ईश्वर पोखरेल प्यानलबाट सचिवमा उठेका गोकुल बास्कोटा पराजित

सचिवमा निर्वाचित हुनेहरूमध्ये महेश बस्नेतले सबैभन्दा बढी १ हजार ५ सय ४४ मत प्राप्त गरे ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Gokul Baskota, who rose to the position of secretary from the Ishwor Pokharel panel, was defeated.

काठमाडौँ — पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा एमाले सचिवमा पराजित भएका छन् । यसअघि स्थायी कमिटी सदस्य रहेका बास्कोटा झिनो मतान्तरले सचिवमा पराजित भएका हुन् । 

११औं महाधिवेशनमा एमालेमा ९ जना सचिव चुनिएका छन् । बास्कोटा १ हजार ३० मतसहित दसौं स्थानमा रहे । उनीअगाडि रहेका पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालले १ हजार १ सय ८ मत प्राप्त गरे ।

सचिवमा ९ जनै ओली प्यानलका उम्मदेवार विजयी भएका हुन् । सचिवमा निर्वाचित हुनेहरूमध्ये महेश बस्नेतले सबैभन्दा बढी १ हजार ५ सय ४४ मत प्राप्त गरे । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्याल (१५३०) छिन् ।

छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले (११८१) मत ल्याई सचिवमा निर्वाचित भएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत ल्याएका भने अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरे ।

यस पटक एमाले नेतृत्व चयनका लागि २ हजार २ सय २७ मत खसेको थियो । एमाले ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि अनुपस्थित भए । 

कान्तिपुर

Link copied successfully