नेपालको विचलित वामपन्थ

नेपालमा आफूलाई वामपन्थी दाबी गर्ने दलहरूले नेपाली जनतालाई समाजवाद वा साम्यवादको सामान्य झलक मात्र पनि अनुभूत गराउन सके ? के ६ दशकको समय उनीहरूका लागि कम थियो ? वा नेकपा माओवादीको उदय भएको बीस वर्ष समय कम थियो ?

चैत्र २५, २०८२

शाश्वत रेग्मी

Nepal's disturbed left

What you should know

काठमाडौँ — ‘वामपन्थ’ शब्दावलीको प्रचलन सन् १७८९ को फ्रान्सेली क्रान्तिपछि सुरु भएको हो । फ्रान्सको राष्ट्रिय सभा (नेसनल एसेम्ब्ली) मा राजाको समर्थन गर्नेहरू दायाँतर्फ र परिवर्तन चाहने क्रान्तिकारीहरू बायाँतर्फ बस्थे । त्यहींबाट ‘बायाँ’ वा ‘वाम’ शब्दको उदय भयो ।

वामपन्थ भनेको त्यस्तो राजनीतिक धार हो, जसले परम्परागत संरचनालाई परिवर्तन गरेर समाजमा समानता र न्याय स्थापनाको पैरवी गर्दै तिनै एजेन्डाका लागि काम पनि गर्छ । वामपन्थले सबै मानिसहरू समान हुनुपर्छ भनेर मान्छ । यो धनी र गरिबबीचको खाडल कम गर्न चाहने व्यवस्था हो । वामपन्थले सामाजिक न्यायको बलियो वकालत गर्छ । समाजका पछाडि पारिएका, उत्पीडित र सीमान्तकृत वर्गको अधिकारको संरक्षण गर्नु वामपन्थको कार्य हो ।

वामपन्थमा स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता आधारभूत आवश्यकताहरूमा राज्यको नियन्त्रण वा बलियो नियमन हुनुपर्छ भन्ने मान्यता राखिन्छ । यो व्यवस्थामा व्यक्तिगत नाफाभन्दा सामूहिक हित प्राथमिक र महत्त्वपूर्ण हुन्छ । वामपन्थी व्यवस्थामा श्रमिकहरूको हकहितमा ध्यान दिइन्छ, युनियनहरूको समर्थन गरिन्छ र सार्वजनिक संस्थानहरूको सुदृढीकरण गरिन्छ । यसले कल्याणकारी राज्यको अवधारणालाई पालन गर्दछ । वामपन्थका प्रमुख विशेषता यिनै हुन् ।

नेपालको सन्दर्भमा बेलाबेला पुनर्नामकरण भइरहने, जोडिने, छुटिने गरिरहने ‘नेकपा’ नामले चिनिने विभिन्न दलहरू आफूलाई वामपन्थीका रूपमा दाबी गर्छन् । नेपालमा आफूलाई वामपन्थी दाबी गर्ने दलहरू स्थापना भएको ६ दशक नाघिसकेको छ । ४६ सालको प्रजातन्त्र प्राप्तियता यी ‘वामपन्थी’ दलहरू पटकपटक सत्तामा पुगे । एउटा वामपन्थी दाबी गर्ने दल तत्कालीन नेकपा माओवादीले त राज्यको पुनःसंरचना गर्ने दाबीसहित दस वर्ष देशमा युद्ध नै गर्‍यो ।

कुनै संगठनात्मक क्षमता नभएका यी ‘’मार्क्सवादी’ हरूले जनतालाई दोष लगाउनुको कुनै तुक छैन । यदि तपाईं सधैं अचेत जनतालाई तिरस्कार र अपमान मात्र गर्नुहुन्छ भने उनीहरूमाझ कसरी पुग्नुहुन्छ ? के उनीहरूलाई शिक्षित गर्ने प्रयास गर्नु पर्दैन ? के भौतिक अवस्थाको सुधार नै विचारधारा होइन र ? तर खै त भौतिक सुधार ? खै शिक्षा ? रास्वपालाई फाँसीवादीको आरोप लगाउँदै यथास्थितिवादको वकालत गर्नु कति उचित छ ? तर के नेपालमा आफूलाई वामपन्थी दाबी गर्ने दलहरूले नेपाली जनतालाई समाजवाद वा साम्यवादको सामान्य झलक मात्र पनि अनुभूत गराउन सके ? के ६ दशकको समय उनीहरूका लागि कम थियो ? वा नेकपा माओवादीको उदय भएको बीस वर्ष समय कम थियो ? थिएन । बरु आफ्नै वैचारिक विचलनले उनीहरूलाई वामपन्थको सार (इसेन्स) बाट कोसौं टाढा पुर्‍यायो । आमजनतासँग गरेको वाचा पूरै बिर्सायो । पुँजीवादको नशामा चुर्लुम्म डुबायो र आसेपासे पुँजीवादको प्रवर्द्धनकर्ता बनायो ।

६ महिनाअघि भएको जेन–जी विद्रोहपछि, म राज्य–हिंसा भनेको के हो र राज्य किन आफ्नै नागरिकमाथि दमन गर्न यति हतारिन्छ भन्ने प्रश्नमा घोत्लिन थालें । आफूलाई कुर्सीमा पुर्‍याउने जनताकै छोराछोरीमाथि गोली चलाउन उनीहरूलाई किन यति सजिलो भयो ? राज्यले चलाएको गोली स्वीकार्य हुने, तर जनताले गर्ने प्रतिरोधचाहिँ ‘आतंकवाद’ हुने ? केही नभाँचेका, केही नजलाएका र संसद् भवनको नजिकसमेत नपुगेका ती युवाहरूमाथि किन गोली प्रहार गरियो ? यी प्रश्नहरूले मलाई जर्मन दार्शनिक फ्रेडरिक एंगेल्सतिर डोर्‍यायो । मैले अध्ययन गर्दै गएँ, उत्तरहरू भेट्टाउन थालें– राज्य हिंसाका बारेमा मात्र होइन, हाम्रो यो ‘लोकतन्त्र’ को वास्तविक स्वरूप अर्थात् अभिजात्य लोकतन्त्रका बारेमा पनि ।

विगत ६ महिनादेखि समाजवादी सिद्धान्तहरू बुझ्दै जाँदा, मलाई आन्दोलनका बेलाका प्रश्नहरूले भन्दा एउटा अझ ठूलो प्रश्नले सताइरहेको छ– नेपालको वामपन्थी शक्ति कहाँ छ ? एमाले र माओवादी केन्द्र कम्युनिस्ट होइनन् भन्ने विषय स्थापित भइसकेकै छ, उनीहरूलाई त लेनिनवादी परिभाषामा ‘अवसरवादी’ भन्न पनि गाह्रो पर्छ । उनीहरू नेपाली अभिजात लोकतन्त्रका संस्थापक मात्र हुन् । तर मेरो चासो उनीहरू होइनन् । मेरो चासो ती वामपन्थीहरूसँग छ, जो चुनावी राजनीतिभन्दा बाहिर छन् । यो सबै घटनाक्रम भइरहँदा उनीहरू कहाँ थिए ?

आन्दोलन भनेको शासक वर्गविरुद्ध जनतामा रणनीतिक रूपमा आक्रोश र राजनीतिक सक्रियता जगाउने प्रक्रिया हो । ती विद्रोहका अघि, पछि र आन्दोलनको बीचमा यी दलहरूले के गरिरहेका थिए ? मैले कुनै पनि प्रकारको राजनीतिक जागरण महसुस गरिनँ । यस्तै मोडहरूमा ‘वर्ग चेतना’ निर्माण गर्न सकिन्छ, तर मैले त आफैं अध्ययन गरेर यी विषय सिक्नुपर्‍यो । जनताको स्वतःस्फूर्त आन्दोलनमा पुगेर उनीहरूलाई डोर्‍याउनु नै ‘अगुवा दस्ता’ र संगठकहरूको काम हो, किनकि त्यस्ता आन्दोलनमा चेतना प्रारम्भिक अवस्थामा हुन्छ । तर उनीहरू अनुपस्थित रहे र अझै पनि अनुपस्थित छन् । यदि जनतालाई जगाउन सकिँदैन भने उनीहरूको अस्तित्वको के अर्थ ? यदि कुनै ठूलो लक्ष्यका लागि काम गरिँदैन भने के अर्थ ? ‘द्वैध सत्ता’ निर्माणको दिशामा कुनै पहल छैन भने उनीहरू वास्तवमा के गरिरहेका छन् ?

कथित ‘अगुवा’ दलहरूको यो निष्क्रियता देख्दा निराशा, पीडा र हताशा लाग्छ । न वैकल्पिक राजनीति छ, न कुनै ठोस कार्यक्रम । जुन समूह हिजो रवि लामिछानेलाई जेल हाल्नुपर्छ भन्दै थिए, वैकल्पिक कार्यक्रमको अभावमा उनीहरू समेत अन्त्यमा उनकै पार्टीसँग उभिन बाध्य भए । अनि अर्कोतर्फ, केही स्वघोषित ‘मार्क्सवादी’ हरू सामाजिक सञ्जालमा अतिशय निराशा पोख्दै रास्वपाको उदयलाई नेपालमा ‘फाँसीवाद’ को प्रवेश भनेर रोइरहेका छन् । नेपाली नागरिकले के गरुन् त ? राज्यविहीन भएर बाँचिरहनु ? कि सैनिक शासनमा बस्नु ?

