रवि र बालेनबीच ६ घण्टा छलफल, के भयो सहमति ?

रास्वपा नेता असिम शाह भन्छन्- 'हामी एकअर्कासँग मिलेर राजनीतिक यात्रा तय गर्छौं भन्ने विषयमा छलफल भयो । वैकल्पिक शक्तिलाई नेपाली राजनीतिको मूलधार बनाउनुपर्छ भन्ने एजेन्डा अगाडि बढेको छ ।'

पुस ८, २०८२

जयसिंह महरा

Ravi and Balen discussed for 6 hours, what was the agreement?

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच आगामी निर्वाचनमा मिलेर जानेबारे छलफल भएको छ ।

रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित निवासमा सोमबार साँझ ७ बजेदेखि सुरु भएको छलफल मंगलबार बिहान साढे १ बजेसम्म चलेको थियो । 

छलफलका क्रममा आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा एक भएर कसरी जाने भन्ने विषय प्रमुख थियो । छलफलमा रवि, बालेन, रास्वपा उपसभापति डीपी अर्याल, असिम शाह, आसिफ शाह, कुमार बेन, निश्चल बस्नेतलगायतको सहभागिता थियो । 

रास्वपा नेता शाहका अनुसार दुवैबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो । मुलुकको वर्तमान अवस्थालाई परिवर्तन गर्नका निम्ति र राजनीतिक समस्याको निकास दिने सम्बन्धमा केन्द्रित कुराकानी भएको थियो । 'हामी दाजुभाइ भयौं, छौं । एकअर्कासँग मिलेर राजनीतिक यात्रा तय गर्छौं, मिलेर जान्छौं । देशको अवस्था बुझेका छौं । वैकल्पिक शक्तिलाई नेपाली राजनीतिको मूलधार बनाउनुपर्छ भन्ने एजेन्डा अगाडि बढेको छ,' रास्वपा नेता शाहले भने । 

भेटमा विभिन्न राजनीतिक विषयमा रवि र बालेनबीच एक्ला-एक्लै र सामूहिक छलफल भएको थियो । 'अब एक ठाउँमा आएर देशको लागि निकास खोज्नुपर्छ भन्नेबारे छलफल भयो । त्यो बैठक आइसब्रेक हो । दुईजना मिलेर जाने भन्ने कुरामा सैद्धान्तिक सहमति भयो । बाँकी कुरा गौण हो भन्ने कुरा भयो,' भेटबारे शाहले भने । 

Ravi and Balen discussed for 6 hours, what was the agreement?

रवि र बालेनबीच यसअघि यसरी लामो समय राजनीतिक संवाद गर्नेगरी भेट नभएको शाहले बताए । यसअघि लामिछाने गृहमन्त्री भएको बेला भने शाह गृह मन्त्रालय पुगेका थिए । आगामी दिनमा राजनीतिक संवाद अगाडि बढाउने समझदारी भएको शाहको भनाइ छ ।

रास्वपाले बनाएको उच्चस्तरीय संवाद समितिमा समेत रहेका नेता शिशिर खनालले लामिछाने र मेयर शाहबीच निरन्तर संवाद हुने बताएका छन् ।

‘सबै जनाको अपेक्षा वैकल्पिक शक्ति एक ठाउँमा हुनुपर्छ भन्ने छ, त्यही अपेक्षाअनुरूप सभापति लामिछानेले हदसम्मको लचकता अपनाउने बताइसक्नुभएको छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यही अन्तर्गत प्रारम्भिक छलफल भएको हो, यो निरन्तर चल्छ ।’

रवि-बालेन एकता

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully