एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा निर्विरोध हुने ११ जना को-को हुन् ? 

दुई जना उम्मेदवारको निर्वाचन खारेजी, १५ जनाले लिए उम्मेदवारी फिर्ता

पुस १, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: Who are the 11 unopposed central members?

काठमाडौँ — एमाले ११औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार ११ जना केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन् ।

लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशीलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । 

यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा दुई हजार २ सय ६२ जना प्रतिनिधिले भाग लिनेछन् । 

कान्तिपुर

Link copied successfully