महाधिवेशनले पार्टीलाई नेताको निवासबाट जनतातिर फर्काउनुपर्छ : योगेश भट्टराइ

पार्टी र जनताबीच खाडल बढ्दै गयो भने भदौ २३ र २४ का जस्ता घटना हुन्छन् ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

The general convention should turn the party from the leader's residence to the people: Yogesh Bhattarai

काठमाडौँ — जारी एमाले महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराइले नेताको निवास र काठमाडौँबाट पार्टीलाई जनतातिर फर्काउने काम महाधिवेशनले गर्ने बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'पार्टी र जनताबीच खाडल बढ्दै गयो भने भदौ २३ र २४ का जस्ता घटना हुन्छन्।'

उनले महाधिवेशनले एमालेले पार्टीभित्रको तिक्तता हटाउने विश्वास पनि व्यक्त गरे। उनले जेन-जी विद्रोहपछि पार्टीले नयाँ विचार प्रवाह गर्न खोजेको भन्दै यो भदौ २३ र २४ गतेपछिको परिस्थितिका कारण भएको बताए। उनले भने, 'फरक परिस्थितिका कारण यो महाधिवेशन भएको हो । यसले हाम्रा राम्रा र नराम्रा कुराहरू केलाउनेछ।'

भट्टराइले जनतामा दलप्रतिको गुम्दै गएको विश्वास फेरी पुनःजागृत गर्नुपर्ने बेला आएको बताउँदै तीनै ठूला दलमा नयाँ नेतृत्व आवश्यक रहेको संदेश महाधिवेशनले दिनुपर्ने बताए। उनले महाधिवेशनले नेकपा एमालेको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र नेतृत्व हस्तान्तरणको सहज व्यवस्था गर्ने पनि बताए।

उनले एउटा व्यक्तिले चौथो पटक अध्यक्ष पदमा उम्मेदवारी दिएको भन्दै दुई कार्यकालको विधि स्थापना गर्न नसकिएको बताए। उनले भने, 'यो महाधिवेशनले नगरे पनि भोलि पार्टीले यसमा काम गर्नेछ र त्यसको प्रस्थानविन्दु यही महाधिवेशन हुनेछ।'

कान्तिपुर

Link copied successfully