विराटनगरमा आयोजित ‘निर्यातयोग्य उच्च मूल्यका कृषि उपज’ विषयक सार्वजनिक–निजी संवाद कार्यक्रमका सहभागीहरूले उत्पादन, बजारीकरण र निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधारको माग गरेका हुन् ।
What you should know
विराटनगर — कृषि उत्पादनलाई केन्द्रमा राखी नीति निर्माण गर्नुपर्नेमा कोशी प्रदेशका व्यवसायी र सरोकारवालाले जोड दिएका छन् ।
‘इनोभेट नेक्स्ट इम्प्याक्ट’ नामक गैरसरकारी संस्थाले विराटनगरमा आयोजना गरेको ‘निर्यातयोग्य उच्च मूल्यका कृषि उपज’ विषयक सार्वजनिक–निजी संवाद कार्यक्रमका सहभागीहरूले उत्पादन, बजारीकरण र निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधारको माग गरेका हुन् ।
अलैंची व्यवसायी नारायणप्रसाद चिमरियाले पूर्वी नेपालमा उत्पादन हुने अलैंची भारतीय बजारमै निर्भर रहनु परेको गुनासो गरे । तेस्रो मुलुकमा निर्यातका लागि सरकारी सहजीकरण नहुँदा समस्या आएको भन्दै उनले गुणस्तर सुधारका लागि सोलार वा विद्युतीय ड्रायरमार्फत अलैँची सुकाउनुपर्ने र किसानलाई यस्ता उपकरण उपलब्ध गराउनुपर्ने सुझाव दिए ।
कफी व्यवसायी अभिनायक मल्लले नेपालमा कफी खेतीको राम्रो सम्भावना र बजार हुँदाहुँदै पनि मागअनुसार उत्पादन हुन नसकेको बताए । उनका अनुसार वार्षिक करिब २ हजार २ सय मेट्रिक टन कफीको माग रहे पनि हाल ५ सय ५सय ५० मेट्रिक टन मात्र उत्पादन भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग उच्च रहेकाले गुणस्तर कायम गर्दै उत्पादन विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
छुर्पी व्यवसायी राजेन्द्रकुमार श्रेष्ठले पछिल्लो ११ महिनामा मात्रै ४ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भएको जानकारी दिए । उनले निर्यात व्यापार वृद्धिका लागि गुणस्तरीय छुर्पी उत्पादन गरिनु पर्ने बताउँदै त्यसका लागि उन्नत नश्लका गाईपालनका लागि सरकारी प्रोत्साहन आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकारले बजार व्यवस्थापन, निर्यात प्रवर्द्धन र उत्पादन वृद्धिमा अपेक्षित काम गर्न नसकेको स्वीकार गरे । सरोकारवालाको मागलाई समेटेर नीति निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
इनोभेट नेक्स्ट इम्प्याक्टका निर्देशक तपेन्द्र चन्दले संस्थाले उद्यमीलाई उद्यम विकास, बजारीकरण र निर्यातमा सहजीकरण गर्दै आएको जानकारी दिए । कार्यक्रम संयोजक इसिका अग्रवालले संवादबाट उठेका मागहरू नीति–संक्षेपमा समेटी सरोकारवाला निकायसमक्ष पुर्याइने जनाइन् ।
