चुरे जोगाऔं, बाँच्ने आधार जोगाऔं

चुरे संरक्षणका लागि कानुनी तथा नीतिगत व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयनको अभाव स्पष्ट देखिन्छ ।

जेष्ठ १०, २०८३

प्रवीनकुमार यादव

Let's protect the Chure, let's protect the basis of survival

What you should know

नेपालको भू–संरचनात्मक दृष्टिले अत्यन्त संवेदनशील मानिने चुरे क्षेत्र आज गम्भीर संकटको अवस्थामा पुगेको छ । देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरे पर्वतमाला केवल पहाडको शृंखला मात्र होइन, तर तराई–मधेशको जीवन र अस्तित्वसँग प्रत्यक्ष जोडिएको प्राकृतिक आधार हो । चुरेले पानी संरक्षण, वन सम्पदाको सुरक्षा, जैविक विविधताको सन्तुलन तथा भू–क्षय नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । तर विडम्बना, आज यही चुरे क्षेत्र अत्यधिक दोहन, अव्यवस्थित उत्खनन, वन विनाश तथा राजनीतिक संरक्षण प्राप्त माफियाहरूको कब्जामा परेको देखिन्छ ।

सरकारका निकायले समयमै प्रभावकारी कदम चाल्न नसक्दा चुरे क्षेत्र क्रमशः उजाड बन्दै गएको छ । अझ दुःखको कुरा त, संरक्षण गर्नॅपर्ने सरकारी अधिकारीहरू नै कतिपय अवस्थामा दोहन प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको जनगुनासो व्यापक छ । यदि अहिले पनि राज्य गम्भीर बन्न सकेन भने भविष्यमा यसको असर केवल वातावरणमा मात्र होइन, समग्र राष्ट्रिय अर्थतन्त्र र जनजीवनमा समेत गम्भीर रूपमा पर्ने निश्चित छ ।

चुरे क्षेत्रको सबैभन्दा ठूलो महत्त्व पानीको स्रोतसँग जोडिएको छ । चुरे पर्वतमालाले वर्षाको पानीलाई भूमिगत रूपमा सञ्चित गरेर तराई क्षेत्रमा प्राकृतिक जलस्रोतको सन्तुलन कायम राख्ने काम गर्छ । तर अहिले अनियन्त्रित ढुंगा, गिट्टी, बालुवा उत्खननका कारण जमिनको प्राकृतिक संरचना कमजोर बन्दै गएको छ । परिणामस्वरूप भूमिगत पानीको सतह निरन्तर घटिरहेको छ । तराईका धेरै जिल्लामा पहिले सजिलै उपलब्ध हुने इनार, चापाकल तथा कुवाहरू अहिले सुक्न थालेका छन् । किसानहरूले सिँचाइको चरम समस्या भोगिरहेका छन् । खानेपानीको संकट दिन प्रतिदिन गहिरिँदै गएको छ । पानीको संकट केवल वातावरणीय समस्या होइन, यो मानव अस्तित्वसँग जोडिएको राष्ट्रिय संकट हो भन्ने कुरा सरकारले बुझ्न आवश्यक छ ।

चुरे क्षेत्रमा भइरहेको वन विनाश अर्को भयावह समस्या हो । वन फडानी बढेसँगै भूक्षय, पहिरो तथा बाढीको जोखिम तीव्र रूपमा बढेको छ । वर्षायाममा चुरेबाट बग्ने माटोले नदीहरू पुरिँदै गएका छन्, जसका कारण तराई क्षेत्रमा विनाशकारी बाढी आउने क्रम बढ्दो छ । एकातर्फ वर्षामा डुबानको समस्या छ भने अर्कोतर्फ हिउँदमा पानीको अभावले जनता पीडित छन् । यो विरोधाभासपूर्ण अवस्था चुरेको प्राकृतिक सन्तुलन बिग्रिएपछि उत्पन्न भएको हो । चुरे क्षेत्रलाई संरक्षण नगरी तराई–मधेशको दीर्घकालीन सुरक्षा सम्भव छैन भन्ने कुरा सरकारले बुझ्न ढिला गर्नॅ हुँदैन । प्राकृतिक स्रोतलाई केवल आर्थिक लाभको माध्यमका रूपमा हेर्ने प्रवृत्तिले भविष्यमा ठूलो राष्ट्रिय संकट निम्त्याउने निश्चित छ ।

राजनीतिक हस्तक्षेप चुरे विनाशको मुख्य कारणमध्ये एक बनेको छ । स्थानीय तहदेखि संघीय स्तरसम्मका केही राजनीतिक नेताहरूले आफ्ना निकट व्यक्तिहरूलाई अवैध उत्खननको संरक्षण दिएको आरोप लाग्ने गरेको छ । वन क्षेत्रभित्र डोजर चलिरहेका छन्, नदीहरू दोहन भइरहेका छन्, तर प्रशासन मौन बसिरहेको देखिन्छ । प्रभावशाली व्यक्तिहरूले कानुन मिच्दा राज्य किन निरीह देखिन्छ ? चुरे संरक्षणका नाममा करोडौं बजेट खर्च भएको भनिन्छ, तर त्यसको वास्तविक प्रभाव किन देखिँदैन ? यी प्रश्नहरूको जवाफ जनताले खोजिरहेका छन् । त्यसैले सरकारले अब केवल भाषण गरेर होइन, कानुनको कठोर कार्यान्वयनमार्फत आफ्नो प्रतिबद्धता प्रमाणित गर्नॅपर्छ ।

