ओलीले टिममा राखेनन्, रघुजीले स्वतन्त्र उम्मेदवारी दिएर उपाध्यक्षमा जिते

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पन्त १ हजार २ सय ५८ मतसहित विजयी

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Oli did not keep him in the team, Raghuji won the vice-chairmanship by running as an independent candidate.

What you should know

काठमाडौँ — एमाले संस्थापन पक्षबाट उपाध्यक्ष पदमा प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघु पन्त विजयी भएका छन् ।  एमाले उपाध्यक्षमा केपी शर्मा ओली प्यानलका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र उम्मेदवार एक उपाध्यक्षमा विजयी भएका छन् । 

यसपटक ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् । पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गरे । त्यस्तै पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत(१७३७) प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी भएका छन् ।  यद्यपि अन्तिम समयमा पन्तलाई ओली समूहले आफ्नो प्यानलमा राखेको थियो । 

पन्तले आफूलाई ईश्वर पोखरेल र ओली समूह दुवैतर्फका प्रतिनिधिहरूको समर्थन रहेको दाबी गरेका थिए । पन्त यसअघि १०औं महाधिवेशनमा स्थायी कमिटी सदस्यमा निर्वाचित भएका थिए । त्यसो त उनी पछिल्लो समय ओलीनिकट नै देखिन्थे । विद्या भट्टराईले राजीनमा दिएपछि ओलीले पन्तलाई नै शिक्षामन्त्री बनाएका थिए ।

एमालेभित्रको संघर्षमा उनी लामो समय तत्कालीन महासचिव माधवकुमार नेपालनिकट थिए । उनलाई नेपालले प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारसमेत बनाएका थिए । एमाले-माओवादी एकता भई नेकपा बनेपछि उनी पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहमै थिए । तर सर्वोच्च अदालतको आदेशले दुई पार्टी यथावत रूपमै फर्किएपछि भने उनी ओलीतिरकै लागेका थिए ।

उनी २०६१ सालमै श्रममन्त्री बनेका थिए । कुनै समय दृष्टि, बुधबार, छलफल साप्ताहिकलगायतका पत्रिकामा सम्पादनअनुभवसमेत बटुलेका पन्त २०५२ मा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकारसमेत बनेका थिए ।

कान्तिपुर

Link copied successfully