पत्रकारितामा एआई : नैतिक प्रयोगको रूपरेखा

एआई उदयपछि संसारैभर पत्रकारको जागिर संकटमा छ, अमेरिकाबाट प्रकाशन हुने ‘बिजिनेस इन्साइडर’ ले २१ प्रतिशत जागिर कटौती गर्‍यो, सन् २०२३ यता युरोप र अमेरिकी देशमा १० हजारभन्दा बढीले पत्रकारिता संस्थाबाट सधैंका लागि छुट्टी पाए । नेपालमा पनि पत्रकारको जागिरका अवसर संकुचित हुँदै छन् ।

मंसिर २२, २०८२

भानुभक्त आचार्य

AI in Journalism: A Framework for Ethical Use

What you should know

देशका राजनीतिक, संवैधानिक, औद्योगिक र सामाजिक संरचनाजस्तै मिडिया क्षेत्रमा पनि गहिरो समीक्षा, आत्मसमीक्षा र परिमार्जनको आवश्यकता छ । 'मिस्इन्फर्मेसन’ र 'डिस्इन्फर्मेसन’ को बाढीले विश्वसनीय, जिम्मेवार र जवाफदेही पत्रकारिताको संवेदनशील भूमिका झन् धेरै आवश्यक छ । यही सन्दर्भमा आलोचना, समालोचना, समीक्षा, सुझावलाई विशेष स्थान दिन कान्तिपुरले बहस–शृंखला आरम्भ गरेको छ । हामी वस्तुनिष्ठ र जिम्मेवार बहसमा सरोकारवाला तथा विज्ञहरूको सहभागिताका लागि प्रतीक्षारत छौं ।

कृत्रिम बुद्धिमत्ता भन्नाले मानव बुद्धि आवश्यक पर्ने कार्यहरूलाई कम्प्युटर प्रणालीले सम्पन्न गर्न सक्ने क्षमतासँग सम्बन्धित विचार, प्रविधि र सीपहरूको संग्रहलाई बुझ्नुपर्छ । 

सूचना प्रविधिको सूत्रात्मक (एल्गोरिदम) तथा स्वचालित (अटोमेसन) पद्धतिद्वारा पत्रकारिताको कर्मलाई बढी प्रभावकारी बनाउन वा समाचारका उपभोक्तालाई अझै सान्दर्भिक समाचार सामग्रीमा पहुँच पुर्‍याउनका लागि पत्रकार तथा सञ्चार संस्थाहरूले कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्छन् । अचेल हजारौंको संख्यामा विभिन्न स्वभाव र उद्देश्यका ‘जीपीटी सफ्टवेयर’ वा उपकरणहरू प्रयोगमा छन्, जसले पत्रकारिता पेसामा—खासगरी समाचार लेखन, भाषा अनुवाद, पाण्डुलिपि सम्पादन, फोटो उत्पादन, रेखाचित्र निर्माण, तथ्यांक विश्लेषण, संक्षेपीकरण, शीर्षक चयन, क्याप्सन लेखन, समाचार वाचन, कार्यक्रम सञ्चालनलगायतका गतिविधि तत्कालै र सहजै गर्न सक्छन् । 

सन् २०२२ नोभेम्बरमा च्याटजीपीटी सर्वसुलभ रूपमा उपलब्ध भएपछि कृत्रिम बुद्धिमत्ताले पत्रकारितालगायत प्राय: सबै पेसा–व्यवसायमा तरंग सिर्जना गरिरहेको विषय सर्वविदितै छ । एआईले खडा गरिदिएको नयाँ चुनौतीसँग कसरी मुकाबिला गर्ने ? यो विषयमा पत्रकारिताजस्ता परम्परागत मूल्य मान्यतालाई आत्मसात् गर्दै संस्थागत भएका पेसा–व्यवसायहरूले छलफल र बहस जारी राखेका छन् । यो आलेख त्यही सिलसिलाको एउटा हिस्सा हो । 

एआई: आस र त्रास सँगसँगै 

अमेरिकी लेखक ल्याङ्डन विनरले सन् १९८६ मा प्रकाशित आफ्नो पुस्तक ‘द ह्वेल एन्ड द रियाक्टर’ मा ‘टेक्नोलोजिकल सम्नाम्बुलिजम्’ भन्ने शब्दावली प्रयोग गरेका थिए । यसको अर्थ हुन्छ– कुनै पनि नयाँ प्रविधिलाई आँखा चिम्लेर ग्रहण गर्नु । हामी कुनै पनि नयाँ प्रविधिलाई त्यसले दिने तत्कालिक फाइदाहरूका आधारमा थप सोचविचारै नगरी ग्रहण गर्छौं र कालान्तरमा त्यसले सिर्जना गर्ने गम्भीर चुनौतीहरूको सामना गर्छौं । 

पत्रकारिता क्षेत्रमा एआई प्रविधिको अन्धाधुन्ध प्रयोग विनरले भनेजस्तै ‘टेक्नोलोजिकल सम्नाम्बुलिजम्’ कै एउटा स्वरूप हो । यसको कारण हो– सञ्चार संस्थाहरूको बढ्दो सञ्चालन खर्च । एकातिर एउटै समाचार सामग्री बहुमाध्यम (मल्टिमिडिया) मा धेरैजसो प्रयोगकर्तालाई उपयोगी हुने गरी उत्पादन गर्नुपरेको छ । अर्कातिर परम्परागत रूपमा उनीहरूले पाउने विज्ञापनहरूलाई क्रमश: गुगल, फेसबुक, इन्स्टाग्राम जस्ता डिजिटल प्लाटफर्महरूले अपहरण गरिरहेका छन् ।

यसरी घट्दो आम्दानी र बढ्दो खर्चले गर्दा सञ्चार संस्थाका लागि च्याटजीपीटी जस्ता एआई उपकरणहरूलाई आँखा चिम्लेर स्वागत गर्नुपर्ने अवस्था छ । किनभने यिनले कम खर्चमै समाचार संकलन, लेखन, अनुवाद, सम्पादन, बहुमाध्यममा रूपान्तरण र लक्षित उपभोक्तालाई चौबिसै घण्टा समाचार प्रवाह गर्न मद्दत गर्छन् । अब एआईको प्रयोगले पत्रकारिता पेसामा के–कस्तो दूरगामी असर पार्छ ? यसको हिसाबकिताब गर्ने वा त्यसमा घोत्लिने फुर्सद धेरैलाई छैन । 

परिणामस्वरूप जेनेरेटिभ एआईको उदयपछि संसारैभरि पत्रकारको जागिर संकटमा परेको छ । उदाहरणका लागि गत जेठ महिनामा अमेरिकाबाट प्रकाशन हुने ‘बिजिनेस इन्साइडर’ ले २१ प्रतिशत जागिर कटौती गर्‍यो । सन् २०२३ यता युरोप र अमेरिकी देशहरूमा मात्रै १० हजारभन्दा बढीले पत्रकारिता संस्थाबाट सधैंका लागि छुट्टी पाएका छन् ।

नेपालमा समेत अघोषित रूपमा पत्रकारको जागिरका अवसरहरू संकुचित भएका छन् । त्यसैगरी एआई उपकरणहरूको मात्रै भर पर्दा यसले पत्रकारितालाई दुर्घटनामा पार्न सक्ने जोखिम छ । कतिपय अध्ययनले एआई प्रयोगका कारण पत्रकारको क्रियाशीलता र सिर्जनशीलता घट्ने देखाएका छन् । साथै एआई उपकरणहरूमा बढी भर पर्नाले समाज–प्रतिकूल सामग्री प्रकाशन गर्न सक्नेलगायतका समस्या देखिएका छन् । एआई उपकरणहरूले मिथ्या समाचार, गहन झूट अर्थात् ‘डिपफेक’ र सन्दर्भविहीन जानकारीको बाढी नै ल्याएका छन् । गत वर्ष रोयटर्स इन्स्टिच्युटले गरेको एउटा अध्ययनले एआईका कारण विश्वका बहुसंख्यक पाठकहरू समाचारप्रति सशंकित भएको रिपोर्ट प्रकाशन गरेको थियो । 

यी अध्ययनका सन्दर्भले देखाउँछन्– पत्रकारिता पेसामा एआई महत्त्वपूर्ण छ, तर यो चुनौतीरहित विकल्प भने होइन । तर, विद्युत् वा इन्टरनेटजस्तै एआई पनि व्यापक प्रयोजनको प्रविधि भएकाले यसलाई रोकेर, नियन्त्रण गरेर वा पाखा लगाएर पत्रकारितालगायत धेरैजसो पेसा–व्यवसाय अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको छ ।

सन् २०२५ को अन्त्यसम्ममा आइपुग्दा पत्रकारिता क्षेत्र दुईवटा विषयमा सहमत भइसकेको अवस्था छ– पहिलो, एआईको प्रयोगले पत्रकारिताको गतिलाई बढाउन सक्छ, खर्च घटाउन सक्छ तर पूरै पेसालाई नै विस्थापित गर्न सक्दैन । दोस्रो, एआईले सिर्जना गर्न सक्ने नवीन चुनौतीहरूको भयले त्यसलाई रोकेर वा नियन्त्रण गरेर अघि बढ्न सकिन्न । 

विश्वव्यापी प्रयोग र बहस

जेनेरेटिभ एआईको प्रयोग र उपयोगिता थाहा पाउनेबित्तिकै पत्रकारितामा नयाँ प्रयोगहरू भए । उदाहरणका लागि न्युज जीपीटी डट एआई जस्ता अनेक स्वचालित वेबसाइटहरू छन्, जसले ‘मानवीय पूर्वाग्रहरहित समाचार’ भनेर आफूलाई प्रवर्द्धन गरिरहेका छन् । तिनीहरूले गरेका त्रुटिको उत्तरदायित्व लिने कुनै निकाय सतहमा देखिँदैन । विश्वका विभिन्न टेलिभिजनहरूमा एआई समाचारवाचक तथा कार्यक्रम सञ्चालकहरू सिर्जना भए, जसले चौबिसै घण्टा समाचार तथा अन्य कार्यक्रम चलाउन थाले ।

उदाहरणका लागि इन्डोनेसियाको पहिलो एआई न्युज एङ्कर भूमि, भारतको एआई समाचार वाचिका सना, चीनको समाचारवाचिका सिअ जिअमङ, रुसको मौसम संवाददाता नेजाना तुमानोभा आदि । त्यस्तै भारत र पाकिस्तानका टेलिभिजनहरूले त वास्तविक समाचार सञ्चालककै एआई–अवतार सिर्जना गरेर कुन सक्कली प्रस्तोता, कुन प्रतिबिम्ब ? छुट्याउनै नसक्ने बनाइदिए । ‘आजतक’ टीभीकी अञ्जना ओमकश्यप र ‘डिस्कभर पाकिस्तान’ टेलिभिजनका डा. केइजरको एआई–अवतार पत्रकारिताको नैतिक धरातलमा सही प्रयोग हो कि होइन, अझै बहस जारी छ । 

अमेरिकाको न्युयोर्कबाट सञ्चालित ‘सिनेट’ नामको आर्थिक अनलाइनले च्याटजीपीटी सार्वजनिक हुनेबित्तिकै अर्थात् सन् २०२२ नोभेम्बरदेखि नै गुपचुप रूपमा एआई च्याटबोट प्रयोग गरेर समाचार प्रकाशन गरिरह्यो । त्यो घटना सतहमा आयो । त्यसपछि ‘सिनेट’ ले सार्वजनिक रूपमा माफी मात्रै मागेन, एआई–सिर्जित सबै समाचार पुन: सम्पादन गरी च्याटबोट संवाददाता र त्यहाँ कार्यरत अनुभवी पत्रकार, सम्पादकका रूपमा दोहोरो बाइलाइन पनि राखेर समाचार प्रकाशन गर्ने चलन सुरु गर्‍यो ।

साथै, थप पारदर्शिताका लागि हरेक समाचारको अन्त्यमा ‘यो समाचार एआई च्याटबोटले लेखेको हो र यसलाई संस्थाका पत्रकारले राम्ररी सम्पादन गरेपछि मात्रै प्रकाशन गरिएको छ’ भन्ने जानकारी राख्न थालियो । अचेल एआई–मानवको यस्तो सहलेखनको प्रचलनलाई ‘बिजिनेस इन्साइडर’ र ‘फर्च्युन’ म्यागजिनलगायतले अनुसरण गरेका छन् । ‘द न्युयोर्क टाइम्स’ लगायतका सञ्चार संस्थाहरूले एआई–सिर्जित तस्बिर वा रेखाचित्र भनेर क्याप्सन प्रयोग गर्ने गरेका छन् । अमेरिकाकै ‘लस एन्जल्स टाइम्स’ ले ‘एआई विश्लेषण’ भनेर बक्समा समाचार टिप्पणी राख्न थालेको छ । साथै कुनै राजनीतिक विचार वा टिप्पणी छ भने त्यसको सँगै प्रतिवाद टिप्पणी र रेटिङ स्केलसमेत राख्न थालेको छ । 

अहिले संसारका मुख्य समाचार संस्थाहरूले एआई च्याटबोट निर्माण गरेर तथ्यांकमा आधारित जानकारीमूलक समाचार लेख्न लगाउने गरेका छन् । ती च्याटबोटले पाठकलाई खोजेको समाचार उपलब्ध गराउने, सम्बन्धित सञ्चार संस्थाबारे जानकारी दिने, विगतमा प्रकाशित सामग्रीहरूको लिंक वा सारांश उपलब्ध गराउने, पाठकका अन्य जिज्ञासाको संस्थागत रूपमा आधिकारिक जानकारी दिनेलगायत काम गर्छन् ।

उदाहरणका लागि ‘द वासिङ्टन पोस्ट’ को हेलियोग्राफले तथ्यांकमा आधारित छोटा जानकारीहरूबारे समाचार लेख्छ, जस्तै खेलकुद वा निर्वाचन अपडेट गर्छ, भुइँचालो वा आँधीजस्ता प्राकृतिक विपत्तिको समाचार लेख्छ, पुराना जाकारी खोज्न सघाउँछ । तथ्यांक विश्लेषण गर्न सघाउँछ । यसबाहेक बेलायतको ‘फाइनान्सियल टाइम्स’ को ‘आस्क एफटी’, फिलिपिन्सको ‘र्‍याप्लर’ पत्रिकाको ‘राइ’, ‘फोर्ब्स’ म्यागजिनको ‘एडेलेइड च्याट’ आदि पनि प्रयोगमा छन् । यी सामान्य एआई एजेन्ट होइनन्, संस्थाले आफ्नै खर्चमा तयार पारेका च्याटबोट हुन्, जसले अन्य एआई एजेन्टको तुलनामा निकै भरपर्दो काम गर्छन् । 

संसारका मुख्य सञ्चार संस्थाहरूले एआई प्रयोगसम्बन्धी नीति बनाइसकेका छन् र तिनको समयानुकूल परिमार्जनसमेत भइरहेको छ । संसारकै ठूलो समाचार एजेन्सी ‘द एसोसिएटेड प्रेस’ ले च्याटजीपीटी जस्ता एआई च्याटबोट प्रयोग गर्न पाइने, तर त्यहाँबाट आएका हरेक सामग्रीलाई अपुष्ट जानकारीसरह व्यवहार गर्नुपर्ने, हरेक सूचनाको तथ्य–जाँच र सम्पादकीय निगरानी अनिवार्य गर्ने, फोटो–भिडियो–अडियोलाई एआई प्रयोग गरी परिमार्जन गर्न नपाइने, एआई–उत्पादित तस्बिर प्रयोग गर्नुपरे स्पष्ट जानकारी क्याप्सनमा दिनुपर्नेलगायत बुँदाहरू आफ्नो एआई नीतिमा समेटेको छ ।

बीबीसी’ को एआई प्रयोग निर्देशिकामा चार बुँदाहरूमा जोड दिइएको छ— सधैं जनहितका लागि प्रयोग गर्ने, प्रतिभा र सिर्जनशीलतालाई प्राथमिकता दिने, एआई प्रयोग गरेर कुनै सामग्री तयार पारिएको छ भने आफ्ना प्रयोगकर्तासँग सधैं पारदर्शी र खुला हुने, त्रुटि भए संस्थाले तत्कालै जिम्मेवारी लिने । ‘रोयटर्स’ ले एआईलाई समाचार संकलन, सम्पादन र उत्पादनमा सहयोगी उपकरणका रूपमा प्रयोग गर्न सकिने जनाएको छ । एआई–सिर्जित कुनै सामग्री प्रयोग गर्नुपरे पाठकलाई सन्दर्भसहित खुलाउने र कुन तहसम्म एआई उपयोग गरिएको हो, त्यसबारे जानकारी दिने भनिएको छ । 

माथि उल्लिखित संस्थागत नीतिहरूले ‘एआई र पत्रकारितासम्बन्धी पेरिस घोषणा’ ले प्रतिपादन गरेको १० बुँदे मार्गनिर्देशक सिद्धान्तहरू आत्मसात् गरेको देखिन्छ । सन् २०२३ नोभेम्बर १० मा ‘रिपोर्टर्स विदआउट बोर्डर्स’ को अगुवाइमा विश्वका ठूला १६ सञ्चार संस्थाहरूले मिलेर यो घोषणा गरेका थिए । यस घोषणाले ‘प्रविधिको छनोट गर्ने काम नैतिकताद्वारा निर्देशित हुनुपर्छ, सम्पादकीय निर्णयहरूमा मानवीय हस्तक्षेप हुनुपर्छ, सञ्चारमाध्यमले तथ्यपरक र कृत्रिम सामग्रीबीच फरक छुट्याउन मद्दत गर्नुपर्छ तथा सञ्चारमाध्यमले पत्रकारिताको अस्तित्व र व्यावसायिकताका लागि दृढ रूपमा आवाज उठाउनुपर्छ’ भन्ने मूलभूत विषयमा जोड दिएको छ । 

०००

एआई र पत्रकारितासम्बन्धी पेरिस घोषणा-२०२४

१. पत्रकारिताको नैतिकताले सञ्चारमाध्यम र पत्रकारहरूले प्रविधि प्रयोग गर्ने तरिकालाई मार्गनिर्देश गर्दछ ।

२. सञ्चारमाध्यमले मानवीय क्षमतालाई प्राथमिकता दिनुपर्दछ ।

३. पत्रकारितामा प्रयोग हुने एआई प्रणालीलाई प्रयोग गुर्नअघि नै स्वतन्त्र मूल्याङ्कन गर्नुपर्दछ ।

४. सञ्चारमाध्यम आफूले प्रकाशित गर्ने सामग्रीका लागि सधैं जिम्मेवार हुनुपर्दछ ।

५. सञ्चारमाध्यमले एआई प्रयोग गर्दा पारदर्शिता कायम राख्नुपर्दछ ।

६. सञ्चारमाध्यमले समाचार सामग्रीको उत्पत्ति र त्यसलाई पत्तालगाउने क्षमता सुनिश्चित गर्नुपर्दछ । 

७. पत्रकारिताले आधिकारिक र कृत्रिम समाचार सामग्रीबीच स्पष्ट सीमा निर्धारण गर्नुपर्दछ ।

८. एआई–सञ्चालित सामग्रीको वैयक्तिकरण र सिफारिसले सूचनाको विविधता र इमान्दारितालाई जोगाउनु पर्दछ ।

९. पत्रकार, सञ्चारमाध्यम र पत्रकारिता समर्थन समूहहरू एआई सुशासन पद्धतिमा संलग्न हुनुपर्दछ ।

१०. पत्रकारिताले एआई संस्थासागको संलग्नतामा आफ्ना नैतिक र आर्थिक आधारहरू कायम राख्नुपर्छ । (भाषानुवाद : लेखक)

०००

नेपाली पत्रकारितामा एआई प्रयोग

माथि उल्लेख गरिएका एआईको प्रयोगसम्बन्धी विश्वव्यापी गतिविधिका तुलनामा नेपालमा भइरहेका एआई र पत्रकारितासम्बन्धी छलफल, तालिम र अभ्यासहरू निकै अपर्याप्त छन् । यद्यपि वैधानिक तवरले एआई कसरी सदुपयोग र नियमन गर्ने भन्ने विषयमा गत भदौमा ‘राष्ट्रिय एआई नीति–२०८२’ सार्वजनिक गरिएको छ । नेपाली सञ्चारमाध्यमले महत्त्वाकांक्षी भनी चर्चा गरेको यस एआई नीतिको उद्देश्य एआईको नैतिक र सुरक्षित प्रयोग गर्नु, पत्रकारितालगायत विभिन्न क्षेत्रमा डिजिटल रूपान्तरणलाई बढावा दिनु र आर्थिक वृद्धिलाई सहयोग गर्नु हो । यसै नीतिअनुसार, सञ्चार मन्त्रालयले हालै एआई केन्द्र स्थापना गरेको छ । यस नीतिबाहेक एआईको नियमन गर्न अन्य कानुनी वा नैतिक दस्ताबेजहरू बनेका छैनन् । 

नेपाली समाचार कक्षमा एआईको प्रयोग औपचारिकभन्दा अनौपचारिक रूपमा बढिरहेको छ । ‘कान्तिपुर’, ‘अनलाइनखबर’, ‘रातोपाटी’ जस्ता केही समाचार संस्थाले समाचारको अनुवाद, विश्लेषण वा संक्षेपीकरणमा एआईको प्रयोग गरेका छन् । तर, उनीहरूले पनि एआई प्रयोगको घोषित नीति सार्वजनिक गरेका छैनन् । एआई प्रयोग व्यवस्थित गर्नेबारे वर्तमान पत्रकार आचारसंहिता अध्यावधिक नभएकाले धेरैजसो पत्रकार र समाचार संस्थाले आफ्नो मनमौजी गरेका छन् । एआई उपकरणहरूको प्रयोगबारे सार्वजनिक रूपमा पाठकलाई जानकारी दिएका छैनन् । यस्तो प्रवृत्तिले पत्रकारिता पेसामा हुने बेथितिलाई अझ मलजल गर्छ ।

झन्डै एक वर्षयता केही सीमित सञ्चार संस्थाहरूले पत्रकारितामा एआई प्रयोग नीति बनाउने र त्यसलाई सार्वजनिक गर्न थालेका छन् । गत फागुन १ गते ‘नेपाली रेडियो नेटवर्क’ ले विश्व रेडियो दिवसका अवसरमा जारी गरेको ‘एआई नीति’ मा एआईको प्रयोग सही, जिम्मेवारीपूर्वक र विश्वसनीय हुनुपर्ने, गल्तीको जिम्मेवारी प्रयोगकर्ता (व्यक्ति वा संस्था) ले लिनुपर्ने लगायतका विषय समेटिएका छन् । तनहुँबाट सञ्चालित ‘ई–बाराही डटकम’ ले आफ्नो संस्थागत प्रयोजनका लागि गत जेठ १६ गते ‘एआई प्रयोग नीति’ जारी गरेको छ, जसमा के–कस्तो अवस्थामा एआईको प्रयोग कसरी गर्ने भन्ने स्वघोषणा समेटिएको छ । त्यस्तै गत भदौमा अध्यावधिक ‘नेपालन्युज डटकम’ को ‘एआई निर्देशिका’ मा सम्पादकीय सर्वोच्चता, मानव निगरानी, पारदर्शिता, उचित प्रयोगलगायत विषय उल्लेख छन् । 

तर, नेपालमा कुनै पनि सञ्चार संस्थाले एआई–अवतार वा आफ्नै विशिष्टीकृत च्याटबोट बनाउन लगानी गरेका छैनन् । हाम्रा धेरैजसो सञ्चार संस्थाहरू निकै सानो लगानीका छन् । सरकारी पैसामा बाँच्ने मिडियाको हिस्सा ठूलो भएको देशमा एआईमा लगानी गर्ने मिडियाको अभाव स्वाभाविकै हो । एआईले खेल्न सक्ने सम्भावनाहरूलाई लगानीको अभाव, कानुन विहीनता, आचारसंहिताको अभाव आदिले अझै पछि धकेल्ने पक्का छ ।

नैतिक प्रयोगको प्रारम्भिक खाका

नेपालका पत्रकारहरूका लागि जारी आचारसंहिता–२०७३ (पहिलो संशोधन–२०७६) मा ‘नयाँ माध्यम’ भन्ने शब्दको प्रयोग गरिएको भए पनि त्यसले इन्टरनेट र सामाजिक सञ्जाललाई मात्रै बुझाउँछ, एआईलाई समेट्दैन । तसर्थ, ढिला नगरी अहिलेकै ‘पत्रकार आचारसंहिता’ मा एउटा दफा थपेर त्यसअन्तर्गत ‘पेरिस घोषणा’ को मर्मबमोजिम तलका बुँदाहरूलाई समेट्ने कोसिस गरियो भने पत्रकारितामा एआईको प्रयोगलाई नियमन गर्न सकिन्छ । साथै, ‘पत्रकार आचारसंहिता’ को अनुकूल हुने गरी हरेक समाचार संस्थालाई आ–आफ्नै एआई नीतिहरू विकास गरी आफ्नो वेबसाइटमा वा सार्वजनिक रूपमा राख्न लगाउन पनि सकिन्छ ।

पारदर्शिता : एआई प्रयोग भएका समाचार सामग्री (जस्तै: समाचार, लेख, फोटो, रेखाचित्र, भिडियो अवतार आदि) मा स्पष्ट रूपमा ‘फलानो एआईको सहयोगमा तयार पारिएको’ भनेर प्रस्ट उल्लेख गर्ने ताकि समाचारका उपभोक्ता नझुक्किऊन् । उत्पादन गर्दा प्रयोग गरिएका ‘प्रम्प्ट’ हरूलाई निश्चित अवधिसम्म सुरक्षित राख्ने । 

सम्पादकीय स्वतन्त्रता र निगरानी : कुनै पनि एआई–सिर्जित सामग्रीमा पत्रकारको विवेक, सम्पादकीय स्वतन्त्रता र निगरानीलाई अनिवार्य गर्ने । यस्तो हरेक सामग्रीमा तथ्य–जाँच एवम् स्रोतको परीक्षण गर्ने, मानव पत्रकारले त्रुटिरहित भनेर निर्क्यौल गरेपछि मात्रै प्रकाशन, प्रसारण गर्ने । 

तथ्य–प्रमाणीकरण : एआई–सिर्जित सामग्रीलाई प्रारम्भिक सूचनाको रूपमा मात्रै ग्रहण गर्ने । त्यस्तो सामग्रीमा मौलिकताको अभाव, त्रुटि हुन सक्ने वा पूर्वाग्रही व्याख्या हुन सक्ने भएकाले मानव पत्रकारले समाचारको सत्यता पुष्टि गरेर मात्रै प्रकाशन, प्रसारण गर्ने । 

गहन झूट निरुत्साहन गर्ने : वास्तविक मानवको अवतार वा स्वर प्रयोग गर्न बन्देज गर्ने । कुनै पनि व्यक्तिको स्वरूप र स्वरको प्रतिलिपि अधिकार सम्बन्धित व्यक्तिमै निहित रहेको मानिने व्यवस्था गर्ने । 

उत्तरदायित्व : कुनै पनि संस्थाले प्रयोग गरेको एआई–सिर्जित सामग्रीमा भएको त्रुटिको जिम्मेवारी र कानुनी, आर्थिक वा अन्य उत्तरदायित्व सम्बन्धित व्यक्ति वा संस्थाले लिनुपर्ने । 

पत्रकारितालाई प्राथमिकता : प्रविधि जतिसुकै अत्याधुनिक वा चामत्कारिक भए पनि यसको प्रयोग गर्दा पत्रकारिताका शाश्वत मूल्य–मान्यतामा सम्झौता नगर्ने, जस्तै: सत्यको खोजी गर्ने, हानिलाई घटाउने, स्वतन्त्र रूपले काम गर्ने र जवाफदेही तथा पारदर्शी हुने ।

सन्दर्भ : एआईको सहयोगमा उत्पादित सामग्रीलाई विषयवस्तुको सन्दर्भसहित जानकारी दिने । कुन एआई उपकरण प्रयोग गरिएको हो र कुन हदसम्म प्रयोग भएको हो भन्ने जानकारी दिने । 

उपसंहार

पत्रकारिताको ऐतिहासिक विकासक्रमदेखि नै यसले प्रविधिसँग हातेमालो गरेर अघि बढिरहेको छ । अहिले एआईले पत्रकारितामा जतिसुकै त्रास बढाएको भए पनि यसप्रति आस गर्ने ठाउँ अझै बढी छ । त्यसैले संसारका सबै ठूला–साना मिडिया एआईको प्रयोग गर्न उद्दत छन् । अचेल पत्रकारिताका हरेक चरणमा, हरेक सामग्रीमा, हरेक बहसमा एआईले मुख्य प्राथमिकता पाएको छ । 

पत्रकारिताको सबैभन्दा महत्त्वपूर्ण कार्यमध्ये एक हो— शक्ति र सत्तालाई जवाफदेही बनाउनु । यस्तो गहन भूमिका कुनै एआई च्याटबोट वा यन्त्रले निर्वाह गर्न सक्दैन । यसका निमित्त सचेत, निर्भीक र आलोचनात्मक चेत सहितको पत्रकार चाहिन्छ । यद्यपि एआई प्रविधिलाई सावधानीपूर्वक एवम् जिम्मेवारीपूर्ण तवरले प्रयोग गरिएमा यसले पत्रकारिताको गुणस्तर वृद्धिमा अवश्य सघाउनेछ । ‘हाउ जेनेरेटिभ एआई चेन्ज द जब्स अफ जर्नलिस्टस्’ शीर्षक लेखमा बनार्ड मार लेख्छन्, ‘पत्रकारको पेसा सबैभन्दा जोखिममा त छ, तर अझै दुइतिहाइ पाठकहरू मानिसले लेखेका समाचार पढ्न, सुन्न वा हेर्न चाहन्छन् ।’

‘प्यु रिसर्च सेन्टर’ ले गत अप्रिलमा गरेको एउटा अध्ययनले भनेको छ, ‘अधिकांश अमेरिकीहरू एआई–सिर्जित समाचारलाई भन्दा व्यावसायिक पत्रकारहरूको लेखाइलाई बढी विश्वास गर्छन् ।’ भारतमा टेलिभिजनका दर्शकहरूले कृत्रिम एआई अवतारले समाचार वाचन गरेको वा कार्यक्रम चलाएको कुरा यान्त्रिक र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका थिए । यी अध्ययनहरूले सत्य–तथ्य समाचारका लागि पत्रकार र पत्रकारिताको भूमिकालाई पुन: पुष्टि गर्छ । 

एआईले सक्षम पत्रकारलाई अझ सक्षम बनाउन सघाउँछ, तर अल्छी वा कामचोर पत्रकारको जागिर जोगाइदिँदैन । पत्रकारितामा एआई प्रविधिको प्रयोगबारे सचेतना जगाउन, यसको दुरुपयोग निरुत्साहन गर्न र यसलाई सामाजिक उत्तरदायित्वका लागि सहयोगी बनाउन सम्बन्धित सबै सरोकारवालाहरूले आ–आफ्नो तवरबाट तत्कालै पहलकदमी लिनु जरुरी छ । अहिलेसम्म नेपाली पत्रकारका लागि बनेको आचारसंहितामा एआई प्रयोगको नीति समेटिन नसक्नु लाजमर्दो विषय हो । 

विश्वका धेरै समाचार–कक्षहरूमा पत्रकारले एआई प्रविधिको कसरी उपयोग गर्ने भन्नेबारे आचारसंहिता र नियमावली तयार भइसकेको छ । तर, लगभग दस हजार पत्रकार र उत्तिकै सङ्ख्यामा सञ्चार संस्था भएको नेपाल देशका पत्रकार र सरोकारवालाहरू केमा अल्मलिइरहेका छन् ? के हाम्रा लागि एआईको प्रयोग ‘टेक्नोलोजिकल सम्नाम्बुलिजम्’ नै भएको हो ? समीक्षा गरौं । 

भानुभक्त आचार्य आचार्य युनिभर्सिटी अफ अटवामा आमसञ्चार र पत्रकारिता विषय प्राध्यापन गर्छन् ।

Link copied successfully