एमाले महाधिवेशन लम्बियो, नेतृत्व छान्न आज मतदान

प्रतिनिधि लाइन लागिसकेपछि विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै मंगलबार राति मतदान स्थगित भएको थियो। बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ ।

पुस २, २०८२

गंगा बीसी, जयसिंह महरा

UML general convention postponed, voting to elect leadership today

What you should know

काठमाडौँ — एमालेमा एघारौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार बिहान ८ बजे मतदान सुरु हुने भएको छ । मतदानका लागि प्रतिनिधिहरू लाइन लागिसकेको अवस्थामा विद्युतीय मतदान मेसिनमा प्राविधिक समस्या आएको भन्दै मंगलबार राति निर्वाचन प्रक्रिया स्थगन गरिएको छ ।

मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता सोमबार नै सकिएकाले मंगलबार दिउँसो मतदान सुरु गर्ने तालिका सार्वजनिक गरिएको थियो । तर विद्युतीय मेसिनमा उम्मेदवारको नाम चढाउन ढिला भएपछि राति ८ बजे मतदान सुरु गर्ने भनिएको थियो । मतदानका लागि अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलसमेत लाइनमा थिए । तर सवा ८ बजेतिर निवर्तमान महासचिव शंकर पोखरेलले मतदान स्थगन भएको जानकारी दिए ।

एमालेले नेतृत्व चयनका लागि ‘राम–लक्ष्मण इनोभेसन’ कम्पनीले बनाएका विद्युतीय मेसिन प्रयोग गर्दै छ । महाधिवेशन निर्वाचन आयोगका अनुसार उम्मेदवारको नाम युनिकोडमा लेख्नुपर्नेमा केहीको प्रीति फन्टमा ‘इन्ट्री’ भएकाले समस्या आएको थियो । ‘मेसिनमा देखिएको समस्या समाधान गरेर बुधबार बिहान ८ बजे मतदान सुरु गर्ने निर्णय भएको छ,’ आयोगका उपाध्यक्ष सानुराज पोखरेलले भने, ‘अध्यक्षका उम्मेदवारद्वयको सहमतिमै मतदान सार्ने निर्णय भएको हो ।’

आयोगका अर्का सदस्यले मतदान सर्नुमा प्राविधिक समस्याबाहेक अरू कुनै कारण नभएको बताए । राम– लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले मंगलबार अपराह्न पाएको विवरण ‘मर्ज’ गर्दा समय लागेकाले मतदान सार्नुपरेको बताए । ‘उम्मेदवारको विवरण तान्दा फन्ट प्रीतिबाट युनिकोडमा परिवर्तन गर्नुपर्ने भएकाले समय लाग्यो,’ उनले भने ।

एमालेले विद्युतीय मतदान मेसिन प्रयोग गरी छिटो नतिजा निकाल्ने तयारी गरेको थियो । मंगलबार राति पनि मतदान सुरु हुन नसक्दा प्रतिनिधिहरू असन्तुष्टि पोख्दै हलबाट बाहिरिएका थिए । मतदानमा ढिलाइकै कारण एमालेको महाधिवेशन एक दिन लम्बिएको छ । 

ईश्वर पोखरेल पक्षले शान्ति–सुरक्षा लगायतलाई ध्यानमा राखी दिउँसो मतदानको व्यवस्था मिलाउन आग्रह गरेको थियो । पोखरेल पक्षका उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले दिउँसो मतदान गर्दा सुरक्षालगायत अन्य विषयमा सहज हुने भन्दै आयोगको ध्यानाकर्षण गराएको बताए । ‘हामीले आयोगलाई दिउँसो मतदान गर्दा राम्रो हुन्छ भनेर ध्यानाकर्षण गराएका थियौं,’ उनले भने, ‘मेसिनमा समस्या आएका कारण बुधबार बिहानका लागि मतदानको समय तोकियो । दिउँसो मतदान गर्दा सबैलाई सजिलो हुन्छ ।’

मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । ‘महाधिवेशनमा सय वटा मेसिन ल्याइएको छ, तर ८० वटा मेसिन प्रयोग गरिनेछ,’ केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले भने । उनका अनुसार एक मतदातालाई मतदान गर्न २५ देखि ३० मिनेट लाग्नेछ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । आयोगका अनुसार प्राविधिक समस्या नआए मतदान सकिन करिब १० घण्टा लाग्नेछ । मतदान सकिएको तीन घण्टामा परिणाम दिन सकिने आयोगको भनाइ छ । 

केपी शर्मा ओली र ईश्वर पोखरेल पक्ष प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । मतपत्रमा अध्यक्षतर्फ १ नम्बरमा ईश्वर पोखरेल र २ नम्बरमा केपी शर्मा ओलीको नाम छ । पाँच उपाध्यक्षमा ११ जना प्रतिस्पर्धामा छन् । अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा (बादल), विन्दा पाण्डे र विष्णुप्रसाद पौडेलको नाम मतपत्रमा क्रमैसँग राखिएको छ ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार छन् । तीन उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीको नाम क्रमैसँग मतपत्रमा राखिएको छ ।  

९ सचिवका लागि २० जना प्रतिस्पर्धामा उत्रिएका छन् । अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुल बाँस्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्मा अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मत कार्की सचिवका उम्मेदवार हुन् ।

प्रत्येक प्रदेशको भूगोल ‘क्लस्टर’ बाट ९ केन्द्रीय सदस्य छान्ने व्यवस्था छ । त्यसमा खुला ५, महिला ३ र ४० वर्षमुनिका एक युवा हुन्छन् । सुदूरपश्चिम भूगोलको खुलातर्फ ५ सिटका लागि १६ जना उम्मेदवार छन् । ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य एक सिटका लागि दुई जना प्रतिस्पर्धामा छन् । सुदूरपश्चिमबाट ३ महिला सदस्यका लागि ७ जना उम्मेदवार छन् ।

कर्णाली भूगोलमा खुलाबाट ५ केन्द्रीय सदस्यका लागि ८ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । ४० वर्षमुनिका युवा ‘क्लस्टर’मा एक सदस्यका लागि २ तथा ३ महिला सदस्यका लागि चार प्रतिस्पर्धी छन् । लुम्बिनीबाट खुलामा १२ जनाबीच प्रतिस्पर्धा हुँदै छ । यस प्रदेशबाट महिला ३ र एक युवा जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

गण्डकीमा खुला सदस्यका लागि १० जना प्रतिस्पर्धामा छन्, महिला ३ जनाका लागि ४ र ४० वर्षमुनिको एक जनाका लागि २ उम्मेदवार छन् । बागमतीबाट आउने ५ खुला सदस्यका लागि ११, ३ महिलाका लागि ४ र एक युवाका लागि ४ जना प्रतिस्पर्धामा छन् ।

मधेश प्रदेशबाट खुला ५ केन्द्रीय सदस्यका लागि १४ जनाबीच प्रतिस्पर्धा हुँदै छ । ३ महिलाका लागि ७ र एक युवाका लागि ४ उम्मेदवार छन् । कोशी प्रदेशबाट पाँच खुला सदस्यका लागि १० उम्मेदवार छन् । ३ महिला सदस्यका लागि ५ र एक युवाका लागि २ उम्मेदवार छन् । राजधानी विशेष प्रदेशबाट आउने ५ खुला सदस्यका लागि १० उम्मेदवार छन् । तीन महिलाका लागि ७ र एक युवाका लागि ३ उम्मेदवार छन् ।

सम्पर्क समन्वयको खुला ३ सदस्यका लागि ५ उम्मेदवार छन् भने सम्पर्क समन्वय महिला १ सदस्यमा दुई जनाबीच प्रतिस्पर्धा हुँदै छ । समावेशीतर्फ आदिवासी जनजातिमा खुला १५ सदस्यका लागि ३४ उम्मेदवार छन् । आदिवासी जनजाति युवा ‘क्लस्टर’मा २ सिटका लागि ७ जना प्रतिस्पर्धामा छन् । आदिवासी जनजातिबाट आउने ८ महिला सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका छन् ।

समावेशीमा मधेशी खुला १३ केन्द्रीय सदस्यमा २४ उम्मेदवार छन् । यस ‘क्लस्टर’को २ युवा निर्विरोध निर्वाचित भएका छन् । मधेशी महिला ६ सदस्यका लागि ७ जना चुनावी प्रतिस्पर्धामा छन् । दलिततर्फ ७ केन्द्रीय सदस्यमा १७ जनाले उम्मेदवारी दिएका छन् । दलित युवा १ सदस्यमा ४ उम्मेदवार छन् ।

समावेशी थारूतर्फ ५ सदस्यमा ८ र महिला २ सिटमा ४ जना प्रतिस्पर्धामा छन् । मुस्लिम ४ सिटका लागि १० उम्मेदवार छन्, यसमा एक महिला निर्विरोध निर्वाचित भइसकेकी छन् ।

केन्द्रीय सदस्य समावेशी श्रमिक ‘क्लस्टर’मा खुलातर्फ ३ सदस्यका लागि ५ जना प्रतिस्पर्धामा छन् । श्रमिक महिलाबाट २ जना निर्विरोध निर्वाचित भएका छन् । पिछडिएको क्षेत्र खुला १ सदस्यमा २ जना प्रतिस्पर्धामा उत्रिएका छन्, १ महिला निर्विरोध निर्वाचित भएकी छन् । अपांगता भएका व्यक्तिबाट खुला १ सदस्यका लागि २ जना उम्मेदवार छन् । प्रवासको दक्षिण एसिया क्षेत्रबाट एक जना निर्विरोध निर्वाचित भएका छन् भने अन्य मुलुकबाट १ सदस्यका लागि ३ जना प्रतिस्पर्धामा छन् ।

खुलाबाट आउने ७२ केन्द्रीय सदस्यमा १६७ उम्मेदवार छन् । पदाधिकारीमा उम्मेदवारी दिनेहरू खुला सदस्यमा स्वतः उम्मेदवार बन्ने व्यवस्था एमालेको विधानमा छ । ४० वर्षमुनिका दुई जना पनि निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा ५२ महिलाका लागि ७१ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

पदाधिकारी र केन्द्रीय कमिटीसहित ३ सय १ जनाका लागि ६ सय ३ उम्मेदवारी परेको थियो । त्यसमध्ये ११ निर्विरोध भएका छन् । उपमहासचिवका उम्मेदवार राजेन्द्र गौतमसहित १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार लुम्बिनी प्रदेशबाट लीलामणि गौतम, गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्य युवा (४० वर्षमुनि) बाट नरेश रोकाया र सुशीलकुमार थापा, मधेश प्रदेशबाट युवामा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट बदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

उम्मेदवारहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । बन्दसत्र स्थल भृकुटीमण्डप क्षेत्रमा उम्मेदवारका पर्चा–पम्पलेट, भिजिटिङ कार्ड छ्यापछ्याप्ती छन् । कतिपय ब्यानरसहित मत मागिरहेका छन् । कला संस्कृति, गीतसंगीत र नाराबाजीसहित पनि मत माग्ने क्रम चलिरहेको छ । प्रचारमा सामाजिक सञ्जाल लगायतका डिजिटल माध्यमको प्रयोग पनि व्यापक रूपमा भइरहेको छ । 

ओली प्यानलबाट महासचिवमा उम्मेदवार बन्न नपाएर असन्तुष्ट बनेका नेता प्रदीप ज्ञवाली शंकर पोखरेलका लागि मत माग्दै मंगलबार करिब तीन घण्टा हिँडेका थिए । ओली प्यानलले सोमबार ज्ञवालीलाई उपाध्यक्षमा अघि सारेको थियो । तर त्यसमा असन्तुष्टि जनाउँदै उनले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । 

ज्ञवालीको उम्मेदवारी नपरेपछि उपाध्यक्षमा रघुजी पन्तलाई ओली प्यानलमा समेटिएको छ । प्यानल निर्माणमा असन्तुष्टि जनाउँदै पन्तले सोमबार स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

ओली प्यानलबाट पदाधिकारीमा नपरेपछि सचिवमा उम्मेदवारी दिएका अग्नि खरेललाई ईश्वर पोखरेल पक्षले आफ्नो टिममा राखेको छ । दुवै पक्षले आआफ्नो प्यानलका उम्मेदवारहरूको सूची बाँडेका छन् । सदस्यमा कतिपय उम्मेदवार दुवै प्यानलमा परेका छन् ।

गंगा

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully