'चुनावका बेला पक्षधरको विषय देखिनु स्वाभाविक हो, अब हामी सबै मिलेर पार्टी निर्माण गर्छौ ।’
काठमाडौँ — एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले निर्वाचनका क्रममा देखिएको पक्षधरता अब कायम नहुने बताएका छन् ।
महासचिवमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टी निर्माणमा जुट्ने बताए । ‘चुनावका बेला पक्षधरको विषय देखिनु स्वाभाविक हो,’ पोखरेलले भने, ‘तर चुनावपछि त्यस्तो हुँदैन । अब हामी सबै मिलेर पार्टी निर्माण गर्छौँ ।’
उनले पार्टीभित्र भएको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्दै यसले संगठनलाई थप सुदृढ बनाउने बताए । महाधिवेशनबाट निर्वाचित केपी ओलीको नयाँ नेतृत्वले मुलुकका समसामयिक चुनौती सामना गर्दै एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउने दिशामा काम गर्ने पोखरेलको भनाइ छ ।
महासचिव पोखरेल अध्यक्ष केपी शर्मा ओली प्यानलबाट प्रतिस्पर्धामा थिए । उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए । पाण्डे भने ईश्वर पोखरेल प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।
