पत्रकारिता, सञ्जाल र प्रविधिप्रति दलीय दृष्टि

प्रश्नले नै हो– लोकतन्त्र जोगाउने । यसर्थ पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक मञ्च र सामाजिक सञ्जालको विशाल मञ्चमा कस्ता विमर्शलाई प्रश्रय दिने भन्ने स्पष्ट धारणा दलहरूबाट आउनुपर्छ

फाल्गुन ८, २०८२

लेखनाथ पाण्डे

Party perspective on journalism, networking, and technology

What you should know

(२१ फागुनको निर्वाचनका लागि उम्मेदवारहरू आफ्नो घोषणापत्र लिएर जनतासमक्ष पुगिरहेका छन् । उनीहरू आफ्नो एजेन्डा सुनाइरहेका छन् । यतिबेला कान्तिपुरले भने जनताको एजेन्डा दल र उम्मेदवारलाई सुनाउनका लागि विशेष शृंखला ‘कान्तिपुर विमर्श : नागरिक घोषणापत्र’ सुरु गर्दै छ । तपाईंहरूले पनि खास क्षेत्रमा केन्द्रित रहेर यस शृंखलाका लागि घोषणापत्र लेख्न सक्नु हुनेछ । तथ्य, तथ्यांक र तर्कयुक्त घोषणापत्रलाई हामी स्थान दिनेछौं ।)

चुनावमा होमिएका दलहरूसँग सामान्यतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत मौलिक अधिकारका सवालमा आशंका गर्नु पर्दैन । लोकतन्त्रका आधारभूत मूल्य–मान्यता आत्मसात् गर्ने भएकाले दलहरू निर्वाचनमा संलग्न भएको मानिन्छ । तिनमा लोकतान्त्रिक प्रतिबद्धता र आत्मा हुने विश्वास गरिन्छ ।

विश्वासको जग भने सधैं भरपर्दो हुँदैन । पछिल्ला वर्षहरूमा निर्वाचित शासकबाट नै मौलिक हकमाथि प्रहार भएका छन् । ‘हाउ डिमोक्रेसी डाइज’ पुस्तकमा हार्वर्ड विश्वविद्यालयका प्राध्यापकद्वय ड्यानियल जिब्लाट र स्टेभेन लेभित्स्की लेख्छन्, ‘लोकतन्त्र सत्तापलट वा सैन्य ‘कु’ बाट मात्रै गुम्दैन । चुनावमार्फत उदाएका शासकबाट पनि उत्तिकै जोखिम छ । तिनले कानुनी आडमा तथा प्रणालीभित्रैबाट लोकतान्त्रिक संस्थाहरूमाथि धावा बोल्छन् ।’ अमेरिका, भारत, टर्की तथा रुस यसका जिताजागता उदाहरण हुन् ।

इतिहास कोट्याउने हो भने, प्रथम विश्वयुद्धका क्रममा जर्मनीमाथि भएको अपमान तथा विश्वव्यापी आर्थिक मन्दीको जगमा एडोल्फ हिटलर चुनावमार्फत सत्तामा उदाए । तर, सत्तामा पुगेपश्चात् हिटलरले प्रेस तथा नागरिक अभिव्यक्तिमाथि अंकुश मात्रै लगाएनन्, सारा युरोपलाई युद्धमा घँचेटे । लोकप्रिय नेताको छवि बनाएका उनी कसरी खलनायकका रूपमा निन्दित हुन पुगे ? त्यो बुझ्न विलियम सिरेको ‘राइज एन्ड फल अफ दि थर्ड रिच’ पुस्तक पढ्न सकिन्छ । जर्मनीको जस्तो मजबुत संस्थाहरू पनि हिटलरका महत्त्वाकांक्षा र मनोमानीसामु निरीह बन्न पुग्यो ।

प्रस्तुत आलेखमा २०८२ भदौको युवा प्रदर्शन, त्यसको उत्प्रेरकका रूपमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध, राज्य र नागरिकबीचको सामाजिक सम्झौता (सोसल कन्ट्र्याक्ट) मा प्रविधिको बढ्दो प्रभावमाथि चर्चा गरिनेछ । साथै, दलहरूले आसन्न चुनावका दौरान मिथ्या सामग्री तथा भाष्यको बोझ न्यून गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न कस्तो दृष्टिकोण राख्नुपर्छ र किन भन्ने विषयमा विमर्श गरिनेछ ।

 नवीन शक्ति स्वयं लोकतान्त्रिक मूल्य र डेलिभरीमा चुक्दा भने जसरी तिनको उदय भएको हुन्छ, उसै गतिमा ओरालो लाग्नेछ । उदाहरण खोज्न अन्त जानु पर्दैन, सशस्त्र विद्रोह हुँदै राजनीतिक मूलधारमा मिसिएको पूर्वमाओवादीलाई स्मरण गर्दा पुग्छ ।नयाँप्रति आकर्षण र संशय
भदौमा नवयुवाको प्रदर्शन तथा विध्वंसलगत्तै देशमा के होला, संविधान र व्यवस्था बच्ला कि नबच्ला, राष्ट्रकै भविष्य के होला ? भन्नेजस्ता अन्योल र संशय व्याप्त थियो । यतिबेला हामी चुनावी चाडमा आइपुगेका छौं । फागुन २१ मा निर्धारित निर्वाचन सफल भएसँगै राजनीतिक अन्योल क्रमशः संलिँदै जानेछ । चुनावी माहोल तात्दै गर्दा राज्य तथा व्यवस्थामाथि मडारिएका बादलमा चाँदीको घेरा देखिनु सुखद पक्ष हो । यद्यपि, कतिपय प्रश्न र संशय यथावतै छन् ।

देशमा स्थायित्व, लोकतन्त्र, सुशासन, आर्थिक उन्नति, राज्यमा युवा सहभागितालगायत मुद्दा कसरी सम्बोधन भन्ने प्रश्न यत्तिकै छ । चुनावी परिणाम एवं त्यसपश्चात् बन्ने राजनीतिक समीकरणबाट मात्रै यसको आकलन गर्न सकिन्छ ।

परिस्थिति अझै तरल र संवेदनशील छ । दलीयकरण तथा भ्रष्टाचारका कारण संस्थाहरू कमजोर छन् । स्थापित दल तथा राज्य प्रणालीप्रति जनतामा वितृष्णा छ । तिनका ‘ट्र्याक रेकर्ड’ र ‘डेलिभरी’ बिर्सन लायक छन् । 

प्रियतावादी उभारका लागि यस्तो पृष्ठभूमि उर्वर मैदान बन्छ । सामाजिक सञ्जाल, हाम्रा इच्छा तत्क्षण पूरा गरिदिने डिजिटल प्रविधि एवं सेवाका कारण मानिसमा अधिरताले गाँजेको छ । यस्तो परिस्थितिमा कुनै ‘स्ट्रङम्यान’ (निरंकुश शासक) को उदय तथा संस्थाहरूमाथि नियन्त्रण गर्ने जोखिम पनि उत्तिकै हुन्छ । भलै, नेपालमा यस्ता प्रयत्न नहोला ।

नवयुवाको विद्रोहपश्चात् हुन गइरहेको निर्वाचनले राजनीतिक शक्ति सन्तुलनमै उलटफेर गर्न सक्छ । चुनावमार्फत नवीन शक्ति उदय हुने सम्भावना पनि छ । नयाँ व्यक्ति र शक्तिप्रति एक प्रकारको आकर्षण हुनुका साथै संशय पनि रहन्छ । ती सत्तासीन भएपश्चात् लोकतन्त्रका मूल्य–मान्यता आत्मसात् गर्छन् वा त्यसमाथि धावा बोल्छन् ? यो जहिल्यै पेचिलो प्रश्न बन्ने गर्छ ।

उदीयमान शक्तिहरू सार्वजनिक डेलिभरीमा खरो उत्रिँदा सर्वत्र जयजयकार हुनेछ । यसले बाँकी राजनीतिक शक्तिलाई कि सुध्रिन दबाब दिन्छ कि सक्किन मद्दत गर्छ । तर, नवीन शक्ति स्वयं लोकतान्त्रिक मूल्य र डेलिभरीमा चुक्दा भने जसरी तिनको उदय भएको हुन्छ, उसै गतिमा ओरालो लाग्नेछ । उदाहरण खोज्न अन्त जानु पर्दैन, सशस्त्र विद्रोह हुँदै राजनीतिक मूलधारमा मिसिएको पूर्वमाओवादीलाई स्मरण गर्दा पुग्छ ।

अन्योलग्रस्त वर्तमान र भयग्रस्त भविष्य भएका समाजले इतिहासलाई बारबार सम्झन्छ । हामीकहाँ पनि इतिहासका कैयौं पात्रलाई ऐनमौकामा स्मरण गर्ने गरिन्छ, चाहे ती नायक हुन् या खलनायक, लोकतान्त्रिक हुन् या निरंकुश । कैयौंले आजपर्यन्त जंगबहादुर खोजी गर्नु त्यसैको नतिजा हो । भलै, नेपाल र नेपालीले उहिल्यै जंगबहादुर देखेका, भोगेका हुन् ।

डिजिटल गभर्नेन्सको खाका
दलहरूले चुनावी वाचा र घोषणापत्र सार्वजनिक गरिसके । विगतमा झैं समृद्धि र परिवर्तनका फोस्रा गफ दिएर अब जनता आश्वस्त हुने अवस्था छैन । दलहरूले निश्चित कार्यतालिकासहित सुशासन, नीतिगत रूपान्तरण, रोजगारी सिर्जना तथा संविधानप्रदत्त मौलिक अधिकार कसरी सुनिश्चित गरिन्छ भन्ने विषयमा ‘ब्लुप्रिन्ट’ नै सार्वजनिक गर्नुपर्छ । साथै, नयाँ–पुराना, प्रत्येक दलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहित समग्र लोकतान्त्रिक व्यवस्थाप्रति तिनका दृष्टिकोण र प्रतिबद्धता प्रस्ट पार्नु जरुरी छ ।

नवयुवाको प्रदर्शनको एउटा मुख्य उत्प्रेरक कानुनी प्रक्रियाबिना सामाजिक सञ्जाल हठात् बन्द गर्नु पनि थियो । जसरी सामाजिक सञ्जाल र भर्चुअल मञ्चहरू राजनीतिक हतियार तथा सामाजिक घृणाका लागि दुरुपयोग भएका छन्, यसमा नियमन जरुरी छ । तर, यस्ता प्रयास लोकतान्त्रिक विधिबमोजिम हुनुपर्छ ।

आजका दिनमा सामाजिक सञ्जाल एउटा सार्वजनिक मञ्च बन्न पुगेको छ, जहाँ आममानिसले विचार, दृष्टिकोण र असहमति राख्न सक्छन्, सरोकारवालासम्म आफ्ना आवाज पुर्‍याउन सक्छन् ।  प्रतिस्पर्धी दलहरूले सञ्जालमार्फत डढेलोझैं फैलिने भ्रामक र मिथ्या सूचना नियन्त्रणका सन्दर्भमा पनि कोरा वाचा गरेर पुग्दैन । बरु, आमनागरिक र मतदातालाई भ्रमपूर्ण र मिथ्या सूचनाबाट कसरी जोगाउन सकिन्छ भन्नेबारे एउटा डिजिटल गभर्नेन्सको खाका नै अघि सार्नुपर्छ । दलहरू स्वयंले पनि मित्था सूचनाको उत्पादन, प्रवर्द्धन र खपतविरुद्ध खरो रूपमा उत्रिनुपर्छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उदार लोकतन्त्रको आत्मा हो । आलोचना, असहमति, खबरदारी, असहमति र वैकल्पिक विचारले नै लोकतन्त्र मजबुत र परिस्कृत बन्दै जान्छ । तर, राज्य, शक्ति वा स्वार्थ समूहले अक्सर भिन्न विचार र आलोचना रुचाउँदैनन् । निर्वाचनका दौरान कतिपय दलले फरक पार्टी, उम्मेदवार तथा समर्थकका विचारप्रति सामाजिक सञ्जालमा असहमति मात्रै प्रकट भएका छैनन्, भ्रामक सामग्री र भाष्यसहित ‘ट्रोल’ गर्ने प्रवृत्ति बढ्दो छ ।

समग्रमा निर्वाचन अभियान नै ‘मायावी’ बन्दै छ, जसमा कृत्रिम बौद्धिकता (एआई) सिर्जित सामग्रीले मिथ्या र भ्रम चिर्नेभन्दा बढाउने काम गरेका छन् । जनता र दलीय प्रतिनिधिबीच प्रत्यक्ष संवाद छैन, एकतर्फी सञ्चार देखिन्छ । प्रतिस्पर्धी दल तथा उम्मेदवारबीच पनि बहस र विमर्श कम छ, आरोप–प्रत्यारोप ज्यादा देखिन्छ ।

निर्वाचन आचारसंहिता तथा केही प्रतिस्पर्धी दलले चुनावी अभियानका क्रममा विपक्षीविरुद्ध निसाना साध्न निरुत्साहित गरेका छन् । सामाजिक, आर्थिक तथा राजनीतिक चुनौती, भावी कार्यदिशा, जनसरोकारका विषयजस्ता मुद्दाकेन्द्रित बहस एकदमै फिका देखिन्छ । सञ्जालमा मात्रै होइन, समग्र सार्वजनिक बहस विषाक्त बन्न पुगेको छ । र, यसमा निर्वाचनमा प्रतिस्पर्धी दल तथा नेता–कार्यकर्ता स्वयं संलग्न छन्– कतिपय प्रत्यक्ष भिडेका छन्, कतिपय छद्म पहिचानसहित । यस्ता अभ्यासले सम्बन्धित उम्मेदवार वा दललाई क्षणिक रूपमा फाइदा पुग्ला तर समग्र सूचना इकोसिस्टम, सार्वजनिक बहस र लोकतान्त्रिक प्रतिस्पर्धालाई नै कमजोर बनाउँछ ।

आजका दिनमा सामाजिक सञ्जाल एउटा सार्वजनिक मञ्च बन्न पुगेको छ, जहाँ आममानिसले विचार, दृष्टिकोण र असहमति राख्न सक्छन्, सरोकारवालासम्म आफ्ना आवाज पुर्‍याउन सक्छन् । 

तर, आग्रह र दुराग्रह प्रेरित बहसले आलोचक तथा भिन्न मतलाई विरोधी तथा अपराधीकै कित्तामा राख्ने प्रयत्न भएको देखिन्छ । कैयौं व्यक्तिमाथि साइबर आक्रमणको निसाना साधिएको छ, कतिपय डिजिटल बहिष्करणमा पारेका छन् र कैयौंसँग प्रतिशोध साधिएको छ ।

सञ्जालमा जसका पछुवा (फलोअर्स) अत्यधिक छन्, जससँग साइबर सेना छन्, तिनलाई प्रयोग गरी फरक–मतको तेजोबध गर्ने प्रयास प्रतिस्पर्धी राजनीतिक शक्ति र तिनका नेता–कार्यकर्ताले गरिरहेका छन् । यस्ता प्रवृत्तिले सामाजिक सञ्जाल एउटा प्रभावकारी सार्वजनिक मञ्च बन्नुको सट्टा राजनीतिक वा स्वार्थ समूहको औजार बन्न पुगेको छ ।

समग्रमा सार्वजनिक मञ्चमा स्वच्छ, पूर्वाग्रहरहित र आलोचनात्मक चेतसहितको बहसले प्रश्रय पाएको छैन । बरु, प्रचलित भाष्य (डोमिनेन्ट न्यारेटिभ) र मूलधारका आवाज प्रतिध्वनित भइरहेको छ । यस्तो ‘इकोचेम्बर’ ले सुशासन, समानता, समान पहुँच तथा प्रभावकारी लोकतन्त्रका लागि भाँजो हाल्ने काम गर्छ ।

नेपाल सूचना प्रविधिको अन्वेषक होइन, उपभोक्ता हो । यसर्थ, सूचना प्रविधि नियमनका कतिपय पक्ष हाम्रा पहुँच र सामर्थ्यभन्दा पर छ । तैपनि राज्य र नागरिकबीचको सम्बन्धमा सूचना प्रविधिको भूमिकालाई पुनःपरिभाषित गर्नुपर्ने देखिन्छ ।  प्रविधिको भूमिकामा पुनःपरिभाषा जरुरी
सामाजिक सञ्जाल र समग्र डिजिटल प्रविधि विचार तथा अभिव्यक्ति राख्ने मञ्चका रूपमा मात्रै सीमित छैन । यी सञ्जाल र प्रविधि राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति चुनौती तथा सार्वभौमसत्ताका सवालमा जबरदस्त ‘फ्याक्टर’ का रूपमा उदाएका छन् । सामाजिक सम्झौताको सिद्धान्तअनुसार, राज्य र जनताबीचको करार त्यसरी भएको हुन्छ, जसमा नागरिकले आफ्ना निःसृत अधिकार राज्यलाई सुम्पेर, राज्यबाट शान्ति तथा सुरक्षाको प्रत्याभूति चाहन्छन् । 

अब राज्य र नागरिकबीचको सामाजिक सम्झौतामा सञ्जाल र डिजिटल प्रविधि तेस्रो पक्षका रूपमा सामुन्ने आएको छ । नागरिकले राज्यबाट सुरक्षा लिने अनि त्यसको बदलामा राज्यलाई कर बुझाउने प्रक्रियामा मात्रै होइन, नागरिकका सामाजिक सम्बन्ध, आर्थिक कारोबार र सुरक्षामा पनि प्रविधि घुसेको छ । यसबाट राज्य र नागरिकबीचको सामाजिक करारको परम्परागत अवधारणामा नै आमूल परिवर्तन ल्याएको छ । अन्यथा, सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन, ब्रेक्जिट, ‘अरब स्प्रिङ’, विभिन्न देशका रंगीन क्रान्ति र हाल नेपाललगायत कैयौं मुलुकमा भएका जेन–जी प्रदर्शनमा डिजिटल प्रविधि र सामाजिक सञ्जाल जबरदस्त आयाम बन्ने थिएन ।

नेपाल सूचना प्रविधिको अन्वेषक होइन, उपभोक्ता हो । यसर्थ, सूचना प्रविधि नियमनका कतिपय पक्ष हाम्रा पहुँच र सामर्थ्यभन्दा पर छ । तैपनि राज्य र नागरिकबीचको सम्बन्धमा सूचना प्रविधिको भूमिकालाई पुनःपरिभाषित गर्नुपर्ने देखिन्छ । 

प्रविधिलाई सही र सुरक्षित उपयोग तथा नियमन गर्नुपर्नेछ । रोजगारी सिर्जना, आर्थिक उन्नति, ज्ञान उत्पादन तथा वितरण र राष्ट्रको समग्र रूपान्तरणका लागि प्रविधिको उपयोग र खपत जरुरी छ । यद्यपि यो व्यक्ति, नेता वा दल विशेषले ठेक्का लिने विषय होइन । सम्पूर्ण राजनीतिक शक्ति र साझा राष्ट्रिय संकल्पबाट मात्रै यो सम्भव देखिन्छ ।

दलहरूले चुनावी अभियानमा यस्ता मुद्दाप्रति बहस छेड्नुपर्ने हो । तर, प्रश्नचाहिँ के भने कतै हामी प्रविधिलाई चुनावी रणनीति र दाउपेचका निम्ति मात्रै सीमित गरिरहेका त छैनौं ?

पत्रकारिता र छद्म राजनीति
निर्वाचनका बेला सामाजिक सञ्जाल मात्रै होइन, पत्रकारिता स्वयं ‘पलिटिक्स इन डिस्गाइज’ (छद्म राजनीति) जस्तो देखिन थालेको छ । र, कतिपय मिडियाका चुनावी ‘कभरेज’ दलीय प्रचार  संयन्त्रभन्दा भिन्न देखिन मुस्किल छ, भलै कैयौंमा यो टड्कारो देखिन्न । यद्यपि बफादारी पत्रकारिताको जोखिम के भने तिनले आफू मात्रै होइन, तिनबाट लाभान्वित दल तथा उम्मेदवार स्वयंलाई ‘एक्स्पोज’ गर्न सक्छ ।

निर्वाचनका बेला सामाजिक सञ्जाल मात्रै होइन, पत्रकारिता स्वयं ‘पलिटिक्स इन डिस्गाइज’ (छद्म राजनीति) जस्तो देखिन थालेको छ । र, कतिपय मिडियाका चुनावी ‘कभरेज’ दलीय प्रचार  संयन्त्रभन्दा भिन्न देखिन मुस्किल छ, भलै कैयौंमा यो टड्कारो देखिन्न । पत्रकारितामा यस्तो प्रवृत्ति नयाँ होइन । यसका तन्तु २०३६ ताका जनमतसंग्रहकालीन मिसन पत्रकारिता र त्यसअघि २००७ लगत्तैका गुटगत पत्रकारितासम्म जोडिन्छ । यस्ता अभ्यासले पत्रकारिता र चौथो अंगमाथि खस्कँदो जनविश्वास झन् कमजोर तुल्याउँछ । अब पनि विगतका कमजोरीको सिरानी हालेर उही उपक्रम दोहोर्‍याउने वा पेसागत धर्म र लोकतान्त्रिक मूल्यअनुरूप पत्रकारितालाई रूपान्तरण गर्ने ?

पेसागत ट्रेड युनियनमा जोडिनु श्रमजीवी सञ्चारकर्मीका संविधानप्रदत्त अधिकार हो । तर, हामीकहाँ ट्रेड युनियनका नाममा सर्वत्र दलीयकरण व्याप्त छ । विगतमा सत्तासीन दलबाटै पत्रकारलाई प्रधानमन्त्री निवासमा विचारको शपथ खुवाएर पत्रकार तथा पत्रकारिता पेसाको हुर्मत लिने काम भयो । नयाँ र उदीयमान भनिएका दलहरूका यस्ता संगठन देखिँदैन, तर तिनका पक्षमा वकालत गर्ने सञ्चारमाध्यम र सञ्चारकर्मीको खडेरी देखिन्न । कतिपय छद्म रूपमा क्रियाशील छन्, कैयौं खुला र उग्र रूपमा प्रस्तुत छन्, जुन पत्रकारिताका लागि दुर्भाग्यपूर्ण हो ।

सञ्चारकर्मी वा तिनका संगठन मात्रै होइनन्, राज्यको सञ्चारसँग सम्बन्धित संरचनाहरूमा पनि दलीयकरण व्याप्त छ । प्रेस काउन्सिल नेपाल, पारिश्रमिक निर्धारण आयोग, पत्रकारिता क्षेत्रका सुधार/सुझावका लागि गठित समिति एवं आयोगहरू सबै प्रायः दलीय दलदलमा फसेका छन् । अझ, प्रतिस्पर्धा र मेरिटका जामा लगाएर दलीयकरणलाई संस्थागत गरिएका छन् ।

ट्रेड युनियनका नाममा पत्रकारहरूलाई दलीय दाम्लोमा नबाँध्ने हो भने पत्रकारिता पेसा व्यावसायिक एवं दल, नेता तथा स्वार्थ समूहमुखी बन्नबाट जोगाएर मुद्दाकेन्द्रित बनाउन सहयोग पुग्नेछ । अब पत्रकारिता जगत्लाई सत्ता, संगठन र नेता विशेषका प्रचार औजार बनाउने कि राज्यको चौथो अंगका रूपमा एउटा विशिष्ट, रचनात्मक र आलोचनात्मक सार्वजनिक मञ्चका रूपमा रूपान्तरण गर्ने भन्नेबारेमा पनि दलहरूले प्रस्ट पार्न जरुरी छ ।

पत्रकारिता र लोकतन्त्र परिपूरक

लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एकअर्काका परिपूरक हुन् । एक नहुँदा अर्को बाँच्न सक्तैन । प्रश्नले नै हो, पत्रकारितालाई जीवित राख्ने । प्रश्नले नै हो, लोकतन्त्र जोगाउने । यसर्थ, दलहरूले पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक मञ्च र सामाजिक सञ्जालको विशाल मञ्चमा कस्ता विमर्शलाई प्रश्रय दिने भन्ने स्पष्ट धारणा आउनुपर्छ ।

तर, पत्रकारितालाई राज्यको ‘चौथो अंग’ का रूपमा स्विकार्छौं भनेर भाषण गरेर पुग्दैन । डिजिटल प्रविधि र एआईको दौडमा मिथ्या सूचनासँग लड्दै पत्रकारितालाई कसरी सशक्त अनि प्रभावकारी बनाउन सकिन्छ भन्ने राजनीतिक प्रतिबद्धता सार्वजनिक गर्नु उपर्युक्त हुन्छ । 

पत्रकारिता आर्थिक, राजनीतिक रूपमा स्वतन्त्र अनि सशक्त हुन नसक्दासम्म त्यो राज्य, कर्पोरेट र अन्य स्वार्थ समूहको गोटी बन्ने जोखिम उत्तिकै रहन्छ । तसर्थ, मिडियाको आर्थिक स्वास्थ्यको सन्दर्भमा पनि दलीय दृष्टिकोण प्रस्ट हुनुपर्छ ।

पत्रकारितालाई राज्यको ‘चौथो अंग’ का रूपमा स्विकार्छौं भनेर भाषण गरेर पुग्दैन । डिजिटल प्रविधि र एआईको दौडमा मिथ्या सूचनासँग लड्दै पत्रकारितालाई कसरी सशक्त अनि प्रभावकारी बनाउन सकिन्छ भन्ने राजनीतिक प्रतिबद्धता सार्वजनिक गर्नु उपर्युक्त हुन्छ । सार्वजनिक सूचना तथा दस्ताबेजमा नागरिकको सहज पहुँच, राज्यका निकायबाट सहज, पारदर्शी एवं नियमित रूपमा सूचना प्रवाहलगायत मुद्दामा समेत दलीय दृष्टिकोण प्रस्ट हुनुपर्छ । २०४६ यता भ्रष्टाचार र नीतिगत घोटालासम्बन्धी सयौं सरकारी दस्ताबेज एवं अनुसन्धान प्रतिवेदनहरू आजपर्यन्त गोप्य राखिएका छन् । लोकतान्त्रिक पद्धति र सूचना प्रविधिको युगमा सार्वजनिक दस्ताबेजमा नागरिक र सञ्चारकर्मीको पहुँच झन् सहज हुनुपर्ने हो । 

जनसाधारण एकातर्फ सामाजिक सञ्जालमार्फत अनावश्यक सूचना बोझले थिचिएका छन्, अर्कोतिर तिनका वैयक्तिक एवं सार्वजनिक चासोका सूचना प्राप्त गर्न अनेकौं सास्ती बेहोर्नु परिरहेको छ । राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन केलाउँदा आमनागरिकले सामान्य सूचनाका लागि राज्यका विभिन्न निकायबाट कुन तहको झमेला खेप्नुपरेको छ भन्ने छर्लंग हुन्छ ।

यसर्थ, नागरिकका सूचनाको हकका व्यवस्था संविधानका धारामा मात्रै होइन, राज्य र राज्य सञ्चालन गर्ने राजनीतिक दलहरूको घोषणा, वाचा र व्यवहारमार्फत पनि सुनिश्चित हुनुपर्छ । साथै, लोकतन्त्रमा प्रतिस्पर्धी दल तथा जनताले शान्तिपूर्ण प्रदर्शन, धर्ना, सभा र विरोधका कार्यक्रमलाई अधिकारका रूपमा आत्मसात् गर्न सक्नुपर्छ । दलहरूले गोपनीयता, अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक हकको बर्खिलाप हुने गरी ‘डिजिटल सर्भिलेन्स’ र सेन्सरसिपका सम्बन्धमा पनि दृष्टिकोण स्पष्ट पार्नुपर्छ ।

उपसंहार
निष्कर्षमा, नेपाली राजनीतिक सञ्चार भाषण, घरदैलो, आमसभा एवं परम्परागत सञ्चारमाध्यमबाट सामाजिक सञ्जालमा स्थानान्तरण भएको छ । डिजिटल सञ्जाल एक सशक्त सार्वजनिक मञ्च बनेको छ, जहाँ तथ्य र तर्क मात्रै होइन, भ्रम र मिथ्याको पनि बाढी छ । 

राजनीतिक प्रतिस्पर्धा र संघर्ष– सडक, सदन वा सत्तामा मात्रै होइन, सामाजिक सञ्जालमा पनि थिग्रिन थालेको छ । अत्यधिक सूचना–बोझ र मिथ्या सामग्रीको मिश्रणले सार्वजनिक बहस दिग्भ्रमित र विषाक्त बन्न पुगेको छ, जसले गर्दा तर्क र तथ्य ओझेल पर्ने अनि कथन (न्यारेटिभ) बिक्न थालेको छ । जसले सामाजिक सञ्जाल नियन्त्रण गर्छ, उसले नागरिक चेतना, मनोविज्ञान र विवेकलाई नियन्त्रण गर्ने अवस्था छ । एआई तथा डिपफेक सामग्रीले परम्परागत जवाफदेहिताका आधार भत्काएका छन्, जसकारण दोषीहरू प्रविधिलाई औंल्याएर सजिलै उम्किन सक्ने र निर्दोषहरू अपमानित र पीडित बन्ने अवस्था छ ।

यस्तो परिस्थितिमा दलहरूले सार्वजनिक बहसलाई स्वच्छ, तार्किक र विवेकसम्मत बनाउन, प्रविधि तथा सञ्जाललाई राष्ट्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा उपयोग गर्न तथा यसका चुनौती एवं दुरुपयोग रोक्न फोस्रा भाषण होइन, ठीक कार्ययोजना प्रस्तुत गर्नुपर्छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्ने खाका अघि सार्नुपर्छ ताकि नागरिकले प्रतिस्पर्धी दलहरूको लोकतान्त्रिक प्रतिबद्धता, गति अनि मतिबारे पूर्वानुमान लगाउन सकून् । 

नागरिक घोषणापत्र

लेखनाथ त्रिभुवन विश्वविद्यालयमा पत्रकारिताका उपप्राध्यापक पाण्डे पत्रकारिता, प्रविधि र सञ्चारसम्बन्धी अनुसन्धाता हुन् ।

Link copied successfully