पद्माकुमारी अर्याल : १९ पदाधिकारीमा एक्ली महिला

९ सचिवमध्ये ओली प्यानलबाट उम्मेदवार बनेकी पद्माकुमारी अर्यालले १५ सय ३० मत ल्याएर विजयी भएकी छिन्।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Padmakumari Aryal: The only woman among 19 office bearers

काठमाडौँ — एमालेको ११औं महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये १ जना मात्रै महिला अटाएका छन् । ९ सचिवमध्ये ओली प्यानलबाट उम्मेदवार बनेकी पद्माकुमारी अर्यालले १५ सय ३० मत ल्याएर विजयी भएकी छिन्।

अर्याल यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी थिइन्। २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनीतिमा सक्रिय भएकी पद्ममा २०३९ मा अनेरास्ववियु पाँचौँमा संगठित भएकी थिइन्।

२०६९ सालमा एमालेको स्याङ्जा जिल्ला अध्यक्ष भएकी उनी २०७४ मा स्याङ्जा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। ०६४ को पहिलो संविधानसभामा समानुपातिक प्रणालीबाट निर्वाचित भएका बेला भने उनी प्राकृतिक स्रोत तथा राजस्व बाँडफाँड समिति सदस्य थिइन्।

१९ पदाधिकारीको प्रतिस्पर्धामा पद्माकुमारी बाहेक सचिव पदमै रचना खड्का र उपाध्यक्ष पदमा बिन्दा पाण्डे पनि प्रतिस्पर्धामा थिइन्। रचनाले ८ सय ७७ मत र पाण्डेले ९ सय २१ मत ल्याएर पराजित भइन्।

कान्तिपुर

Link copied successfully