चुरे क्षेत्रको विनाशले केवल वातावरणीय असर मात्र पारिरहेको छैन, यसले सामाजिक तथा आर्थिक संकटसमेत निम्त्याइरहेको छ । चुरे क्षेत्रको विनाशले केवल वातावरणीय असर मात्र पारिरहेको छैन, यसले सामाजिक तथा आर्थिक संकटसमेत निम्त्याइरहेको छ । खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । किसानहरू विस्थापित भइरहेका छन् । ग्रामीण क्षेत्रमा गरिबी र बेरोजगारी बढिरहेको छ । पानीको अभावका कारण कृषि उत्पादन घट्दै गएको छ, जसले प्रत्यक्ष रूपमा खाद्य सुरक्षामा असर पारिरहेको छ । तराई–मधेश, जुन देशको अन्न भण्डार मानिन्छ, त्यही क्षेत्र अहिले प्राकृतिक संकटको चपेटामा पर्न थालेको छ । यदि यही अवस्था जारी रहने हो भने भविष्यमा खाद्यान्न संकट उत्पन्न हुन सक्ने खतरा पनि उत्तिकै छ । सरकारले विकासको ठूला कुरा गरे पनि प्राकृतिक आधार नै कमजोर भएपछि विकास कसरी सम्भव हुन्छ ? वातावरण विनाश गरेर प्राप्त गरिने अल्पकालीन आर्थिक लाभले दीर्घकालीन रूपमा राष्ट्रलाई ठूलो क्षति पुर्‍याउने कुरा अब बुझ्न आवश्यक छ । चुरे संरक्षणलाई राष्ट्रिय सुरक्षा र जनजीवनको सुरक्षासँग जोडेर हेर्नॅपर्ने समय आइसकेको छ ।

चुरे संरक्षणका लागि कानुनी तथा नीतिगत व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयनको अभाव स्पष्ट देखिन्छ । संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । वातावरण संरक्षण ऐन, वन ऐन तथा विभिन्न नीतिहरूमा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी स्पष्ट व्यवस्था भए पनि व्यवहारमा ती कानुन प्रभावकारी रूपमा लागू हुन सकेका छैनन् । यदि राज्यले आफ्नो कानुनी दायित्व पूरा गर्न सकेन भने जनताले न्यायको अपेक्षा कसरी गर्ने ? चुरे संरक्षणका लागि अब कडा अनुगमन, पारदर्शी प्रशासन तथा निष्पक्ष कारबाही आवश्यक छ ।

सरकारले अब तत्काल दीर्घकालीन र व्यावहारिक योजना ल्याउन आवश्यक छ । पहिलो, चुरे क्षेत्रमा हुने अवैध उत्खनन पूर्ण रूपमा नियन्त्रण गर्नॅपर्छ । दोस्रो, वन विनाश रोक्न स्थानीय समुदायलाई संरक्षण अभियानमा सहभागी गराइनुपर्छ । तेस्रो, भूमिगत पानी संरक्षणका लागि वैज्ञानिक अध्ययनसहित विशेष कार्यक्रम सञ्चालन गरिनुपर्छ । चौथो, राजनीतिक दबाबमा हुने प्राकृतिक स्रोत दोहनमाथि कडा नियन्त्रण आवश्यक छ । पाँचौं, चुरे क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको विषय बनाएर विशेष सुरक्षा नीति लागू गरिनुपर्छ । केवल समिति बनाएर वा घोषणा गरेर समस्या समाधान हुँदैन । वास्तविक काम जमिनमा देखिनुपर्छ । 

स्थानीय समुदायको भूमिका पनि चुरे संरक्षणमा अत्यन्त महत्त्वपूर्ण छ । संरक्षण केवल सरकारको जिम्मेवारी मात्र होइन, यो सम्पूर्ण नागरिकको साझा दायित्व हो । स्थानीय बासिन्दाहरूले वन जोगाउने, अवैध उत्खननको विरोध गर्ने तथा प्राकृतिक स्रोतको संरक्षणमा सक्रिय भूमिका खेल्न आवश्यक छ । विद्यालय तथा विश्वविद्यालयस्तरमै वातावरण संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नॅपर्छ । विशेषगरी युवापुस्तालाई चुरेको महत्त्वबारे जानकारी गराउनु आवश्यक छ । आजको पुस्ताले चुरे जोगाउन सकेन भने भविष्यको पुस्ताले पानी, वन र उर्वर जमिन सबै गुमाउने खतरा छ । ‘आज चुप लाग्यौं भने भोलि बाँच्ने आधार नै सकिन्छ’ भन्ने चेतना समाजमा फैलाउन आवश्यक छ । संरक्षण अभियानलाई केवल सरकारी कार्यक्रम नभई जनआन्दोलनका रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

अन्ततः चुरे संरक्षण केवल वातावरणीय मुद्दा होइन, यो राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय हो । तराई–मधेशको पानी, कृषि, जैविक विविधता तथा मानव जीवनको आधार नै चुरे हो । यदि चुरे समाप्त भयो भने त्यसको असर देशभरि पर्नेछ । सरकार, राजनीतिक दल, प्रशासन, नागरिक समाज तथा सर्वसाधारण सबैले अब जिम्मेवार बन्नुपर्छ । विकासका नाममा प्राकृतिक विनाशलाई वैधता दिने प्रवृत्ति तुरुन्त रोक्न आवश्यक छ । चुरे जोगाउनु भनेको भविष्य जोगाउनु हो । आज पनि समय छ, सरकार गम्भीर बनोस्, प्रभावकारी कदम चालोस् र चुरे संरक्षणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाओस् । अन्यथा पानीको संकट, बाढी, पहिरो, मरुभूमीकरण तथा पर्यावरणीय विनाशले नेपाललाई ठूलो संकटतर्फ धकेल्ने निश्चित छ । 

जेन-जी अभिमत

प्रवीनकुमार यादव जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully