पत्रकारिताले सबैलाई समान व्यवहार गर्न मिल्छ ?

शक्तिशाली वा उत्पीडकहरूभन्दा द्वन्द्व र उत्पीडनका पीडितहरूलाई बढी ध्यान र स्थान दिनुपर्छ भन्ने निरन्तर तर्क गरेको पाइन्छ, ‘जब एक पक्ष अर्को पक्षको अत्याचारको स्पष्ट सिकार हुन्छ तब कठोर ५०/५० पत्रकारिता मापदण्ड लागू गर्नु बेतुक हुन्छ र पीडितहरूको पक्षमा निष्पक्ष हुनुपर्छ,’ फिस्क भन्छन् 

पुस ३, २०८२

कटक मल्ल

Can journalism treat everyone equally?

What you should know

पत्रकारसँग उत्पीडकलाई पर्दाफास गर्ने राजनीतिज्ञ र कानुन व्यवसायीभन्दा अग्रपंक्तिको शक्ति हुन्छ । जेन–जी विद्रोहका पीडितलाई र तिनका उत्पीडकलाई नेपाली मिडियाले आ– आफ्नो प्रकाशन र प्रसारणमा के–कति स्थान र समय दियो वा दिएन भन्ने सार्वजनिक तथ्यांक छैन । पीडितहरूका बारेमा राजनीतिज्ञ, कानुनविद् र पत्रकारबाट उचित सचेतना (‘ड्यु डिलिजेन्स’) अपेक्षा गरिन्छ ।

राजनीतिक दलका उच्च नेताहरू र पत्रकारहरूको आपसी स्वार्थका करण होस् वा अज्ञानताका कारण– के–कस्ता शीर्षक समाचार लेखिँदै छन् भन्ने स्पष्ट रूपमा देख्न सकिन्छ । पीडितहरूलाई समाचार माध्यममा दिनुपर्ने महत्त्व दिएर उनीहरूको पक्ष लिन सच्चा पत्रकारिताको आवश्यकता छ भन्ने यस लेखको मुख्य विषयवस्तु छ ।

आईएफईएक्सको एक प्रारम्भिक प्रतिवेदनले जेन–जी प्रदर्शनका क्रममा १७ मिडिया हाउसलाई असर गर्ने ३५ घटना भएको दस्ताबेजीकरण गरेको छ, जसले मिडिया पूर्वाधार र रिपोर्टिङ आफैं तनावमा रहेको संकेत गर्छ । यस अतिरिक्त उक्त प्रतिवेदनमा मिडिया जेन–जी विद्रोहको पीडितहरूको आवाजमा केन्द्रित थिएन भन्ने उल्लेख गरिएको छ । वास्तवमा हालसम्म पनि मिडियाले पीडितहरूको पीडा र अनुभवलाई गहिरो रूपमा केन्द्रित गर्नुको सट्टा राजनीतिक ठूला मान्छेहरू (अभिजात वर्गलाई) जोड दिइरहेको देखिन्छ ।

उदाहरणका लागि, मुख्य धाराका नेपाली मिडिया–आउटलेटहरूमा राजनीतिक ठूला मान्छेहरू (जस्तै पूर्वप्रधानमन्त्री ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, दलका व्यक्तित्वहरू, प्रहरी प्रवक्ताहरू) को व्यापक उद्धरणको व्यक्तिगत अन्तर्वार्ता देखिन्छ । पीडितहरूको कभरेज तुलनात्मक रूपमा सीमित र छिटपुट देखिन्छ । यस्तो पत्रकारिता अज्ञानताका कारण सिर्जना भएको हो वा उद्देश्यपूर्ण हो ? जे भए पनि नेपाली मिडियालाई गम्भीर आत्मनिरीक्षणको आवश्यकता छ भन्ने देखिन्छ ।

सनसनीपूर्ण हेडलाइनहरूको आधुनिक पत्रकारिताको युगमा (विशेष गरी, डिजिटल र सामाजिक सञ्जालमा) पत्रकारिताका नियमहरूको वास्ता कसलाई हुन्छ र ? तर, विश्वसनीय पत्रकारिताले अझै पनि शुद्धता, सन्दर्भ र नैतिकतालाई लक्षित गर्छ । उदाहरणका लागि, जेन–जी विद्रोहका पीडितहरूले के देखे, उनीहरू कसरी प्रभावित भए र अधिकारी वा प्रदर्शनकारीले कस्तो व्यवहार गरे भन्नेबारे कति जना पत्रकारले तटस्थ, तथ्यपरक र आघात–संवेदनशील प्रश्नहरू गर्दै अन्तर्वार्ता लिएका छन् र प्रकाशित गरेका छन् ?

