रवि र बालेनको सहमतिलाई लिएर के भन्छन् जेन–जी घाइते ?

प्रकाशलाई भागबण्डाको कुरा बाहिर आएको भने मन परेको छैन। उनले भने, ‘यो कुरा आन्तरिक रूपमा मिलाएर लैजानुपर्ने थियो। को प्रधानमन्त्री बन्ने भन्ने विषय यसरी बाहिर आउँदा राम्रो सन्देश जाँदैन।’

पुस १३, २०८२

समर्पण श्री

What does Jane-Gi say about Ravi and Balen's agreement?

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएपछि जेन–जी घाइतेहरू आशावादी देखिएका छन्।

ट्रमा अस्पतालमा उपचाररत जेन–जी घाइते प्रकाश बोहोराले बालेन र रविको सहमतिबाट आफूहरू आशावादी बनेको बताए। उनले भने, ‘हामीले पहिलेदेखि नै चाहेको कुरा यही हो। दुवै जना हामीले आशा गरेको पात्र हुन्। दुवै एक ठाउँ उभिँदा खुसी लागेको छ।’

बानेश्वरमा फलामे बार तान्दै गर्दा  देब्रे खुट्टामा गोली लागी घाइते भएपछि प्रकाश रगताम्य जुत्ता छोडेर अस्पताल हिडेका थिए । उनले रगताम्य जुत्ता जेन–जी विद्रोहको आइकन मानिन्छ ।  

यिनै प्रकाशले जेन–जी विद्रोहको तीन महिना बितिसक्दा पनि राजनीतिक र संस्थागत सुधार नभएको र पुरानै दलका केपी ओलीदेखि शेरबहादुर देउवा नै शक्तिशाली हुने हुन् कि भन्ने चिन्ता रहेको बताए।

प्रकाशले आइतबार बिहानै बालेन र रास्वपाबीच सहमति भएको खबर सुन्दा अब देशमा वैकल्पिक शक्तिहरू उदाउने र पुरानाहरूलाई पछि पार्ने सम्भावना बढेको महसुस भएको बताए। उनले कुलमान घिसिङलाई पनि समेटेर जानुपर्ने धारणा राख्दै भने, ‘कुलमान पनि सँगै रहे भने अझ राम्रो हुन्थ्यो।’

दुई शक्तिबीचको सहमतिबाट उत्साहित देखिएका प्रकाशलाई भागबण्डाको कुरा बाहिर आएको भने मन परेको छैन । उनले भने, ‘यो कुरा आन्तरिक रूपमा मिलाएर लैजानुपर्ने थियो। को प्रधानमन्त्री बन्ने भन्ने विषय यसरी बाहिर आउँदा राम्रो सन्देश जाँदैन।’

जेन–जी आन्दोलनका अर्का घाइते सान्तनु ढकालले पनि यो समाचारले आफूलाई खुसी बनाएको बताए। उनले भने, ‘बालेन हामीले पहिलेदेखि नै आशा र समर्थन जनाएको पात्र हुन्। अब हामी रवि र बालेन दुवैलाई आशा गर्न सक्छौँ।’

उनको भनाइमा दुवैले जेन–जी आन्दोलन र जेन–जी घाइतेहरूको मुद्दा र मर्मलाई सँगै समेटेर अघि बढ्नुपर्छ। उनले थपे, ‘हामीले लडेको पनि नयाँ अनुहारकै लागि हो। पुरानाहरूप्रति भरोसा नभएकै कारण हो। अब हाम्रो माग, मुद्दा र हामीलाई पनि समेटेर उहाँहरू अघि बढ्नुपर्छ।’

जेन–जी घाइते लिजा अधिकारीले पनि रवि र बालेनको एकतालाई लिएर खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘म त यो कुरामा एकदमै खुसी छु। अब उहाँहरूसँगै अझ नयाँ अनुहारहरू पनि आउनेछन् भन्नेमा विश्वस्त छु।’

जेन-जी आन्दोलनका घाइतेबारे विस्तृतमा पढनका लागि

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully