नेपाली पर्यटन उद्योगको आत्मा ‘सञ्जाल विस्तार’ लाई पुनर्जीवित गर्नुपर्ने देखिन्छ । अर्कोतर्फ, नेपालको प्रवेशद्वारका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि पर्यटन विकासका लागि ठूलो चुनौती बनेको छ ।
What you should know
पर्यटन उद्योगका लागि नवीन मार्गचित्र
नेपालको संविधानले पर्यटनलाई राष्ट्रिय विकास, अर्थतन्त्र, सांस्कृतिक संरक्षण र रोजगारी सिर्जनासँग जोडिएको महत्त्वपूर्ण उद्योगका रूपमा स्विकारेको छ ।
नेपालको संविधान २०७२ को राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू अन्तर्गत धारा ५१ (ठ) मा उल्लेख छ– ‘नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा पर्यावरणअनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवम् नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने ।’
यससम्बन्धी कार्यान्वयन प्रमुख कर्तव्यसमेत हो । पर्यटन नेपालका लागि केवल मनोरञ्जन वा सेवा क्षेत्र नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड, रोजगारी सिर्जनाको प्रमुख स्रोत र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने सशक्त माध्यम पनि हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधता, विश्वप्रसिद्ध प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, आध्यात्मिक परम्परा र आतिथ्य संस्कृतिका कारण नेपाल विश्वकै विशिष्ट पर्यटन गन्तव्य बन्ने अपार सम्भावना बोकेको देश हो । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण, ग्रामीण विकास, महिला सशक्तीकरण र युवा रोजगारीमा बहुआयामिक प्रभाव पार्दै महत्त्वपूर्ण भूमिका खेलेको छ ।
यसका लागि अभिभावकीय भूमिकामा रहेको नेपाल पर्यटन बोर्डले अझ सक्रिय, अनुसन्धानमुखी र दूरदर्शी भूमिका निर्वाह गर्नुपर्छ । नेपाललाई केवल सस्तो गन्तव्यका रूपमा होइन, सबै वर्गका पर्यटकका लागि आकर्षक र गुणस्तरीय गन्तव्यका रूपमा ब्रान्डिङ गर्न र निजी क्षेत्रका अनुभवी नेतृत्वको उपयुक्त प्रतिनिधित्व बोर्डको संरचनामा राख्ने गरी बोर्डको संरचना परिमार्जन गर्दा उपयुक्त हुने देखिन्छ । साथै, बोर्डमार्फत तय गरिने कार्यक्रम तथा योजनाहरूका लागि स्पष्ट रणनीति निर्माण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिई नेपाली पर्यटनको भावी रणनीति कोर्नुपर्छ ।
परिवर्तित विश्व पर्यटन बजारमा नेपालले दिगो, सुरक्षित र गुणस्तरीय पर्यटन विकासमार्फत आफ्नो स्थान अझ मजबुत बनाउनुपर्नेछ । हवाई, स्थल तथा डिजिटल सम्पर्क सुदृढीकरण, पूर्वाधार विकास, सुरक्षा मापदण्डको सुधार, अनुसन्धानमा आधारित योजना, निजी क्षेत्रसँग सहकार्य र आधुनिक प्रविधिमैत्री प्रवर्द्धन रणनीतिहरू अपनाए नेपालले साहसिक, सांस्कृतिक, आध्यात्मिक, स्वास्थ्य, खेल पर्यटनका साथै माइस तथा वेडिङ डेस्टिनेसनका रूपमा प्रतिस्पर्धी गन्तव्य बन्ने अवसरबाट उल्लेख्य लाभ लिन सक्छ ।
यस सन्दर्भमा, पर्यटनलाई प्राथमिक राष्ट्रिय एजेन्डाका रूपमा स्वीकार गर्दै नीतिगत स्पष्टता, संस्थागत सुधार, स्थानीय स्रोतको उपयोग र समावेशी विकासलाई केन्द्रमा राख्नु अपरिहार्य छ । आगमनदेखि प्रस्थानसम्मको समग्र पर्यटक अनुभवलाई अविस्मरणीय बनाउँदै नेपाललाई आतिथ्य, विश्वास र जीवनभर सम्झनलायक अनुभवको देशका रूपमा स्थापित गर्नु नै दिगो पर्यटन विकासको मूल लक्ष्य हुनुपर्छ ।
नेपालको पर्यटन विकासमा सबैभन्दा गम्भीर चुनौतीमध्ये कनेक्टिभिटीको समस्या रहिआएको छ । नेपाल आउने पर्यटकलाई हवाई भाडा तुलनात्मक रूपमा अत्यन्त महँगो रहेको छ, जसले अन्तर्राष्ट्रिय पर्यटक, लगानीकर्ता तथा व्यावसायिक यात्रुहरूलाई निरुत्साहित गरिरहेको छ । यही भाडादरमा अन्य मुलुकहरूमा लामो दूरीको यात्रा गर्न सकिन्छ ।
देशको पहिचानचाहिँ सस्तो र भाडादर महँगो भएकै कारण नेपालको पर्यटन छविमा समेत असर परेको निजी क्षेत्रले उठाउँदै आइरहेको विषय छर्लंग छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सीमित विमान संख्या, कमजोर व्यवस्थापन र दीर्घकालीन विस्तार रणनीतिको अभावले अपेक्षित भूमिका निर्वाह गर्न असफल देखिएको जस्ता कारणले पर्यटन उद्योगमा आशातित उपलब्धि हुन सकेको छैन ।
नेपाल एयरलाइन्स सँगसँगै स्थापना भएका थाई एयरलाइन्स र मध्यपूर्वका देशहरूले सञ्चालन गरेका एयरलाइन्सहरूले केही दशकभित्रै विश्वव्यापी सम्पर्क सञ्जाल विस्तार गरी आफ्नो देशको पर्यटन प्रवर्द्धनमा उदाहरणीय सफलता हासिल गरेका छन् । नेपालले पनि राष्ट्रिय सुदृढीकरण, विमान संख्या वृद्धि, व्यावसायिक व्यवस्थापन, अन्तर्राष्ट्रिय साझेदारी र खुला आकाश नीतिको प्रभावकारी कार्यान्वयनमार्फत हवाई सम्पर्क सुधार गर्नु अपरिहार्य छ ।
नेपाली पर्यटन उद्योगको आत्मा ‘सञ्जाल विस्तार’ लाई पुनर्जीवित गर्नुपर्ने देखिन्छ । अर्कोतर्फ, नेपालको प्रवेशद्वारका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि पर्यटन विकासका लागि ठूलो चुनौती बनेको छ । यो विमानस्थलमा हाल आएका पर्यटकको संख्या वृद्धि गरी सञ्चालन गर्न केही चुनौतीसमेत रहेको छ । त्यसैले पोखरा र भैरहवाका विमानस्थलाई केन्द्रमा राखी आउने पर्यटक त्यसतर्फ मोड्न सक्नुपर्छ ।
यी विमानस्थललाई समेत अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सुविधा तथा सेवा प्रदान गरी विकास र विस्तामार्फत सञ्चालन गरिनुपर्छ । हाल केही सुधारका प्रयास भइरहे पनि ती अत्यन्तै सुस्त, अपूरा र अपर्याप्त देखिन्छन् । साथै सहज अध्यागमन प्रक्रिया, आधुनिक प्रतीक्षालय, स्पष्ट सूचना प्रणाली र यात्रुमैत्री सेवाको अभावले नेपालमा आगमनको पहिलो अनुभव नै कमजोर बनाइरहेको छ । यसले समग्र पर्यटन छविमा नकारात्मक प्रभाव पार्छ । त्यसैले विमानस्थल सुधार कार्यलाई उच्च प्राथमिकतामा राखी तीव्र गतिमा सम्पन्न गर्नुपर्ने टड्कारो आवश्यकता छ ।
वास्तवमै पर्यटकहरूले नेपाल प्रवेश गर्ने प्रथमबिन्दुमै पाउने अनुभव राम्रो भएन भने पर्यटकको समग्रतामा नेपाल यात्रा सुखद रहँदैन । हाम्रा सीमा नाकाको व्यवस्थापन र अध्यागमन प्रक्रियामा सुधार नहुनु पनि पर्यटनको ठूलो अवरोध देखिन्छ । भारत र चीनजस्ता छिमेकी मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूले सीमामा अनावश्यक झन्झट, ढिलासुस्ती र असहज प्रक्रियाको सामना गर्नुपरेको विषयलाई उच्च प्राथमिकतामा राखी सहज, सरल तथा छिटो अध्यागमन प्रक्रिया, डिजिटल प्रणालीमार्फत स्मार्ट चेक–इन आदिको प्रयोगले नेपाललाई पर्यटकमैत्री गन्तव्यका रूपमा स्थापित गर्न सक्छ । त्यसका लागि, अध्यागमन कर्मचारी तथा प्रशासनिक संयन्त्रलाई आतिथ्य उद्योगको भावना, व्यावसायिकता र सद्भावपूर्वक पर्यटक स्वागत गर्ने तालिम दिनु अनिवार्य छ ।
साथै, पर्यटन प्रवर्द्धनमा सडक सञ्जालको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । हाल नेपालका धेरै राजमार्ग तथा पर्यटकीय गन्तव्यतर्फ जाने सडक परियोजना वर्षौंसम्म अधुरै छन् । ढिलो निर्माण, कमजोर योजना र अनुगमनको अभावका कारण यात्राको समय अत्यधिक बढेको छ । यसले धूलो, प्रदूषण, असुविधा र जोखिम मात्रै बढाएको छैन, नेपालमा निरन्तर आउने पर्यटकले समेत धिमा गतिमा भएको कार्यले अचम्भित पारेको विषय पर्यटन उद्योगमा उठ्ने गरेको छ, जुन राम्रो पक्ष होइन । यसले पर्यटकहरूमा झन्झट, असन्तोष र नकारात्मकता सिर्जना गरिरहेको छ, जुन पर्यटन उद्योगको समग्र विकासको लागि बाधक हो ।
यसर्थ, सडक परियोजनाहरूलाई विशेष प्राथमिकतामा राखी निश्चित समयसीमाभित्र युद्धस्तरमा काम सम्पन्न गर्नुपर्ने गरी कार्यान्वयन होस् भन्ने चाहना, कामना र माग छ । नीतिगत रूपमा हेर्दा नेपालको पर्यटन प्रवर्द्धन प्रयास प्रभावकारी, सन्तुलित र दीर्घकालीन रणनीतिमा आधारित हुन सकेको छैन । यसको प्रमुख कारक राजनीतिक नेतृत्वको निरन्तर परिवर्तन हो ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमै समेत नेपालको पर्यटन सम्भावनाको पर्याप्त प्रचारप्रसार हुन नसक्नु, पर्यटन पूर्वाधार विस्तार नहुनु र मुख्यतः काठमाडौंलगायत केही सहरी क्षेत्रमा मात्रै सीमित भएकाले नेपाली पर्यटन गोल्डेन ट्रयांगलभन्दा बाहिर विस्तार हुन सकेन । पर्यटन सम्भावना बोकेका ग्रामीण तथा नयाँ गन्तव्यहरूमा लगानी आकर्षित गर्न प्रोत्साहनमुखी नीति नभएसम्म देशको समग्र विकासको ढोका खोल्न सकिन्न । विशेषगरी माग र पूर्तिको अध्ययन नगरी नीति नियम बनाई लाइसेन्स वितरण हुँदा धेरै होटलहरू खाली रहने अवस्था सिर्जना भएको छ भने आवश्यक स्थानमा स्तरीय होटल/रिसोर्टहरूको विस्तार हुन सकेको छैन ।
यसैगरी सिजनमा मात्रै व्यवसाय हुने नेपाली पर्यटन बजारलाई वर्षैभरि चलायमान गर्नसमेत नीतिगत, संरचनागत तथा प्रणालीगत सुधार ल्याई थप प्रडक्ट, गन्तव्य र सेवाको विविधीकरण गरिनुपर्नेछ । यसका लागि सरकारले अनुसन्धानमा आधारित योजना तय गरी केही समयका लागि यस उद्योगमा सकारात्मक विभेदको सिद्धान्तलाई बढावा दिनु उपयुक्त हुने देखिन्छ ।
सुरक्षा आमचासो र सरोकारको विषय हो । पर्यटन उद्योगका लागि समेत यो अति नै महत्त्वपूर्ण पाटो छ । विशेषगरी नेपाल आन्तरिक हवाई सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरबाट चिन्ता व्यक्त भइरहेका छन् भने पदयात्रा, सडक यात्रा, बसोबास, खाद्य सुरक्षा, स्वास्थ्य तथा सरसफाइ मापदण्डको निरन्तर नियमन गरी पर्यटक आकर्षणका लागि नागरिकस्तरमै सचेतना अभिवृद्धि गरिने कार्यक्रम सञ्चालन गरिनुपर्छ । यसका लागि कडा अनुगमन, स्पष्ट मापदण्ड र प्रभावकारी कार्यान्वयन आवश्यक पूर्वसर्तहरू हुन् । पर्यटनको लाभ र गरिमालाई राष्ट्रका बहुआयामिक क्षेत्रसँग जोडी यसको प्रत्यक्ष सम्बन्ध स्थानीय अर्थतन्त्रसँग गाँस्न विशेष नीति अख्तियार गरिनुपर्ने देखिन्छ ।
स्थानीय स्रोत र सीपको प्रवर्द्धन नै दिगो पर्यटनको आधार भएकाले स्थानीय कृषि उत्पादन, हस्तकला, घरेलु उद्योग, महिला उद्यमशीलता र रोजगारी सिर्जनासँग पर्यटनलाई जोड्दै स्थानीय अपनत्वको विकास गर्नुपर्ने विषयलाई प्रत्याभूति हुने तवरमा देशैभर लागू गर्नुपर्छ । पर्यटकलाई स्थानीय उत्पादन र सेवामार्फत नेपालको मौलिक पहिचान अनुभव गराउने हो भने आर्थिक पक्षसमेत पनि बलियो हुन्छ भने यसको प्रत्यक्ष प्रभाव देश विकास र सामाजिक रूपान्तरणमा समेत पुग्ने देखिन्छ ।
समग्रमा भन्नुपर्दा, पर्यटकको आगमनदेखि प्रस्थानसम्मको समग्र अनुभव नै नेपालको पर्यटनको वास्तविक पहिचान हो । नेपाली आतिथ्यमा अतिथिदेवो भवः र रैथाने संस्कृतिको झल्को देखिनुपर्छ । यसबाट मात्रै अनुभवमा आधारित पर्यटन बजारको विस्तार गर्न सकिने स्पष्ट छ । पर्यटकहरूले नेपाललाई जसरी अनुभव गर्छन् र जीवनभर सम्झन लायक स्मृति लिएर फर्किन्छन्, तब मात्रै पर्यटन स्वतः प्रभावकारी बन्छ ।
तसर्थ, पर्यटनलाई केवल आर्थिक गतिविधि नभई राष्ट्रिय पहिचान, सांस्कृतिक गौरव, वातावरणीय सन्तुलन र समावेशी समृद्धिको साधनका रूपमा राखी नीतिगत स्पष्टता, संस्थागत सुधार र प्रभावकारी कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्नुपर्छ । यसका लागि पर्यटन उद्योगलाई व्यवहारमै प्राथमिकता दिनुपर्छ ।
-(२१ फागुनको निर्वाचनका लागि उम्मेदवारहरू आफ्नो घोषणापत्र लिएर जनतासमक्ष पुगिरहेका छन् । उनीहरू आफ्नो एजेन्डा सुनाइरहेका छन् । यतिबेला कान्तिपुरले भने जनताको एजेन्डा दल र उम्मेदवारलाई सुनाउनका लागि विशेष शृंखला ‘कान्तिपुर विमर्शः घोषणापत्र’ सुरु गर्दै छ । तपाईंहरूले पनि खास क्षेत्रमा केन्द्रित रहेर यस शृंखलाका लागि घोषणापत्र लेख्न सक्नुहुनेछ । तथ्य, तथ्यांक र तर्कयुक्त घोषणापत्रलाई हामी स्थान दिनेछौँ ।)