कुनै संगठनात्मक क्षमता नभएका यी ‘’मार्क्सवादी’ हरूले जनतालाई दोष लगाउनुको कुनै तुक छैन । यदि तपाईं सधैं अचेत जनतालाई तिरस्कार र अपमान मात्र गर्नुहुन्छ भने उनीहरूमाझ कसरी पुग्नुहुन्छ ? के उनीहरूलाई शिक्षित गर्ने प्रयास गर्नु पर्दैन ? के भौतिक अवस्थाको सुधार नै विचारधारा होइन र ? तर खै त भौतिक सुधार ? खै शिक्षा ? रास्वपालाई फाँसीवादीको आरोप लगाउँदै यथास्थितिवादको वकालत गर्नु कति उचित छ ? जबकि ओलीले आफ्नो पतनअघि नै फाँसीवादी चरित्र देखाइसकेका थिए ।

नेपाली वामपन्थीको यो अक्षमतामाथि उनीहरूले जनतालाई बदनाम गरेर झन् नुनचुक थपिरहेका छन् । जनताले जे गर्छन्, तपाईंलाई घिन लाग्छ । जनता जेका लागि उभिन्छन्, तपाईंलाई नफरत हुन्छ । मौका पाउनेबित्तिकै तपाईं साधारण मानिसलाई होच्याउनुहुन्छ । तपाईं जनतालाई सचेत बनाउन चाहनु हुन्न, बरु उनीहरू आफैं सचेत होऊन् र नहुनेलाई गाली गर्न पाइयोस् भन्ने चाहनुहुन्छ । खोक्रो दाबीको आरोप लगाउनेहरूलाई म भन्न चाहन्छु— खोक्रो त तपाईंको दाबी छ । पुस २०७७ र जेठ २०७८ मा केपी ओलीले दुई पटक असंवैधानिक रूपमा संसद् विघटन गरे । सर्वोच्च अदालतले त्यसलाई दुई पटक नै असंवैधानिक ठहर गर्‍यो । उनले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गरे, संवैधानिक आयोगहरूमा चलखेल गरे र असहमति राख्नेलाई ‘राष्ट्रविरोधी’ वा ‘विदेशी एजेन्ट’ को बिल्ला भिराए । प्रेसलाई नियन्त्रण गर्न ल्याइएको ‘मिडिया काउन्सिल विधेयक’ र हामी सबैलाई थाहा भएको ‘सामाजिक सञ्जाल विधेयक’ त्यसकै उदाहरण थिए । ओलीले कानुनमार्फत नै ‘प्रोटो–फाँसीवादी’ प्रवृत्ति देखाइसकेका थिए । यति हुँदाहुँदै पनि कुन मुखले ‘मार्क्सवादी’ हरू एउटा वैकल्पिक पार्टीलाई मत दिनुभन्दा यथास्थितिमा रहनु नै बेस थियो भन्न सक्छन् ?

नेपाली वामपन्थीको यो अक्षमतामाथि उनीहरूले जनतालाई बदनाम गरेर झन् नुनचुक थपिरहेका छन् । जनताले जे गर्छन्, तपाईंलाई घिन लाग्छ । जनता जेका लागि उभिन्छन्, तपाईंलाई नफरत हुन्छ । मौका पाउनेबित्तिकै तपाईं साधारण मानिसलाई होच्याउनुहुन्छ । तपाईं जनतालाई सचेत बनाउन चाहनु हुन्न, बरु उनीहरू आफैं सचेत होऊन् र नहुनेलाई गाली गर्न पाइयोस् भन्ने चाहनुहुन्छ । तपाईंहरू जनताका लागि हुनुहुन्न, हुन पनि सक्नुहुन्न । तपाईंसँग जनतालाई बुझ्ने क्षमता छैन, उनीहरूसम्म पुग्ने आँट छैन, बरु ‘ज्ञानी’ र ‘प्रबुद्ध’ भएको ढोंग मात्र छ ।

तपाईंहरू के गर्नुहुन्छ ? यो प्रश्न सम्पूर्ण नेपाली वामपन्थीलाई छ । एक युवाको हैसियतले मैले के आशा राख्ने ? अहिलेको अवस्थामा त केही बाँकी देखिँदैन । हाम्रो पुस्ताले फेरि शून्यबाट आन्दोलन सुरु गर्नुपर्नेछ— ती जनतामाझ, जसलाई तपाईंहरूले बदनाम गर्नुभयो, जसलाई तपाईंहरूले दक्षिणपन्थतर्फ धकेल्नुभयो र जसले वामपन्थीबाट अक्षमता र विश्वासघातबाहेक केही पाएनन् ।

(पेसाले आईटी इन्जिनियर रेग्मी अध्ययन तथा अनुसन्धानमा रुचि राख्छन्)

जेन-जी अभिमत

शाश्वत

Link copied successfully