गाउँमा खेत बााझा छन्, युवाशक्ति विदेशमा छ, तर सहरका बजार विदेशी खाद्यान्न र उपभोग्य वस्तुले भरिएका छन्, नेपालको कृषि संकटको वास्तविक चित्र यही हो
What you should know
अहिले नेपालको अर्थतन्त्र गम्भीर मोडमा उभिएको छ । बाहिरबाट हेर्दा बजार चलायमान देखिन्छ, बैंकमा रेमिट्यान्स आइरहेकै छ, सडकमा नयाँ गाडी थपिएकै छन्, सहरमा उपभोग बढेकै छ । तर, भित्रभित्रै अर्थतन्त्रको जग कमजोर हुँदै गएको तथ्यांकले देखाउन थालेको छ ।
भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांकले नेपाललाई एउटा असहज प्रश्न सोधेको छ– देशले आखिर उत्पादन गर्छ के ?
किनकि एक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गर्दा निर्यात भने जम्मा २ खर्ब ७७ अर्ब रुपैयाँमा सीमित छ । अर्थात्, देशले वार्षिक १५ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा बेहोरिरहेको छ । यो घाटा केवल आर्थिक सूचक होइन, नेपालको उत्पादन क्षमताको कमजोरी, कृषि प्रणालीको विफलता, उद्योगीकरणको सुस्त गति र आयातमुखी जीवनशैलीको प्रत्यक्ष परिणाम हो ।
नेपालको अर्थतन्त्रलाई दिगो रूपमा बचाउने हो भने अब मुख्य ध्यान उत्पादनमा जानुपर्छ । नेपाललाई अझै कृषिप्रधान देश भनिन्छ । तर, बजारको वास्तविकता हेर्दा देश कृषिमा आत्मनिर्भर होइन, आयातमा निर्भर देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै नेपालले ६० अर्ब ७८ करोड रुपैयाँको अन्न, ३७ अर्ब ७३ करोड रुपैयाँको तरकारी, २५ अर्ब ८७ करोड रुपैयाँको फलफूल तथा अर्बौं रुपैयाँ बराबरको तेलजन्य कच्चा पदार्थ आयात गरेको छ । चामल, मकै, प्याज, आलु र स्याउजस्ता दैनिक उपभोगका वस्तुमा समेत नेपाल विदेशी बजारमा निर्भर छ ।
केवल स्याउ आयातमै १० अर्ब ५५ करोड रुपैयाँ बाहिरिएको छ भने मकै आयातमा १८ अर्ब रुपैयाँ नाघेको छ । प्याज र अन्य तरकारीमा पनि अवस्था उस्तै छ । गाउँमा खेत बाँझा छन्, युवाशक्ति विदेशमा छ, तर सहरका बजार विदेशी खाद्यान्न र उपभोग्य वस्तुले भरिएका छन् । नेपालको कृषि संकटको वास्तविक चित्र यही हो ।
नेपालको सबैभन्दा ठूलो आयात पेट्रोलियम पदार्थ हो । आर्थिक वर्ष २०८१/८२ मा डिजेल आयातमा मात्रै १ खर्ब २८ अर्ब रुपैयाँ बाहिरिएको छ भने पेट्रोल, एलपी ग्यास र हवाई इन्धनसमेत जोड्दा पेट्रोलियमजन्य पदार्थमा कुल खर्च ३ खर्ब २६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । त्यसपछि कच्चा भटमास तेल, फलाम, स्टिल, मोबाइल फोन, सवारी साधन र इलेक्ट्रोनिक्सजस्ता वस्तु आयात सूचीको अग्रभागमा रहेका छन् ।
नेपालले अहिले उत्पादनभन्दा बढी उपभोग गरिरहेको छ । कमाइभन्दा बढी खर्च गरिरहेको छ । र, त्यो खर्च धानिरहेको छ- विदेशबाट आउने रेमिट्यान्सले । नेपालको व्यापार घाटा अहिले श्रमिकले विदेशबाट पठाएको पैसाले धानेको छ । तर, यही संरचना दीर्घकालीन रूपमा टिकाउ छैन । हरेक वर्ष लाखौं युवा विदेश गइरहेका छन् । गाउँमा श्रमशक्ति घटिरहेको छ । कृषि उत्पादन घटिरहेको छ । विदेशबाट आएको पैसा पुनः आयातित वस्तु खरिदमै खर्च भइरहेको छ । यसले अर्थतन्त्रलाई उत्पादनतर्फ होइन, उपभोगतर्फ धकेलिरहेको छ ।
नेपालको अर्थतन्त्रलाई दिगो रूपमा बचाउने हो भने अब मुख्य ध्यान उत्पादनमा जानुपर्छ । विशेषगरी चामल र मकैमा आत्मनिर्भरता, तोरी, भटमास र सूर्यमुखी खेती विस्तार, आलु, प्याज र तरकारी उत्पादन वृद्धि, डेरी उद्योग, पशु आहार उद्योग, तेल उद्योग, जडीबुटी प्रशोधन तथा चिया, कफी र अलैंचीको ‘ब्रान्डेड’ निर्यातजस्ता क्षेत्रमा राष्ट्रिय अभियान आवश्यक छ ।
नेपालले अहिले अर्जेन्टिना र ब्राजिलबाट कच्चा भटमास तेल ल्याएर सामान्य प्रशोधनपछि पुनः निर्यात गरिरहेको छ । यसबाट सीमित मूल्य अभिवृद्धि मात्रै भइरहेको छ । यदि यही कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकियो भने विदेशी मुद्रा बचत हुन्छ, किसानको आय बढ्छ, उद्योगलाई आवश्यक कच्चा पदार्थ उपलब्ध हुन्छ र देशभित्रै रोजगारी सिर्जना हुन्छ ।
नेपालको अर्को ठूलो कमजोरी हो– कृषि र उद्योगबीचको सम्बन्ध कमजोर हुनु । किसान उत्पादन गर्छ, तर बजार पाउँदैन । उद्योगलाई कच्चा पदार्थ चाहिन्छ, तर विदेशबाट ल्याउँछ । यदि किसान, सहकारी, संकलन केन्द्र, प्रशोधन उद्योग र बजारलाई एउटै आपूर्ति शृंखलामा जोड्न सकियो भने नेपालले ठूलो परिमाणमा आयात प्रतिस्थापन गर्न सक्छ ।
नेपालमा योजना र भाषणको अभाव छैन । अभाव छ त मात्रै कार्यान्वयनको । यदि बाँझो जमिन उपयोग गरियो, किसानलाई बजारको ग्यारेन्टी दिइयो, सिँचाइ अनि मलको सुनिश्चितता गरियो, प्रशोधन उद्योग स्थापना गरियो, उत्पादनमुखी उद्योगलाई कर सहुलियत दिइयो र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइयो भने नेपालले आगामी दशकभित्र व्यापार घाटा उल्लेख्य रूपमा घटाउन सक्छ ।
तर, अहिले पनि अर्थतन्त्रलाई आयात, उपभोग र रेमिट्यान्सकै भरमा चलाइरहने हो भने संकट अझ गहिरिँदै जाने निश्चित छ । नेपाल अब एउटा निर्णायक मोडमा छ । अबको प्रश्न केवल व्यापार घाटाको होइन, राष्ट्रिय आत्मनिर्भरता, उत्पादन क्षमता र आर्थिक अस्तित्वको हो ।