मिडियाले पीडित र उत्पीडकमध्ये कसलाई प्राथमिकता दियो (र दिँदै छ) भन्ने अनुसन्धानको विषय हुन सक्छ । मिडियाले पीडितहरूभन्दा राजनीतिक ठूला मान्छेलाई हालसम्म जसरी बढी जोड दिइरहेको छ, त्यसरी नै जोड दिइरह्यो भने पीडितहरूको आवाज दबिने जोखिम त छँदै छ, यस्तो असन्तुलनले अन्यायबारे जनचेतनालाई कमजोर बनाउन सक्छ र अन्जानमै सामाजिक परिवर्तनको गतिको प्रतिरोधलाई मद्दत गर्न सक्छ ।

पत्रकारिता फुटबल खेल रिपोर्टिङ होइन

नेपाली पत्रकारहरू सहमत हुन्छन् कि हुँदैनन् ? भन्न सकिँदैन तर सच्चा पत्रकारिता भनेको उत्पीडक र पीडितलाई समान आवाज दिनु होइन, बरु पीडितलाई उनीहरूले पाउनुपर्ने महत्त्व दिएर तिनको पक्ष लिनु हो । यस सन्दर्भमा प्रसिद्ध ब्रिटिस पत्रकार रोबर्ट फिस्कको मापदण्ड सम्झनलायक छ । फिस्कले पत्रकारहरूलाई सम्बोधन गर्दै भनेका थिए... ‘तपाईं तटस्थ र निष्पक्ष हुनुपर्छ तर पीडितहरूको पक्षमा निष्पक्ष हुनुपर्छ । रिपोर्टिङ गर्दा तपाईं फुटबल खेलका दुवै पक्षहरूलाई समान महत्त्व दिएजस्तै पीडित र उत्पीडक पक्षलाई समान समय दिनुहुन्छ भने यो एक रक्तपातपूर्ण त्रासदी हो । रिपोर्टिङको भेषमा पत्रकारले वकालत गर्नु होइन... पत्रकारले पीडित र उत्पीडकलाई समान व्यवहार गर्नु हुँदैन ।’

फिस्कले शक्तिशाली वा उत्पीडकहरूभन्दा द्वन्द्व र उत्पीडनका पीडितहरूलाई बढी ध्यान र स्थान दिनुपर्छ भन्ने निरन्तर तर्क गरेको पाइन्छ । ‘जब एक पक्ष अर्को पक्षको अत्याचारको स्पष्ट सिकार हुन्छ तब कठोर ५०/५० पत्रकारिता मापदण्ड लागू गर्नु बेतुक हुन्छ र पीडितहरूको पक्षमा निष्पक्ष हुनुपर्छ,’ फिस्क भन्छन् ।

एक हजार पृष्ठभन्दा लामो रोबर्ट फिस्कको पुस्तक ‘द ग्रेट वार फर सिभिलाइजेसन ः द कन्क्वेस्ट अफ द मिडल इस्ट’–२००५, एक ऐतिहासिक अभिलेख र नैतिक आलोचना दुवै समावेश गरिएको पुस्तक हो, जसले सत्य बताउने, पीडितहरूलाई मानवीय बनाउने र सरकारी व्याख्यानलाई चुनौती दिने प्रतिबद्धता प्रदर्शन गर्छ । फिस्कले अभिजात वर्गको सट्टा नागरिक र पीडितहरूलाई आवाज दिनका लागि पत्रकारिताको जीवन बिताएका थिए । उनले सावधानीपूर्वक गरेका अनुसन्धान, गहिरो ऐतिहासिक सन्दर्भ र नैतिक साहसले उनी आफ्नो पुस्ताका सबैभन्दा प्रभावशाली र नैतिक रूपमा प्रेरित गर्ने रिपोर्टरमध्ये एक बने ।

फिस्कको जस्तो पत्रकारिता गर्नु घटनाहरूको साक्षी बन्नु हो । त्यसका लागि पत्रकारिताले व्यावसायिक आचरण रोज्नुपर्छ । काठमाडौंको सडकमा उत्पीडकको मूल्य चुकाएकाको पीडामा पत्रकारले वस्तुनिष्ठता त्याग्नु हुँदैन । महत्त्वपूर्ण घटनाबारे समाचार सम्प्रेषण गर्नु, शक्तिलाई जवाफदेही बनाउनु र पीडितलाई केन्द्रित गर्दै र उनीहरूलाई न्याय सुनिश्चित गर्न मद्दत गर्नु पत्रकारिता हो । पत्रकारितासम्बन्धी नैतिकता भन्नाले मानव कल्याण, तर्क, समानुभूति र सामाजिक जिम्मेवारीमा आधारित सही र गलतको सिद्धान्तहरूलाई जनाउँछ । यसले हानि, निष्पक्षता, न्याय र समाजका कार्यहरूको परिणाम विचार गरेर व्यवहारलाई मार्गदर्शन गर्छ ।

समाचार रिपोर्टिङ कसरी सन्तुलित गर्ने ?

अन्यत्र जस्तै नेपालमा पनि पत्रकारितालाई लामो समयदेखि आवाजविहीनहरूको आवाज र शक्तिका विरुद्ध कमजोर वर्गको पहरेदारका रूपमा लिइँदै आएको छ । राजनीतिक अस्थिरता, सामाजिक असमानता र राज्य वा गैरराज्य उत्पीडन कायम रहेका समाजहरूमा पत्रकारिताको भूमिका अझ महत्त्वपूर्ण हुन्छ भन्ने सर्वविदितै छ । अन्याय भोगेकाहरूको अनुभव, आवाज र अधिकारलाई केन्द्रित गर्ने पीडितकेन्द्रित पत्रकारिता, उत्पीडनविरुद्ध एक शक्तिशाली प्रतिबलका रूपमा खडा हुन्छ र हुनुपर्छ ।

राजतन्त्र, गृहयुद्ध, राजनीतिक संक्रमण र सामाजिक आन्दोलनको क्रमिक इतिहास भएको नेपालमा पीडितकेन्द्रित पत्रकारिताले दुर्व्यवहारलाई उजागर गर्न, शक्तिशालीलाई चुनौती दिन र लोकतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । पीडितकेन्द्रित पत्रकारिताले राजनीतिक रूपमा ठूलो मान्छेका कथाभन्दा साधारण मानवलाई प्राथमिकता दिन्छ ।

सत्ताधारीका आधिकारिक भनाइ, सरकारी औचित्यहरू वा प्रमुख राजनीतिक आवाज मात्रै विस्तार गर्नुको सट्टा, पीडितकेन्द्रित पत्रकारिताले हिंसा, भेदभाव वा शक्तिको दुरुपयोगबाट प्रभावित व्यक्ति–समुदायको वास्तविकतालाई अगाडि ल्याउँछ । यो दृष्टिकोणले वस्तुनिष्ठता त्याग्दैन, बरु पत्रकारिता सन्तुलनलाई पुनः परिभाषित गर्छ । तटस्थताको अर्थ अन्यायको सामनामा मौन रहनु हुँदैन । जब उत्पीडकहरूले संस्था, कानुन वा आख्यानहरू नियन्त्रण गर्छन्, पीडित र अपराधीलाई समान महत्त्व दिँदा सत्य विकृत गर्न सकिन्छ । यस्तो सन्दर्भमा, नैतिक पत्रकारिताले शक्ति असन्तुलनलाई पहिचान गर्ने नैतिक दृष्टिकोणको माग गर्छ ।

नेपालमा दशक लामो माओवादी विद्रोह (१९९६–२००६) को समयमा हजारौं नागरिक राज्य बल र विद्रोही समूहबीच फसेका थिए । जबर्जस्ती बेपत्ता, गैरन्यायिक हत्या, यातना र विस्थापन व्यापक थियो । धेरै वर्षसम्म पीडित (विशेष गरी ग्रामीण, गरिब वा सीमान्तकृत पृष्ठभूमिका व्यक्ति) लाई मुख्यधारा बहसले बेवास्ता गर्‍यो । बेपत्ता पारिएका व्यक्तिहरूका परिवार, विधवा र विस्थापित गाउँलेका कथा दस्ताबेजीकरण गर्ने पत्रकारले सामूहिक स्मृतिलाई संरक्षण गर्न मद्दत गरे र पछि सत्य–न्यायको मागका लागि आधार तयार पारे ।

