एमाले महाधिवेशन : विद्युतीय मतदानको तयारी पूरा

एक मतदातालाई मतदान गर्न २५ देखि ३० मिनेट लाग्नेछ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् ।

पुस २, २०८२

विवेक पोख्रेल

UML General Convention: Preparations for electronic voting complete

काठमाडौँ — एमालेको ११ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि डेटा इन्ट्रीको काम सकिएको छ ।

 तर निर्वाचन आयोगले हिजो तयारी गरिएको हलसमेत परिवर्तन गरेर भृकुटीमण्डपको अर्को हलमा मतदानको तयारी गरिँदैछ । मेसिनमा प्राविधिक समस्या आएको भन्दै मंगलबार राति निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो । 

एमालेले प्रयोग गर्न लागेको विद्युतीय मतदान मेसिन कम्पनी राम–लक्ष्मण इनोभेसनका लक्ष्मण प्रसाद रिमालका अनुसार फाइनल भनिएको नामावली पुन: परिर्वन भएपछि डाटा प्रोसेसिङ र इन्ट्री पुन: गर्नुपरेपछि समय लागेको हो । 

‘हामीले निर्वाचन आयोगले दिएको नाामावली रेडी गरेका थियौं । पुनः त्यो परिर्वन भएपछि समस्या भएको हो,’ रिमालले भने, ‘हिजो राखिएको हल पहिल्यै बुक रहेछ । आज नजिकैको अर्को हलमा मतदान मेसिन जडान सुरु गरिएको छ । हाम्रो तर्फबाट कुनै पनि समस्या अब छैन ।’ 

मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ ।  उनका अनुसार एक मतदातालाई मतदान गर्न २५ देखि ३० मिनेट लाग्नेछ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । आयोगका अनुसार प्राविधिक समस्या नआए मतदान सकिन करिब १० घण्टा लाग्नेछ । मतदान सकिएको तीन घण्टामा परिणाम दिन सकिने आयोगको भनाइ छ । यस्तै मतदानका लागि प्रतिनिधिहरु लाइनमा लागेका छन् । हिजो राति लाइन बसे पनि अन्तिममा आएर मतदान स्थगित गरिएको थियो । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully