बालेनले मधेशकेन्द्रित राजनीति गरिरहेको जनमतका प्रमुख राउतसँग भेटवार्ता गरी वैकल्पिक राजनीतिक शक्तिहरु मिलेर यात्रा गर्ने प्रस्ताव गरे ।
काठमाडौँ — श्रृंखलाबद्ध राजनीतिक भेटघाट गरिरहेका काठामाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पार्टी एकताको प्रस्ताव गरेका छन् ।
बालेनले मधेशकेन्द्रित राजनीति गरिरहेको जनमतका प्रमुख राउतसँग भेटवार्ता गरी वैकल्पिक राजनीतिक शक्तिहरु मिलेर यात्रा गर्ने प्रस्ताव गरे ।
‘बालेनजीको एउटै पार्टी बनाएर जाऔं भन्ने प्रस्ताव थियो,’ राउतले भने, ‘हामी यसबारेमा विचार गर्छौं ।’
बालेनले लौरो चुनाव चिह्न भएको ‘देश विकास पार्टी’बाट राष्ट्रिय राजनीतिमा आउने तयारी गरेको बताएका थिए । अरु क्षेत्रभन्दा मधेशको राजनीति अलि फरक भएकाले सरकार बनाउने मात्र विषय नभएको राउतको भनाइ थियो । ‘मधेशको राजनीति अरुभन्दा फरक छ,’ उनले भने, ‘यो प्रधानमन्त्री बनाउने मात्र कुरा होइन । अरु धेरे सवालहरु छन् ।’
मधेशकेन्द्रित पुराना राजनीतिक दलको विकल्पमा गत आम निर्वाचनमा जनमत उदाएको थियो । गत आम निर्वाचनमा प्रतिनिधिसभामा ६ सिट जितेको थियो भने १०७ सिट भएको मधेश प्रदेशसभामा १३ सिट जितेको थियो ।
बालेन र सीकेबीच बुधबार आधा घण्टा भेटवार्ता भएको थियो ।
