एमालेको १९ पदाधिकारीमा ओली प्यानल हाबी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

केपी शर्मा ओली तेस्रोपटक एमाले अध्यक्षमा निर्वाचित भएका छन् भने पदाधिकारीको अधिकांश पदमा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Oli panel dominates among 19 UML office bearers, only two from Pokharel's side elected

What you should know

काठमाडौँ — एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । पदाधिकारीमा पनि ओली पक्ष हाबी भएको छ ।

अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल प्यानलबाट दुई जना गोकर्ण विष्ट (उापध्यक्ष) र योगेश भट्टराई (उपमहासचिव) मात्रै विजयी भए । 

उपाध्यक्षमा ओली प्यानलका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र एक उपाध्यक्षमा विजयी भएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् । पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गरे । त्यस्तै पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत (१७३७) प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी भएका छन् ।

महासचिवमा ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिव थिए । उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।

उपमहासचिवमा ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल प्यानलका योगेश भट्टराई विजयी भएका छन् ।भट्टले १४५२, महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत ल्याए । 

९ सचिवमा भने सबै ओली प्यानल नै निर्वाचित भयो । जसमा सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् ।

बस्नेतले १५४४ मत पाए । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्याल (१५३०) छिन् । छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले (११८१) मत ल्याई सचिवमा निर्वाचित भएका छन् । भानुभक्त ढकाल पनि ११०८ मतसहित सचिवमा निर्वाचित भए ।

कान्तिपुर

Link copied successfully