राजनीतिक भेटघाट गरेका थिए । उनले बुधबार चिकित्सक भगवान कोइराला, कांग्रेस नेता चन्द्र भण्डारी, सुनिल शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीदेखि राप्रपा नेता ज्ञानेन्द्र शाहीसम्मलाई भेटेका थिए ।

बालेनले पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे, विवेकशीलबाट बागमती प्रदेशसभामा निर्वाचित पूर्वसांसद रमेश पौड्याल, रास्वपासँग एकीकरणमा नगएका विवेकशीलको युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अभियन्ता सागर ढकाल, सञ्चार उद्यमी सम्भव सिरोहिया, व्यवसायी सचिन ढकाल, जेन–जी अभियन्ताद्वय रक्षा बम तथा केपी खनाल, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलालगायतसँग बेग्लाबेग्लै भेट गरेका थिए ।

ती भेटघाटका क्रममा उनले नयाँ पार्टीमार्फत अघि बढ्न खोजेको भन्दै सुझाव मागेका थिए । त्यही क्रममा उनले समानुपातिकका लागि सूची बनाइरहेको समेत सुनाएका थिए ।

बालेनले राजनीतिक गृहकार्य थालेपछि बिहीबार रविले ज्वागलमा पुगेर उनीसँग पुनः भेट गरेका थिए । त्यसपछि दुवैतर्फका दोस्रो वरीयताका नेताहरु बालेन र रविलाई एक ठाउँमा ल्याउन छलफलका लागि जुटेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully