विवादका कारण ४ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि छनोट टुंगिएन

बझाङ, तनहुँ, दैलेख र महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

UML general convention representative selection not finalized in 4 districts due to controversy

काठमाडौँ — एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया शनिबारसम्म गरिसक्नुपर्ने भए पनि विवादका कारण चार जिल्लामा हुन सकेको छैन । एक दर्जनभन्दा बढी जिल्लामा चुनावबाट प्रतिनिधि चयन भएका छन् । 

संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले अकिकांश जिल्लामा प्रतिनिधि चयन प्रक्रिया सकिइसकेको जानकारी दिए । ‘अधिकांश जिल्लामा प्रतिनिधि चयन सकिइसकेको छ । तीन, चार जिल्लामा सोमबार सकिन्छ,’ उनले भने ।

बझाङ, तनहुँ, दैलेख र महोत्तरीमा प्रतिनिधि चयन हुन सकेको छैन । ‘छलफल भइरहेको छ । यी जिल्लामा पनि आज सकिन्छ,’ अधिकारीले भने ।

मंसिर २७–२९ सम्म हुने महाधवेशन लागि ७७ जिल्ला र प्रवासबाट करिब दुई हजार तीन सय प्रतिनिधि सहभागी हुनेछन् ।

धनुषा, महोत्तरी, मकवानपुर, कञ्चनपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, झापा, रुकुम पश्चिम, मोरङ, लमजुङ, तनहुँ र गोरखालगायत जिल्लामा प्रतिनिधि चयन गर्न चुनाव भएको छ ।

काठमाडौंबाट ४६ प्रतिनिधि छानिनेछन् । तीमध्ये १५ महिला, ४० वर्षमुनिका १० युवा र दलित एक प्रतिनिधि चयन भइसकेका छन् । त्यस्तै, ललितपुरमा एक युवा र दलित प्रतिनिधि सर्वसम्मत भए पनि अरू तीन निर्वाचन क्षेत्रमा चुनावबाट प्रतिनिधि छानिएका छन्। ललितपुरबाट चार महिला, तीन जना ४० वर्षमुनिका युवा, एक दलित प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् । भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले सबै प्रतिनिधि सर्वसम्मत भएको बताए । जिल्लाबाट १४ प्रतिनिधिमध्ये पाँच महिला, दुई जना ४० वर्षमुनिका युवा र एक दलित छन् ।

कान्तिपुर

Link copied successfully