एमालेका दुई उपाध्यक्षले भने : अब हामी पार्टीभित्र चुनाव लड्दैनौँ

दुवै जनाले पार्टीमा अरुले पनि अवसर पाउनुपर्ने भन्दै चुनाव नलड्ने घोषणा गरेका हुन् ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Two UML vice-chairmen said: We will no longer contest elections within the party.

काठमाडौँ — एमालेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले अब पार्टी पदाधिकारीमा नरहने घोषणा गरेका छन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षद्वय शाक्य र ज्ञवालीले ११औं महाधिवेशनमा कुनै पनि पदाधिकारीमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । 

दुवै जनाले पार्टीमा अरुले पनि अवसर पाउनुपर्ने भन्दै चुनाव नलड्ने घोषणा गरेका हुन् । शाक्य एमालेको ९औं महाधिवेशनमै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने दसौँ महाधिवेशनमा उपाध्यक्षमै दोहोरिएकी थिइन् ।

पार्टीमा झन्डै ७ वर्ष बागमती प्रदेश इन्चार्जका रूपमा रहेकी उनी नेपालकै पहिलो महिला मुख्यमन्त्रीसमेत हुन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । उनी २०२८ देखि नै राजनीतिमा सक्रिय थिइन् । 

त्यस्तै ज्ञवाली ०७१ सालमा ९औं महाधिवेशनमै उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी पनि २०७८ मा सौराहामा भएको १०औं महाधिवेशनमा उपाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए । उनी २०७० सालमा एमालेबाट समानुपातिकतर्फबाट संविधानसभा सदस्यसमेत बने ।

२०२६ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ज्ञवालीले पार्टीका विभिन्न तह हुँदै संगठन विभाग प्रमुखसम्मका जिम्मेवारी सम्हालेका थिए । 

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully