किन बढ्यो पाठकसँग मिडियाको दूरी ?

मिडियाको वास्तविक पुँजी छापाखाना होइन, टेलिभिजन टावर होइन, महँगो स्टुडियो होइन- विश्वास हो । तर, पछिल्लो एक दशकमा नेपाली मूलधारका मिडियाले पाठकलाई स्पष्ट देखिने गरी गल्ती गरे। तथ्य नजाँची समाचार छापे, अपुष्ट सूचनालाई सनसनीपूर्ण हेडलाइन बनाए, अफवाहलाई ‘विश्वस्त सूत्र’ को आवरण दिए ।

पुस १४, २०८२

उमेश श्रेष्ठ

Why has the distance between the media and the reader increased?

What you should know

(देशका राजनीतिक, संवैधानिक, औद्योगिक र सामाजिक संरचनाजस्तै मिडिया क्षेत्रमा पनि गहिरो समीक्षा, आत्मसमीक्षा र परिमार्जनको आवश्यकता छ । 'मिस्इन्फर्मेसन’ र 'डिस्इन्फर्मेसन’ को बाढीले विश्वसनीय, जिम्मेवार र जवाफदेही पत्रकारिताको संवेदनशील भूमिका झन् धेरै आवश्यक छ । यही सन्दर्भमा आलोचना, समालोचना, समीक्षा, सुझावलाई विशेष स्थान दिन कान्तिपुरले बहस–शृंखला आरम्भ गरेको छ । हामी वस्तुनिष्ठ र जिम्मेवार बहसमा सरोकारवाला तथा विज्ञहरूको सहभागिताका लागि प्रतीक्षारत छौं ।)

६२/६३ को जनआन्दोलनमा मूलधारका नेपाली मिडियालाई ‘आठौं दल’ को संज्ञा दिइएको थियो । सडकमा सात दल थिए, तर तिनको आवाज, रणनीति, वैधता र नैतिक बललाई जनतासम्म पुर्‍याउने काम मिडियाले गरिरहेको थियो । त्यो समय मिडिया केवल सूचनाको वाहक थिएन, राजनीतिक चेतनाको इन्जिन थियो ।

तर, त्यसको झन्डै दुई दशकपछि जब जेन–जी विद्रोह चर्कियो– मिडिया त्यो भूमिकामा देखिएन । बरु इतिहासकै सबैभन्दा ठूलो विरोधाभास देखियो– आन्दोलन भइरहँदा मिडिया आन्दोलनको केन्द्रमा थिएन, किनारामा थियो । रणनीतिहरू ‘डिस्कोर्ड’ र टेलिग्राममा बने, भीड फेसबुक लाइभ र टिकटकमा जुट्यो र प्रधानमन्त्री चयन ‘डिस्कोर्ड’मा भएको मतदानमार्फत तय भएको दाबीले विश्वका मिडियामा हेडलाइन बनायो ।

नेपाली मूलधारका मिडियाले भने ती घटनालाई पछि–पछि टिपोट गरे, त्यो पनि प्रायः शंकाको भावमा । यो केवल प्रविधिको जित थिएन, मिडियाको हार थियो । यो विफलताले एउटा गम्भीर प्रश्न खडा गर्‍यो— किन एउटा पुस्ताले मूलधारका मिडियालाई पूर्ण रूपमा नकार्दै आफ्नो समानान्तर सञ्चार संरचना बनायो ?

पुरानो शक्ति, हराएको प्रभाव

एक समय थियो- देशमा के सोच्ने, के मान्ने, के गलत र के सही भन्ने विषयको ‘अन्तिम निर्क्योल’ मूलधारका मिडियाले गर्थे । बिहानको अखबारले दिनको दिशा तय गर्थ्यो । रेडियोका घण्टैपिच्छेका बुलेटिनले बहसलाई निरन्तरता दिन्थे । साँझको टेलिभिजन–समाचारले अन्तिम छाप छोड्थ्यो । त्यो संरचना अब भत्किसकेको छ ।

आज भीड फेसबुक लाइभतिर छ । आज व्याख्या युट्युबको १५ मिनेटको भिडियोमा छ । आज बहस टिकटकको ३० सेकेन्डको क्लिपमा सीमित छ । आज भरोसा दशकौं यही पेसामा बिताएका कुनै ‘वरिष्ठ सम्पादक’ मा होइन, विदेश बसेर मोबाइलबाट भिडियो बनाउने एउटा ‘इनफ्लुएन्सर’ मा छ । यो परिवर्तन केवल पुस्तागत होइन, संस्थागत असफलताको परिणाम हो ।

यहाँ प्रश्न उठ्छ— मूलधारका मिडियालाई कसले कमजोर बनायो ? सरकार ? प्रविधि ? सामाजिक सञ्जालको एल्गोरिदम ? कि नयाँ पुस्ता ? उत्तर सरल र असहज दुवै छ । यी सबै कारण हुन्, तर सहायक मात्रै । मुख्य दोषी स्वयं मूलधारका मिडिया हुन् । उनीहरूले आफ्नै हातले आफ्नो प्रभाव, नैतिक बल र विश्वसनीयता क्रमशः गुमाउँदै लगे । यो लेख त्यही आत्मघाती यात्राका केही प्रमुख मोडहरू खोतल्ने प्रयास हो ।

विश्वास : मिडियाको हराएको पुँजी

मिडियाको वास्तविक पुँजी छापाखाना होइन, टेलिभिजन टावर होइन, महँगो स्टुडियो होइन— विश्वास हो । तर, पछिल्लो एक दशकमा नेपाली मूलधारका मिडियाले पाठकलाई स्पष्ट देखिने गरी गल्ती गरे । तथ्य नजाँचेर समाचार छापे । अपुष्ट सूचनालाई सनसनीपूर्ण हेडलाइन बनाए । अफवाहलाई ‘विश्वस्त सूत्र’ को आवरण दिए ।

गल्ती हुनु अस्वाभाविक होइन । मानवीय कार्यमा त्रुटि स्वाभाविक पनि हो । तर, गल्तीपछि गरिने व्यवहारले संस्थाको चरित्र देखाउँछ । यहीं नेपाली मिडियाले सबैभन्दा ठूलो चुक गर्‍यो । गल्ती स्वीकार गर्न सकेन । ‘माफ गर्नुहोस्’ भन्न हिचकिचायो । कतै सानो अक्षरमा ‘भूल सुधार’ छापियो, कतै चुपचाप अनलाइनबाट समाचार हटाइयो, कतै त झन् पाठकलाई नै दोषी ठहर्‍याइयो– ‘हामीलाई गलत बुझियो’ भनेर ।

तर, पाठक मूर्ख छैनन् । गल्ती स्वीकार नगर्ने मिडियामा विश्वास हुँदैन भन्ने कुरा कुनै सञ्चार सिद्धान्त होइन, सामान्य मानवीय व्यवहार हो । जहाँ विश्वास घट्छ, त्यहाँ प्रभाव स्वतः हराउँछ । विश्वास निर्माण गर्न वर्षौं लाग्छ, तर त्यसलाई भत्काउन एउटा गल्ती र त्यसपछिको बेइमानी पर्याप्त हुन्छ ।

नेपाली मिडियामा ‘करेक्सन कल्चर’ को गम्भीर अभाव छ । गल्ती स्विकार्न नचाहने मानसिकता, स्वीकारिहाले पनि पारदर्शिता नदेखाउने प्रवृत्ति व्यापक छ । ‘अन्यथा हुन गएकोमा सच्याइएको छ’ जस्ता अस्पष्ट भाषा प्रयोग गरिन्छ । के अन्यथा छापिएको थियो ? के हुनुपर्ने थियो ? यी प्रश्नहरू अनुत्तरित रहन्छन् । अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित मिडियामा भने सुधार एउटा नियमित अभ्यास हो । बेलायतको ‘गार्डियन’, ‘टाइम्स’, अमेरिकाको ‘न्युयोर्क टाइम्स’, ‘वाल स्ट्रिट जर्नल’– यी सबैमा ‘करेक्सन एन्ड क्लारिफिकेसन्स’ दैनिक जस्तै प्रकाशित हुन्छन् ।

