उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त विजयी
काठमाडौँ — एमाले उपाध्यक्षमा केपी शर्मा ओली प्यानलका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र उम्मेदवार एक उपाध्यक्षमा विजयी भएका छन् ।
यसपटक ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् । पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गरे । त्यस्तै पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत(१७३७) प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन् ।
त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी भएका छन् ।
