नेपालमा फस्टाइरहेको पत्रकारिता तीन लाइन अथवा केही हरफमा सीमित छ । फेसबुक स्टाटसलाई जस्ताको त्यस्तै कपी गरेर समाचार बनाइन्छ । राम्रो र गहन समाचार तयार गर्नेभन्दा पनि ब्रेकिङ स्टोरीको हकमा यो ठिकै पनि होला । तर, पाठकलाई कुनै घटनाको जानकारीले मात्रै पुग्दैन । हामीले घटनाभन्दा पनि स्टोरीमा जोड दिनुपर्छ । स्टोरीमा मानव संवेदना, सन्दर्भ, विशेषज्ञको भनाइ, फिल्ड रिपोर्टिङ, नट ग्राफ आवश्यक पर्छ ।
What you should know
देशका राजनीतिक, संवैधानिक, औद्योगिक र सामाजिक संरचनाजस्तै मिडिया क्षेत्रमा पनि गहिरो समीक्षा, आत्मसमीक्षा र परिमार्जनको आवश्यकता छ । ‘मिस्इन्फर्मेसन’ र ‘डिस्इन्फर्मेसन’ को बाढीले विश्वसनीय, जिम्मेवार र जवाफदेही पत्रकारिताको संवेदनशील भूमिका झनै टड्कारो बनेको छ । यही सन्दर्भमा आलोचना, समालोचना, समीक्षा, सुझावलाई विशेष स्थान दिन कान्तिपुरले ‘मिडिया विमर्श’ शृंखला आरम्भ गरेको छ । वस्तुनिष्ठ र जिम्मेवार बहसमा सरोकारवाला तथा विज्ञहरूको सहभागिताका लागि हामी प्रतीक्षारत छौं।
१३ वर्ष अगाडिको कुरा हो । म ‘कान्तिपुर’ मा टेलिभिजनमा रिपोर्टरका रूपमा काम गर्थें । रिपोर्टिङ संयोजकको अनुरोधमा मैले त्यो टेलिभिजनको मल्टिमिडिया रोडम्याप बनाएको थिएँ । केही दिन लगाएर बनाएको त्यो रोडम्यापमा डिजिटल क्रान्तिमा कसरी पाठकहरूसँग सम्बन्ध स्थापना गर्न सकिन्छ, कसरी समाचारलाई मल्टिमिडियामार्फत सम्प्रेषण गर्न सकिन्छ, यसका चुनौती, चाल्नुपर्ने आवश्यक कदम र सुझावहरू थिए । तर, त्यसमा थप छलफल भएन, थप कुराकानी भएन । त्यतिबेला अहिलेजस्तो इन्टरनेट सर्वसुलभ पनि नभएकाले होला, व्यवस्थापनले आँट गरेन । टेलिभिजनमै दर्शक थिए, यता डिजिटल क्रान्ति पनि भइरहेको थियो ।
१३ वर्षपछि अहिले हामी सबैलाई डिजिटल मिडियामा भएको क्रान्तिले व्यापक प्रभाव पारेको छ– पत्रकारिताको पहुँचलाई कसरी नयाँ पाठक, दर्शक र श्रोतासम्म पुर्याउने ? डिजिटल क्रान्तिले हामीलाई यो बाटोमा दौडिन बाध्य पनि बनाएको छ । हामी अहिल्यै डायनासोर बन्न चाहँदैनौं । तर, सञ्चारमाध्यमबीच प्रतिस्पर्धा क्लिक्स र हिट्समा छ ।
सही समाचारभन्दा पनि छिटो समाचार कसले पस्कने भन्नेमा अहिलेको प्रतिस्पर्धा छ । तर, प्रतिस्पर्धा कसरी पत्रकारितालाई विश्वसनीय बनाउने, कसरी दिगो बनाउने र कसरी प्रभावकारी बनाउने भन्नेमा हुनुपर्ने हो । पत्रकारिता स्वतन्त्र, जिम्मेवारपूर्ण र तथ्यपरक हुनुपर्छ । आवाजविहीनको आवाज बन्दै सत्तामा रहेकाहरूको ‘वाचडग’ को भूमिका यसले निभाउनुपर्छ । डिजिटल मिडियाले ल्याएको क्रान्तिमा चुनौतीका साथै सम्भावना पनि थुप्रै छन् । यो लेख यसमै केन्द्रित रहनेछ ।
सामाजिक सञ्जालले नेपाली आन्दोलनहरूलाई पार्दै गरेको प्रभाव
२० वर्षअघिको जनआन्दोलन र अहिलेको जेन–जी आन्दोलनको तुलना गर्दा रिपोर्टिङको फरक अनुभव छ । ०६२/६३ को जनआन्दोलन लोकतन्त्रका लागि थियो । सात राजनीतिक दल र माओवादीले राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध आन्दोलनको नेतृत्व गरे र आन्दोलनलाई परिचालन गरेका थिए । ०६२/६३ मा जुलुस, पर्चा, मोबाइल फोन, एसएमएसबाट आन्दोलन परिचालित थियो । १९ दिन चलेको आन्दोलनमा १९ जनाको ज्यान गएको थियो । पत्रिका, एफएम रेडियो र टेलिभिजनले यसको समाचार प्रभावकारी रूपमा सम्प्रेषण गरेका थिए । धेरैले पढ्थे र सुन्थे पनि ।
जेन–जी आन्दोलन नेतृत्वविहीन थियो । टिकटक, डिस्कर्ड, एक्स र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत विद्यार्थी र युवाहरू सञ्चालित थिए ।
राजनीतिक दलका नेताका छोराछोरीको भव्य जीवनशैलीविरुद्ध सामाजिक सञ्जालमा भिडियोहरू ‘नेपो बेबी’ का नाममा ट्रेन्डिङमा थियो । जेन–जीको प्रदर्शनको आह्वान सामाजिक सञ्जाल डिस्कोर्डबाटै भयो । आन्दोलनका मुख्य जानकारी र तयारी पनि सामाजिक सञ्जालमार्फत नै भएको देखिन्छ । पहिलो दिन १९ युवाहरूको छाती, टाउको र शरीरका अन्य भागमा गोली लागेर मृत्यु भएका भिडियोहरू सबैको हातहातमा मोबाइलमार्फत केहीबेरमै पुगे ।
यो पटकको आन्दोलनमा टिकटक, फेसबुक, इन्स्टा, ह्यासट्याग, लाइभ स्ट्रिमिङ र अनलाइन भिडियोहरू हाबी भए । प्रदर्शनकारीहरू आन्दोलनको प्रचारप्रसार गर्न आफ्नै मोबाइल र सामाजिक प्लेटफर्मको भर परेको देखिन्थ्यो । यो आन्दोलनमा ७६ जनाको ज्यान गयो । ३ हजारभन्दा बढी घाइते भए । २३ सयभन्दा बढी सरकारी तथा निजी भवनमा तोडफोड भयो । स्थापित राजनीतिक नेतृत्वप्रतिको अविश्वास आन्दोलनमा देख्न सकिन्थ्यो ।
०६२/६३ को जनआन्दोलन लोकतन्त्रका लागि थियो । तर, अहिलेको आन्दोलन भने भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध लक्षित थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भदौ २१ गते ललितपुरको हरिसिद्धिमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएर हिँडेपछि जनमानसमा आक्रोश बढेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटनालाई सामान्य भनी दिएको टिप्पणीले अझ आक्रोश थपेको थियो ।
०६२/६३ को जनआन्दोलनमा सञ्चारमाध्यमलाई तत्कालीन शाही सरकारले ‘आठौं दल’ को बिल्ला भिराएको थियो । १९ दिनको आन्दोलनको रिपोर्टिङ गर्दा त्यसबेला पनि गोली चलेको थियो, पत्रकारहरू घाइते भएका थिए, आन्दोलनकारीको ज्यान गएको थियो । तर, प्रेसका गाडी निर्बाध रूपमा चल्न र आवातजावत गर्न दिइएको थियो ।
विशेष गरी कीर्तिपुरमा समाचार संकलन गर्न जाँदा त्यहाँका बासिन्दाले पानी दिएर पत्रकारको स्वागत गर्थे । मानवअधिकारवादी संस्थाहरू निर्बाध रूपमा पर्यवेक्षण गरिरहेका थिए । तर, अहिले त्यस्तो रहेन । यसबारेमा आन्दोलनरत पक्षले गम्भीरतापूर्वक लिनुपर्छ ।
जेन–जीको यो आन्दोलनको रिपोर्टिङ गर्न आफैं पनि फिल्डमा रहँदा त्यहाँ तेर्स्याइएका मोबाइलबाट थाहा हुन्थ्यो– सूचना सम्प्रेषण गर्न सबै जना नागरिक पत्रकार भइरहेका छन् । हामीले सञ्चारमाध्यम पठाएर, सम्पादन भएर र सम्प्रेषण हुनुभन्दा पहिले नै त्यहाँबाट उनीहरूले लाइभस्ट्रिम गरिरहेका हुन्थे । तर, फरक यत्ति थियो– सञ्चारमाध्यममा तथ्य जाँच गरिएका समाचार सामग्री थिए, यता तथ्य जाँच नभएका र अपुष्ट सामग्री पनि भाइरल भइरहेका थिए । यस्ता भ्रामक र गलत सामग्रीमा पूर्वप्रधानमन्त्रीकी श्रीमतीको मृत्युदेखि बहालवाला मन्त्रीमाथि आक्रमणलगायतका विषय थिए ।
अरू आन्दोलन–प्रदर्शनका तुलनामा जेन–जी आन्दोलनको समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारलाई असहज थियो । आन्दोलनको पहिलो दिन ६ जना पत्रकार घाइते भए । पहिलो दिन भदौ २३ को राति १० बजेसम्म नयाँ बानेश्वर क्षेत्रमा हिँडडुल गर्न सक्ने वातावरण थिएन । हामीले त्यहाँबाट लाइभ गर्दा प्रहरी र आन्दोलनकारीको राति अबेरसम्मै पटक–पटक झडप भएको देखिन्थ्यो ।
दोस्रो दिन प्रेसका गाडीहरू चल्न सक्ने अवस्था थिएन । ‘कान्तिपुर मिडिया ग्रुप’ सहितका केही समाचार संस्थालाई छानीछानी आगजनी र तोडफोडको निसाना बनाइयो । प्रेसको स्टिकर रहेको गाडी चल्न सक्ने अवस्था थिएन । धेरै पत्रकारले आफू कार्यरत संस्थाको परिचयपत्र लुकाएर रिपोर्टिङ गर्नुपर्यो । फिल्डमा खटिएका पत्रकारलाई आन्दोलनकारीले अनावश्यक प्रश्न गरिरहेका थिए । कुनै पनि घटनाको समाचार सम्प्रेषण गर्न प्रेसलाई निर्बाध रूपमा हिँड्न दिइनुपर्ने हो । तर, कतिपय स्थानमा त्यसो भएन । दोस्रो दिनको राति नयाँ बानेश्वरबाट घर जान सक्ने अवस्था नै थिएन । जसलाई जहाँ, जतिबेला, जसरी पनि आक्रमण हुने अवस्था थियो ।
अहिलेको आन्दोलनमा सामाजिक सञ्जालको अधिकतम प्रयोग भएको देखिन्छ । आन्दोलन आह्वान गर्नदेखि प्रधानमन्त्री चयन गर्नसमेत डिजिटल प्लेटफर्म डिस्कर्डबाट सुरु भएको आह्वानले सडक आन्दोलन हुँदै ३० घण्टामै सत्ता परिवर्तन भयो ।
आन्दोलनको मुख्य माध्यम बनेको सामाजिक सञ्जालको प्रयोग र प्रभाव अबका चुनावमा अझ धेरै हुने निश्चितप्रायः छ । भर्खरै अमेरिकाको न्युयोर्कमा सम्पन्न मेयरको चुनाव यसको पछिल्लो उदाहरण हो । न्युयोर्क मेयरमा जोहरान ममदानीको विजयले देखाएको छ– डिजिटल फर्स्ट रणनीतिले सहरी राजनीतिलाई कसरी प्रभावित गर्न सक्छ ? ममदानीले मतदाताहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सामाजिक सञ्जाल प्रयोग गरे । टिकटक, इन्स्टा र एक्सको प्रयोग गरे ।
उनका भिडियोहरू अनौपचारिक, बहुभाषी र दैनिक जीवनमा केन्द्रित देखिन्थे । उनले आफ्नै व्यक्तिगत सामाजिक सञ्जालमा राखेका सामग्री धेरैले रुचाएका पनि थिए । म्याराथन दौडिँदा भाडा संकटको व्याख्या गर्ने, पसलेहरूसँग कुराकानी गर्ने वा छिमेकीहरूसँग उनीहरूका समस्याबारे छलफल गर्ने तरिकाले उनलाई सबैमाझ परिचित गरायो । पछिल्लो डिजिटल क्रान्तिले प्रयोगकर्ताहरूलाई ब्रान्ड बन्न सहज भएको छ । उनीहरूले पाठकसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सफल भएका छन् ।
पत्रकारिता डिजिटल क्रान्ति र चुनौतीहरू
पत्रकारितामा डिजिटल क्रान्ति भन्नाले हामीले समाचार बनाउने तरिका, समाचार सम्प्रेषण र समाचारको उपभोग गर्ने तरिकामा इन्टरनेट र पछिल्ला समयमा प्रविधिले ल्याएको परिवर्तन नै हो । एक दिनमा छापिने पत्रिकाले समेत अहिले छिनछिनमा समाचार पस्कनुपर्ने भएको छ ।
छापामा शब्द र तस्बिरको प्रयोगबाट मात्रै समाचार सम्प्रेषण गरिन्थ्यो । अहिले अनलाइन आएपछि शब्दसँगै भिडियो, फोटो, डेटा, इन्फोग्राफिक्स, ३६० भिडियो, एनिमेसनको प्रयोग गरेर पनि रिपोर्टिङ गर्न सकिन्छ । भिडियोहरू रिल्समा आएका छन् । ‘न्युयोर्क टाइम्स’ ले मोबाइल एप्समा ‘वाच’ भनेर छुट्टै पेज हालै सार्वजनिक गर्यो । यसले आफ्नो मोबाइल एपलाई पुनः डिजाइन गर्यो, जसले गर्दा पाठकहरूले सहज रूपमा समाचार पढ्न सक्नेछन् । ग्राहकहरूको संख्या बढाउन यसले समाचारबाहेक गैरसमाचारका विषयहरू, जस्तै– खाना कसरी पकाउने, विभिन्न खेलहरूलगायत सामग्री राख्दै आएको छ । यी सामग्री ग्राहकको संख्या बढाउन र साइटमा आएका भिजिटरलाई इन्गेज गर्न सफल देखिन्छन् ।
एकातर्फ सोसल मिडियामा प्रयोगकताहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन् । अक्टोबरको सुरुवातमा विश्वभर ५.६६ अर्ब सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको तथ्यांक छ । जसको अर्थ पृथ्वीमा ३ जनामध्ये २ जनाभन्दा बढीले अब प्रत्येक महिना सामाजिक सञ्जाल प्रयोग गर्छन् ।
एक तथ्यांकअनुसार, नेपालमा १ करोड ७३ लाख १५ हजार फेसबुक प्रयोगकर्ता छन्, जसमा १८ देखि ३४ वर्ष उमेर समूहका ६७ प्रतिशत छन् । अर्कोतर्फ फेसबुक, एक्स र टिकटकमा नागरिक पत्रकार र कन्टेन्ट क्रिएटरको पनि वृद्धि भइरहेको छ । नागरिक पत्रकार भन्नाले सर्वसाधारण हुन्, जसले समाचार संकलन र रिपोर्ट गर्छन् । प्रायः आफ्नो स्मार्टफोन र इन्टरनेट प्रयोग गरेर मूलधारका मिडियाले बेवास्ता गरेका विषयहरूबारे जानकारी दिन्छन् । कन्टेन्ट क्रिएटरहरूले सामाजिक सञ्जालका लागि सामग्री तयार पार्छन् । उनीहरूले प्रस्तुत गर्ने घटनाहरूको ताजा र प्रत्यक्षदर्शी विवरणहरू महत्त्वपूर्ण हुन्छन् । तर, यस्तो अवस्थामा आम पाठकले सामाजिक सञ्जाल र सञ्चार संस्थाबीचको
मात्रै होइन, कन्टेन्ट क्रिएटर र पत्रकारबीचको फरक पनि छुट्याउनुपर्छ । जस्तो– पत्रकार कन्टेन्ट क्रिएटर हो भने कन्टेन्ट क्रिएटर पत्रकार नहुन पनि सक्छ । यो सामान्य ज्ञान आमपाठक, दर्शक तथा श्रोतामा हुनु आवश्यक छ । सञ्चारमाध्यमले निश्चित विधि, प्रक्रिया पूरा गरेर मात्रै समाचार सम्प्रेषण गरिरहेको हुन्छ ।
अहिले पाठकमाझ समाचारभन्दा पनि एल्गोरिदमहरू हाबी भइरहेको छ । एल्गोरिदमले गर्दा हामीकहाँ एकै खालका समाचार आइरहेका हुन्छन् । तपाईंले सामाजिक सञ्जालमा कुनै एक विषयका सामग्री हेर्नुभयो भने यसको एल्गोरिदमले तपाईंलाई त्यो विषयका थप सामग्री दिन थाल्छ ।
एल्गोरिदमहरूले प्रायः उच्च अन्तरक्रिया बढाउने सामग्रीलाई प्राथमिकता दिन्छ, जसले गर्दा सनसनीपूर्ण विषयहरूले महत्त्वपूर्ण समाचारभन्दा बढी हिट्स प्राप्त गर्न सक्छन् । एल्गोरिदमले गलत सूचना सजिलै फैलाउन सक्छ ।
योसँगै एआईले ल्याएको क्रान्तिले भ्रामक सूचनाहरू फैलिने गति पनि बढेको छ । एआईले ल्याएका भ्रामक सूचनालाई अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा लिइएको छ । मान्छेको आवाज र भिडियो मिक्सिङ गरेर निकालिने डिपफेकहरू अहिले चुनौतीपूर्ण छन् ।
एआईको प्रभाव
पत्रकारितमा एआईको प्रभाव बढ्दै गइरहेको छ । यसलाई कसरी नैतिक रूपमा प्रयोग गर्ने भनेर अहिले छलफल जारी छ । विभिन्न खोज अनुसन्धान भइरहेकै छन् । तर, सबैले एआई टुललाई पत्रकारहरूको विशेषज्ञता र निर्णयको विकल्पका रूपमा प्रयोग गरेका छैनन् । एआईको प्रयोगमा मानवीय निरीक्षण हुनुपर्ने, स्थापित पत्रकारिता मापदण्ड र सम्पादन प्रक्रियाहरूको पालना गर्नुपर्छ भन्नेमा उनीहरूको जोड छ । यस्तो काम र यसलाई उत्पादन गर्न प्रयोग गरिने उपकरणहरूबारे पाठकहरूसँग पारदर्शी हुनुपर्छ । यदि हामीले एआईबाट बनाइएका सामग्री पर्याप्त प्रयोग गर्छौं भने स्पष्ट लेबलिङ र व्याख्यामार्फत हाम्रो प्रक्रिया खुलाउनुपर्छ ।
‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ ले जर्मन अखबार ‘सुडुएत्से जेइटुङ’ र १०० भन्दा बढी अन्य मिडिया साझेदारहरूसँग गरेको ‘पानामा पेपर्स’ नाम दिइएको खोजमा १ करोड १५ लाख लिक भएका फाइलहरू नेचुरल ल्याङवेज प्रोसेसिङको प्रयोग गरेर खोज गरेको थियो । यसले पत्रकार र मेसिन लर्निङ वैज्ञानिकहरूबीच नयाँ साझेदारीको उद्देश्य अनुसन्धानात्मक रिपोर्टिङ प्रक्रियालाई नयाँ तरिकाबाट बढाउनु थियो । धेरै पत्रकारहरू प्रविधिप्रति खुला छन् तर यसको सीमाहरूमा शंका गर्छन् ।
‘वासिङ्टन पोस्ट’ ले नोभेम्बर २०२४ मा ‘आस्क द पोस्ट एआई’ नामक एक प्रयोगात्मक जेनेरेटिभ एआई सुरु गरेको छ । यसले सन् २०१६ देखि पत्रिकाद्वारा प्रकाशित समाचार र लेखहरूमा उल्लेख गरिएका कुनै पनि विषयमा उत्तरहरू दिन्छ । नेपाली मिडियाले पनि यस्ता टुल प्रयोग गर्न सक्छन् । तर, त्यसमा थप अनुसन्धान र अभ्यास आवश्यक छ । यसका लागि नेपाली मिडियाले आफ्नो अर्काइभमा काम गर्न सक्छन् ।
बढाउनै पर्छ विश्वसनीयता
सत्य—तथ्य, सन्तुलित र विश्वसनीयता पत्रकारिताको सिद्धान्त हो । तर, अहिलेको अवस्थामा मिडियाप्रति पाठकको विश्वास घटिरहेको अनुसन्धानहरूले देखाएका छन् । सञ्चारमाध्यमको सट्टा पाठकहरूले सामाजिक सञ्जालका पृष्ठलाई विश्वसनीय ठान्न थालेका छन् । यसबारे सम्पादकीय नेतृत्व लिने सम्पादक, प्रकाशक र पत्रकारहरू सबैले सोच्नुपर्ने बेला आएको छ । यो प्रश्न एक समाचार–गृहको मात्रै नभई सबै पत्रकारको सवाल हो । यो नेपालको मात्रै नभई विश्वभरकै परिदृश्य हो ।
अहिले नेपालमा फस्टाइरहेको पत्रकारिता तीन लाइन अथवा केही हरफमा सीमित छ । फेसबुक स्टाटसलाई जस्ताको त्यस्तै कपी गरेर समाचार बनाइन्छ । राम्रो र गहन समाचार तयार गर्नेभन्दा पनि ब्रेकिङ स्टोरीको हकमा यो ठिकै पनि होला । तर, पाठकलाई कुनै घटनाको जानकारीले मात्रै पुग्दैन । हामीले घटनाभन्दा पनि स्टोरीमा जोड दिनुपर्छ । स्टोरीमा मानव संवेदना, सन्दर्भ, विशेषज्ञको भनाइ, फिल्ड रिपोर्टिङ, नट ग्राफ आवश्यक पर्छ ।
हामीले ‘कसैले केही भन्यो’ भन्दैमा त्यसका आधारमा मात्रै समाचार लेख्ने होइन । हामीले ‘उसले भनेको कुरा’ र ‘दिएका जानकारी’ को तथ्य जाँच गर्नुपर्ने हुन्छ । सामान्यतः हामी कसैबारे समाचार लेख्दै छौं भने उसको भनाइ पनि राख्नु पत्रकारिताको धर्म हो । उसको भनाइ फोन, इमेल अथवा भेटेरै लिनु आवश्यक पर्छ ।
मेलै खोज पत्रकारिता गर्ने संस्था ‘हन्ड्रेड रिपोर्ट्स’ का लागि मानव बेचबिखन र त्यसमा राजनीतिक प्रभावका विषयमा समाचार तयार पार्दा सम्पादकले मलाई काठमाडौं बाहिरको जिल्लाको जेलमा रहेका समाचारसँग सम्बन्धित व्यक्तिसँग अन्तर्वार्ता गर्न पठाएका थिए । सबै सञ्चारमाध्यमले यो अभ्यासलाई प्रयोगमा ल्याउन सकिन्छ ।
हाम्रो पत्रकारिता राजनीतिक दल, तिनीहरूका भ्रातृ संगठन, गैरसरकारी संस्था, डोनर, विदेशी नियोगहरूबाट स्वतन्त्र रहनुपर्छ । संस्थामा प्रकाशक र विज्ञापनभन्दा माथि सम्पादकीय स्वतन्त्रता आवश्यक छ । राम्रो समाचार सम्प्रेषण गर्न प्रत्रकार एवं सम्पादकलाई निरन्तर प्रशिक्षण र स्रोतसाधन आवश्यक पर्छ ।
मिडियालाई सधैं र सबैले मन पराउँछन् भन्ने होइन । यो आवाजविहीनको आवाज हुनुपर्छ । मिडियाले लिने स्ट्यान्ड तथ्यमा आधारित हुनुपर्छ ।
पछिल्लो समयमा नेपाल ‘इनभेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क’ (निमजिन) ले पत्रकारहरूलाई खोज पत्रकारितको प्रशिक्षणका साथसाथै पत्रकारितालाई कसरी युवाले बुझिरहेका छन् भनेर विद्यालयका कक्षा–कक्षामा गएर अन्तरक्रियाहरू गरिरहेको छ । सञ्चारमाध्यमले आफूहरूले चाहेका सामग्री दिएनन् भन्ने युवा तथा विद्यार्थीको गुनासो छ ।
उनीहरूको गुनासो जायज पनि छ किनकि हामीले पछिल्लो २० वर्ष तिनै नेताका समाचार बनायौं । हेडलाइनमा तिनै थिए । मुख्य पृष्ठमा तिनै थिए । हामीले तिनैलाई स्पेस दियौं । हरेक पार्टीका लागि बिट रिपोर्टर खटाइए । तर, युवा विद्यार्थीकेन्द्रित रिपोर्टिङ कमै भए । युवाका चाहना, मुद्दा र रोजाइका विषय बुझ्ने रिपोर्टर नै भएनन् ।
त्यसैले उनीहरू सञ्चारमाध्यम पढ्न, हेर्न, सुन्न छाडेर सोसल मिडियामा केन्द्रित भए । मूलधारका सञ्चारमाध्यमभन्दा फेसबुक र टिकटक पेज र त्यहाँका कन्टेन्टमा आकर्षित भएर त्यसैलाई विश्वास गर्न थाले । युवा तथा विद्यार्थीका कुराबाट के बुझिन्छ भने, सञ्चारमाध्यम उनीहरूसँग गाँसिन सक्नुपर्यो । उनीहरूलाई कस्तो कन्टेन्ट मन पर्छ र कसरी ती समाचारहरू भनेको मन पर्छ भन्ने बुझेर मात्रै हामीले सामग्री पस्कनुपर्छ ।
युवा तथा विद्यार्थीका जस्तै गुनासो अर्को वर्ग वा समूहका पाठकको पनि हुन सक्छ । त्यसैले पाठक र पत्रकारिताबीचको दूरी अन्त्य गरेर सञ्चारमाध्यममले आफ्नो विश्वास बढाउनै पर्छ । विश्वसनीयता बढाउन मिडियाहरूले पारदर्शिता र सत्यलाई प्राथमिकता दिनुपर्छ । यसो गर्न सकिए पाठकसँगको विश्वास पुनर्निर्माण हुन्छ ।
समाचार, विचार र सम्पादकीयबीचको स्पष्टता आवश्यक छ । सञ्चारमाध्यमले स्वतन्त्र रूपमा आफूलाई उभ्याउनुपर्छ । ताली एक हातले मात्रै बज्दैन, दुई हात नै चाहिन्छ भनेजस्तै सञ्चारमाध्यम र पाठकबीच विश्वासको वातावरण बनाउन दुवै पक्ष जिम्मेवार हुनुपर्छ । पाठक, श्रोता र दर्शकले मिडियालाई सहयोग गर्नु र सही बाटोमा लाग्न निरन्तर खबरदारी पनि गरिरहनु आवश्यक छ ।