‘न्युयोर्क टाइम्स’ को अभ्यास विशेष उल्लेखनीय छ । त्यहाँ सुधारको जिम्मेवारी एक वरिष्ठ सम्पादकलाई दिइएको हुन्छ । प्रारम्भिक चरणमा त्रुटि रिपोर्टहरूको मूल्यांकन हुन्छ । यदि रिपोर्ट विश्वसनीय देखियो भने सम्बन्धित विभागमा पठाइन्छ । त्रुटि पुष्टि भएपछि पहिलो कदम अनलाइनमा लेख सच्याउने र लेखको अन्त्यमा स्पष्ट नोट राख्ने हो । त्यसपछि अखबारको प्रिन्ट संस्करणमा, प्रायः दोस्रो पृष्ठमै, सुधार प्रकाशित हुन्छ ।

नेपालका मिडियामा यस्तो कुनै स्पष्ट प्रणाली छैन । त्रुटि रिपोर्ट कहाँ जान्छ ? कसले हेर्छ ? कसले निर्णय गर्छ ? यी प्रश्नहरूको उत्तर छैन । मानौं हाम्रा मिडियामा त्रुटि नै हुँदैनन् । तर, तथ्यगत गल्तीहरू बारम्बार भइरहेका छन्— राजनीति, स्वास्थ्य, कानुन, अर्थतन्त्र सबै क्षेत्रमा । तर, सुधारका लागि कुनै संस्थागत संयन्त्र छैन ।

विश्वका जिम्मेवार मिडियामा ‘करेक्सन’ (सुधार), ‘क्लारिफिकेसन’ (स्पष्टीकरण) र ‘अपोलोजी’ (माफी) स्पष्ट रूपमा छुट्याइन्छ । सानो तथ्यगत गल्तीका लागि ‘करेक्सन’ हुन्छ । जटिल विषयमा स्पष्टता नभएमा ‘क्लारिफिकेसन’ जारी हुन्छ । गम्भीर पत्रकारिता नैतिकता उल्लंघन भएमा ‘अपोलोजी’ प्रकाशित हुन्छ । नेपालमा भने सकेसम्म थाहा नपाओस् भनेर चुप बस्ने, अनलाइनमा समाचार गायब पार्ने अभ्याससम्म देखिन्छ । जब पाठकलाई थाहा हुन्छ कि मिडियाले गल्ती लुकाउँछ, त्यहीं विश्वासको सम्बन्ध टुट्छ । तर, अझै पनि धेरै सम्पादकमा ‘गल्ती स्विकार्दा विश्वास घट्छ’ भन्ने भ्रम कायम छ । यथार्थमा यसको उल्टो हुन्छ— खुलेर गल्ती स्विकार्दा, त्यसको कारण बताउँदा र सच्याउँदा विश्वास बढ्छ । पाठक इमानदारी चाहन्छन् ।

पाठकसँग बढ्दो दूरी

नेपाली मिडियाको प्रभाव घट्नुको अर्को ठूलो कारण हो– पाठकसँगको दूरी । मूलधारका मिडियाले आफूलाई अझै पनि सर्वज्ञ ठान्न छोडेनन् । पाठकलाई सुन्ने होइन, सुनाउने मानसिकता कायम रह्यो । जब पाठकले आफ्ना अनुभव, प्रश्न र चिन्ता मिडियामा देख्दैनन्, उनीहरू स्वाभाविक रूपमा वैकल्पिक प्लेटफर्म खोज्छन् ।

एक समय छापामा ‘पाठक–पत्र’ छापिन्थ्यो । त्यो पनि अहिले धेरै मिडियाले बन्द गरिसके । केहीले पाठकका नाममा आफैं पत्र लेखेर बिरालो बाँध्ने परम्परा जोगाइरहेका छन् । सञ्चार विद्वान् स्टोन, सिंगल्टेरी र रिचमन्ड (१९९३) ले भनेका छन्, ‘कुनै कुरा प्रकाशन हुनु सञ्चारको आधा प्रक्रिया मात्रै हो । बाँकी आधा प्रक्रिया त्यसबारे प्रतिक्रिया जनाएपछि पूरा हुन्छ । त्यो प्रतिक्रिया लक्षित पाठकबाट आउँछ ।’

अन्तर्क्रियामा ध्यान नदिएकै कारण मिडिया र त्यसमा काम गर्ने पत्रकारहरूको एउटा संसार छ र पाठकहरूको अर्को । यी दुई संसारबीच पुल कमजोर हुँदै गयो । कुनै विशेष समाचार वा विवादमा मिडियाले पाठकसँग प्रत्यक्ष संवाद गरेको, प्रश्नको जवाफ दिएको उदाहरण विरलै पाइन्छ । बरु पुराना 

साप्ताहिक पत्रिकामा ‘पाठकको प्रश्न, सम्पादकको उत्तर’ जस्ता स्तम्भहरूले मिडियालाई मानवीय बनाउँथे । सम्पादकसँग प्रत्यक्ष संवाद जुराउँथ्यो । 

आज मिडियाका आधिकारिक सामाजिक सञ्जाल पेजहरूमा पाठकले प्रश्न गरिरहेका हुन्छन्– यो शीर्षक किन भ्रामक छ ? स्रोत के हो ? किन यस्तो एङ्गल ? तर, ती प्रश्नहरू प्रायः अनुत्तरित रहन्छन् । ‘मोडरेसन’ बिनाका ती प्लेटफर्महरू ‘विषाक्त’ टिप्पणीले भरिएका छन्, जसका कारण पत्रकारहरू त्यतातर्फ ध्यान दिन चाहँदैनन् । तर उता, इन्फ्लुएन्सरहरू कमेन्टको जवाफ दिँदै बस्छन् । यहींबाट संवाद र भरोसाको सम्बन्ध निर्माण हुन्छ । यो समस्या संस्थागत संरचनामा पनि छ । धेरै नेपाली मिडियामा ‘रिडर्स एडिटर’ वा ‘पब्लिक एडिटर’ जस्तो कुनै पद छैन । यस्तो व्यक्तिको काम पाठकको गुनासो सुन्ने, त्यसको छानबिन गर्ने र मिडियाको आन्तरिक प्रक्रियामा सुधार ल्याउने हुन्छ । तर, नेपालमा पाठकको गुनासो सुन्ने कोही छैन, न त्यसको जवाफ दिने ।

इन्फ्लुएन्सरहरूको उदय : मिडियाको खाली ठाउँ

सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरू न पत्रकार हुन्, न सम्पादक, न प्रशिक्षित मिडिया । उनीहरूसँग मूलधारका मिडियाजस्तो लगानी छैन । तर, उनीहरूसँग दुई कुरा छन्– प्रत्यक्षता र अन्तर्क्रिया । उनीहरूको शक्ति उनीहरूको पूर्णताबाट होइन, मिडियाको असफलताबाट जन्मिएको हो । मिडियाले स्पेस दिएको भए, संवाद गरेको भए, उनीहरूको प्रभाव यति ठूलो हुने थिएन ।

र, यो समस्या नेपालमा मात्रै सीमित छैन । ‘रोयटर्स इन्स्टिच्युट’ को २०२५ को डिजिटल न्युज रिपोर्टले देखाउँछ कि सामाजिक सञ्जाल र भिडियो प्लेटफर्मको युगमा परम्परागत समाचार संस्थाहरूको एकाधिकार तोडिँदै गएको छ । दर्शकहरूले स्थापित समाचार संस्था वा पत्रकारभन्दा बढी व्यक्तिगत ‘कन्टेन्ट क्रिएटर’ हरूलाई ध्यान दिन थालेका छन् । युट्युब, टिकटक र इन्स्टाग्राममा ‘परम्परागत मिडिया’ भन्दा ‘व्यक्तित्व’ बढी प्रभावशाली बन्दै गएका छन् ।

यस प्रवृत्तिले राजनीतिज्ञ र शक्तिशाली व्यक्तिहरूलाई परम्परागत पत्रकारिताको छानबिनबाट बच्न सजिलो बनाएको छ । उनीहरू अब सिधै आफू अनुकूलका प्रभावशाली व्यक्तिहरूसम्म पुग्न सक्छन्, जसले कठिन प्रश्न सोध्दैनन् । यसले संस्थागत पत्रकारिताको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।

तर, यहाँ एउटा विडम्बना छ— यदि मूलधारका मिडियाले आफ्ना पत्रकारहरूलाई व्यक्तित्वका रूपमा विकास गर्न दिएको भए, उनीहरूलाई दर्शकसँग प्रत्यक्ष संवाद गर्ने अवसर दिएको भए, यो खाडल सिर्जना नै हुने थिएन । तर, मिडिया संस्थाहरूले पत्रकारहरूलाई ‘ब्रान्ड’ बन्न दिन डराए, किनभने त्यसले संस्थाको शक्ति घटाउला भन्ने डर थियो । परिणाम ? पत्रकारहरूले पनि संस्था छाडेर गए र आफ्नै प्लेटफर्म बनाए ।

बुझ्न गाह्रो समाचार

पाठकसँग दूरीकै अर्को आयाम हो– प्रस्तुति । समाचार बुझ्न सकिने खालका छन् कि छैनन् ? ‘रोयटर्स’ को सोही रिपोर्ट अनुसार, समाचारबाट दिक्क भएर टाढा बस्ने प्रवृत्ति ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ । विश्वभर ४० प्रतिशत मानिसहरू कहिलेकाहीं वा प्रायः समाचारबाट टाढा बस्छन् । मुख्य कारणहरूमा नकारात्मक प्रभाव र अत्यधिक समाचारको थकान छन् ।

तर, ३५ वर्षभन्दा कम उमेरका युवाहरूका लागि एउटा थप समस्या देखिएको छ– समाचार बुझ्न गाह्रो हुनु । जटिल भाषा, अस्पष्ट संरचना र सन्दर्भविहीन प्रस्तुति । यसले मिडियालाई आफ्नो शैली पुनर्विचार गर्न बाध्य पार्नुपर्ने हो, तर नेपाली मिडियामा त्यो बहस देखिँदैन ।

अर्को समस्या छ– सन्दर्भको अभाव । समाचार सधैं त्यो दिनको घटनामा केन्द्रित हुन्छ । तर, त्यो घटना किन महत्त्वपूर्ण छ, यसअघि के भएको थियो, यसले भविष्यमा के असर पार्छ ? यी कुराहरू छुट्छन् । परिणामस्वरूप पाठकले अलग–अलग घटनाको सूची पाउँछन्, तर कुनै कथा वा निरन्तरता पाउँदैनन् ।

पक्षधरता 

नेपाली मिडियाले आफूलाई अझै पनि ‘स्वतन्त्र’ भन्छ । तर, पछिल्लो दशकका कुनै पनि सजग पाठकले एउटा प्रश्न अनिवार्य रूपमा सोध्छ— यो समाचार कसको पक्षमा छ ? यो प्रश्न उठ्नु नै मिडियाका लागि खतरा हो । किनकि जहाँ यस्तो प्रश्न सामान्य बन्छ, त्यहाँ निष्पक्षतामाथिको विश्वास क्षीण हुँदै छ ।

एकै नेताका विषयमा फरक–फरक राष्ट्रिय दैनिकमा पूर्णतः विपरीत एङ्गल देखिनु, तथ्यसमेत फरक हुनु– यसले एउटा स्पष्ट ‘प्याटर्न’ देखाउँछ । समाचारको मूल्य तथ्यले होइन, सम्पादक वा प्रकाशकको राजनीतिक झुकावले निर्धारण गरिरहेको छ ।

मिडियाले अझै पनि पाठकलाई भावनामा बग्ने भीड ठान्छ । तर, पाठकले अब ‘प्याटर्न’ चिन्छ । कुन मिडिया कसको आलोचक हो ? कुन मिडिया कसको रक्षक हो ? कहिले मौन बस्छ ? कहिले चर्को बोल्छ ? पाठकले सबै देख्छ । यहींबाट पाठकको निष्कर्ष आउँछ— ‘यो समाचार होइन, एजेन्डा हो ।’ र, त्यसपछि ऊ वैकल्पिक स्रोततिर लाग्छ ।

सीप विकास

नेपाली मूलधारका मिडियाको एउटा मौन, तर घातक रोग छ— पत्रकारलाई साधन होइन, उपभोग्य वस्तु ठान्ने मानसिकता । पत्रकारिता सीप, अभ्यास र निरन्तर अपडेट माग्ने पेसा हो भन्ने कुरा भाषणमा त सुनिन्छ, तर कार्यान्वयनमा त्यो विचार कहिल्यै पुगेन ।

अधिकांश नेपाली मिडियामा ‘इनहाउस ट्रेनिङ’ भन्ने शब्द छैन । नयाँ पत्रकार भित्रिन्छ । उसले जे–जति बाहिरबाट सिकेर आएको हुन्छ, त्यो नै अन्तिम ज्ञान मानिन्छ । त्यसपछि वर्षौंसम्म उही भाषा, उही फ्रेम, उही हेडलाइन, उही सोच घुमाइन्छ । संसार बदलिँदै जान्छ, तर समाचार लेख्ने तरिका २० वर्षअघिकै रहन्छ । पत्रकार आफैंले सिके भने ठीक, नत्र संस्थालाई कुनै चासो छैन । संस्थाले नसिकाउँदा पनि उत्पादन चाहिँ अत्याधुनिक खोज्छ । यो दक्षताको अभाव होइन, इच्छाशक्तिको अभाव हो । 

मिडिया कम्पनीहरू नाफामूलक हुनु गलत होइन । तर, नाफाको एक प्रतिशत पनि पत्रकारको सीप विकासमा नखर्चनु चाहिँ अपराधजस्तै हो । चम्किला स्टुडियो, ब्रान्डिङ, मञ्च र फोटो सेसनका लागि करोड खर्च हुन्छ । तर, पत्रकारलाई नयाँ टुल, नयाँ विधि, नयाँ सोच सिकाउन ‘बजेट छैन’ भन्ने बहाना तयार हुन्छ । मिडिया मालिकका लागि पत्रकार ज्ञानको स्रोत होइन, खर्च घटाउने लाइन आइटम मात्रै हुनु भएन ।

डाटा जर्नलिज्म, भिजुअल स्टोरीटेलिङ, फ्याक्ट चेकिङ, इन्टरएक्टिभ ग्राफिक्स– यी सबै आधुनिक पत्रकारिताका अनिवार्य सीपहरू हुन् । तर, नेपाली मिडियामा यी सीपहरू भएका पत्रकार औंलामा गन्न सकिन्छन् । कारण सरल छ— कसैले सिकाएन, कसैले सिक्न प्रोत्साहन गरेन ।

सीप नबढेपछि सामग्री कमजोर हुन्छ । कमजोर सामग्रीले प्रश्न उठाउँदैन । प्रश्न नउठाउने सामग्रीले शक्ति जाँच्दैन । शक्ति नजाँच्ने मिडिया सत्ता र पुँजीको लाउडस्पिकर बन्छ । अनि त्यही मिडिया भन्छ— ‘पाठकले हामीलाई छाडे ।’

यसै कारण मिडियाभन्दा बाहिरका ‘कन्टेन्ट क्रिएटर’ हरू अगाडि आए । उनीहरू पत्रकारभन्दा ज्ञानी भएर होइन, मिडियाले गर्नुपर्ने लगानी आफैंले गरेर अगाडि आएका हुन् । एल्गोरिदम बुझ्ने, दर्शकसँग बोल्ने, दृश्यमा कथा भन्न सक्ने : यी सीप पत्रकारिताका शत्रु होइनन्, तर नेपाली मिडियाले तिनलाई कहिल्यै आफ्नै बनाउन चाहेन । पत्रकारको सीप विकासमा लगानी नगर्ने मिडिया, पत्रकारितामा होइन, आफ्नै अवसानमा लगानी गरिरहेको हुन्छ ।

डिजिटल संक्रमणको असफलता

प्रविधि परिवर्तन भइरहेको थियो, पाठकहरू डिजिटल प्लेटफर्ममा सर्दै थिए । नेपाली मिडियाले यो बुझे । तर, उनीहरूको प्रतिक्रिया सतही थियो । छापा सामग्रीलाई अनलाइनमा हाल्ने, त्यही पुरानो ढाँचालाई नयाँ प्लेटफर्ममा पुनरावृत्ति गर्ने– यो डिजिटल संक्रमण होइन, केवल माध्यमको परिवर्तन थियो ।

डिजिटल पत्रकारिता भन्नाले मल्टिमिडिया स्टोरीटेलिङ, इन्टरएक्टिभ ग्राफिक्स, दर्शकसँग प्रत्यक्ष संवाद, डाटा विश्लेषण र व्यक्तिगत अनुभव समावेश गर्नु हो । तर, नेपाली मिडियाले यीमध्ये कुनै पनि गम्भीरताका साथ अपनाएनन् । परिणामस्वरूप उनीहरूको डिजिटल उपस्थिति केवल औपचारिक रह्यो, प्रभावकारी भएन ।

युवा दर्शकले इन्स्टाग्राम, टिकटक र युट्युबमा छोटो, दृश्यात्मक र इन्टरएक्टिभ सामग्री खोज्दै छन् । तर, मूलधारका मिडिया अझै पनि लामो टेक्स्टमा आधारित सामग्री उत्पादन गरिरहेका छन् । यो गलत होइन, तर यो मात्रै पर्याप्त छैन । मिडियाले विविध ढाँचामा सामग्री उत्पादन गर्न सक्नुपर्छ– विभिन्न प्लेटफर्म, विभिन्न दर्शक र विभिन्न शैली ।

आशाको किरण

मूलधारका नेपाली मिडियाले शक्ति गुमाउनुको कारण बाहिर होइन, भित्र छ । विश्वास गुमाउनु, पाठकसँग दूरी बढाउनु, गल्ती स्वीकार नगर्नु र खुला पक्षधरता– यी सबै आत्मघाती निर्णयहरू हुन् । प्रविधि दोषी छैन, नयाँ पुस्ता दोषी छैन । उनीहरूले केवल खाली ठाउँ भरेका हुन् । यदि मूलधारका मिडियाहरू पुनः प्रभावशाली बन्न चाहन्छन् भने सबैभन्दा पहिले आत्मसमीक्षा गर्नुपर्छ । विश्वास पुनर्निर्माण गर्नुपर्छ । पाठकसँग संवाद गर्नुपर्छ । गल्तीमा माफी माग्न सिक्नुपर्छ ।

युवा पत्रकारहरू नयाँ विचार र ऊर्जा लिएर आइरहेका छन् । उनीहरूले डिजिटल ‘टुल्स’ बुझ्छन्, दर्शकसँग संवाद गर्न चाहन्छन्, परम्परागत ढाँचालाई चुनौती दिन तयार छन् । यदि संस्थाहरूले उनीहरूलाई अवसर र स्वतन्त्रता दिन सके, परिवर्तन सम्भव छ ।

किनभने ‘रोयटर्स इन्स्टिच्युट’ कै रिपोर्टले देखाउँछ— अझै पनि शंकाको क्षणमा मानिसहरू विश्वसनीय ‘ब्रान्ड’ नै खोज्छन् । जब अनलाइनमा कुनै शंकास्पद जानकारी प्रमाणीकरण गर्ने कुरा आउँछ, पाठकहरूले अझै पनि स्थापित संस्थाहरूलाई महत्त्व दिन्छन् । 

परिवर्तन सजिलो छैन । यसले संरचनागत सुधार, मानसिकतामा परिवर्तन र दीर्घकालीन लगानी माग्छ । तर, विकल्प के छ ? यथास्थिति कायम राख्ने र बिस्तारै अप्रासंगिक हुने ? नेपाली मिडिया एउटा महत्त्वपूर्ण निर्णयको मोडमा छ । अब उठ्ने र आफूलाई पुनर्परिभाषित गर्ने समय हो ।

प्रश्न यो होइन कि मिडियाको भविष्य छ कि छैन ? प्रश्न यो हो कि नेपाली मूलधारका मिडियाले त्यो भविष्यमा आफ्नो स्थान बनाउन सक्छन् कि सक्दैनन् ? उत्तर उनीहरूको आफ्नै हातमा छ ।

कान्तिपुर : मिडिया विमर्श

उमेश

Link copied successfully