एमाले परिणामको राजनीतिक सन्देश

पार्टीभित्र लोकतन्त्र र विधि बसाल्ने भन्दै छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएको ईश्वर पोखरेल टिमले राजनीतिक रुपमा भने विजय हासिल गरेको छ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Political message of UML results

What you should know

काठमाडौँ — नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन् ।

ओली प्यानलबाटै महासचिवमा शंकर पोखरेलले दोस्रो कार्यकालका जित हासिल गरेका छन् । १९ पदाधिकारीमध्ये १७ जना ओली प्यानलका छन् ।

ओली टिमको वर्चस्व भए पनि राजनीतिक हिसाबले यसको दीर्घकालीन सन्देश दिएको छ । पार्टीभित्र लोकतन्त्र र विधि बसाल्ने भन्दै छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका ईश्वर पोखरेल टिमले राजनीतिक रुपमा भने विजय हासिल गरेको छ ।

पोखरेल पक्षको प्यानल घोषणा भएपछि संस्थापन पक्षले आफ्नो पक्षका उम्मेदवार जिताउन निकै कसरत गर्नुपरेको थियो । पोखरेल पक्षका पदाधिकारीका उम्मेदवारले पनि उल्लेखनीय भोट ल्याएकाले यो आगामी दिनमा एमालेभित्रको शक्ति सन्तुलनका हिसाबले पनि महत्त्वपूर्ण मानिनेछ ।

एमालेभित्र ओलीको विजयलाई स्वाभाविक रुपमा लिइए पनि पोखरेल पक्षका दुई पदाधिकारीको 'इन्ट्री'ले भोलि एमालेमा कस्तो भूमिका निर्वाह गर्छ त्यो हेर्न बाँकी छ ।

२०७८ चितवनमा भएको महाधिवेशनमा छुट्टै प्यानल थिएन । त्यसैले ओलीले उम्मेदवार भएका नेताहरूमाथि विभिन्न ढंगले राजनीतिक दमन सुरु गरेका थिए । तर यसपटकको नेतृत्व चयनको निर्वाचनले पोखरेल पक्षको राजनीतिक धार स्थापित गरेको छ । 

पदाधिकारी र केन्द्रीय कमिटीमा ओलीको बहुमत भए पनि अबको १२औं महाधिवेशनसम्म आफ्नो पक्षका नेताहरूलाई सन्तुलनमा राख्न भने चुनौतीपूर्ण हुनेछ । किनकि पोखरेल पक्षका नेताहरुले पार्टीमा आन्तरिक लोकतन्त्र, विधिको शासन र जेन-जी आन्दोलनपछि नेतृत्व हस्तान्तरणका विषयमा बहस उठाइरहनेछन् ।

कान्तिपुर

Link copied successfully