गृहयुद्ध अन्त्यपछि पनि नेपालले संरचनात्मक उत्पीडनका रूपहरू देखिरहेको छ । दलित, आदिवासी समुदाय, मधेशी, महिला, आप्रवासी कामदार र एलजीबीटीक्यू+व्यक्तिहरूजस्ता सीमान्तकृत समूहले प्रायः प्रणालीगत भेदभावको सामना गर्छन् । पीडितकेन्द्रित पत्रकारिताले कसरी उत्पीडन सधैं नाटकीय वा हिंसात्मक हुँदैन तर दैनिक अभ्यासहरूमा सम्मिलित हुन्छ, त्यो उजागर गर्छ । यसले शिक्षामा असमान पहुँच, नागरिक अधिकारको अस्वीकार, श्रम शोषण वा लिंग आधारित हिंसालाई पनि उजागर गर्छ । पत्रकारिताले अमूर्त मुद्दालाई मानव वास्तविकतामा रूपान्तरण गर्छ, अन्यायलाई ढाकछोप गर्न गाह्रो बनाउँछ ।

हालैका जेन–जी विरोध प्रदर्शनहरूले पीडितकेन्द्रित पत्रकारिताको सान्दर्भिकतालाई अझ स्पष्ट पार्छन् । भ्रष्टाचार, आर्थिक निराशा, शासन असफलता वा सामाजिक अन्यायबाट उत्पन्न यी आन्दोलन कहिलेकाहीं अत्यधिक बल, गिरफ्तारी वा धम्कीका साथ सामना गरिएका छन् । पत्रकारहरू विरोध हिंसा वा सम्पत्तिको क्षतिमा केन्द्रित हुनुपर्छ । तर, जब पत्रकारहरू विरोध हिंसा वा सम्पत्तिको क्षतिमा मात्रै केन्द्रित हुन्छन्, तिनीहरूले सत्तामा रहेकाको कथा बलियो बनाउने जोखिम उठाउँछन् । यसविपरीत पीडितकेन्द्रित रिपोर्टिङले संवेदनशील प्रश्नहरू सोध्छ : जस्तै को घाइते भयो ? कसलाई मौन गरियो ? राज्यको कारबाहीको लागत कसले वहन गर्छ ? प्रदर्शनकारी र दर्शकले अनुभव गरेका चोटपटक, नजरबन्द र मनोवैज्ञानिक आघातलाई दस्ताबेजीकरण गरेर पत्रकारिताले दमनकारी प्रतिक्रियाहरूलाई चुनौती दिन्छ र जवाफदेहिताको माग गर्छ ।

पीडितकेन्द्रित पत्रकारिता प्रयोग गर्दा जिम्मेवारीपूर्वक अभ्यास गर्नुपर्छ । पीडितहरूको आवाजलाई बढावा दिने र तिनको पीडाको शोषण गर्नेबीचको पातलो रेखा छ । नैतिक पत्रकारितालाई सूचित सहमति, आघातप्रति संवेदनशीलता, आवश्यक पर्दा पहिचानको सुरक्षा र सनसनीपूर्णताबाट बच्न आवश्यक छ । नेपालजस्तो समाज, जहाँ प्रतिशोधको डर वास्तविक छ (विशेष गरी ग्रामीण क्षेत्र वा राजनीतिक रूपमा ध्रुवीकृत वातावरणमा) पत्रकारले यो सुनिश्चित गर्नुपर्छ कि पीडितहरू जोखिममा नपरून् । पीडितकेन्द्रित पत्रकारिताको लक्ष्य पीडित सशक्तीकरण गर्नु हो, पीडितलाई पुनः पीडित बनाउनु होइन । 

आलोचकहरूले कहिलेकाहीँ पीडितकेन्द्रित पत्रकारिता पक्षपाती वा कार्यकर्ता प्रकृतिको हुन्छ भन्ने तर्क गर्छन् । तैपनि, त्यस्ता आलोचकहरू प्रायः परम्परागत पत्रकारिताले ऐतिहासिक रूपमा सत्तामा रहेकालाई समर्थन गरेको वास्तविकता बेवास्ता गर्छन् । परम्परागत पत्रकारिता गर्नेहरूका लागि आधिकारिक स्रोतहरू (प्रहरी, राजनीतिज्ञ, नोकरशाह सजिलै पहुँचयोग्य हुन्छन्) विश्वसनीय मानिन्छन् जबकि पीडितलाई अविश्वसनीय व्यवहार गरिन्छ । यो असन्तुलन आफैंमा पूर्वाग्रहको एक रूप हो ।

पीडितकेन्द्रित पत्रकारिताले जीवित अनुभव, प्रत्यक्षदर्शी साक्षी र सामुदायिक ज्ञान समावेश गर्न विश्वसनीयताको परिभाषालाई फराकिलो बनाएर विकृति सच्याउँछ । नेपालको विकसित हुँदै गइरहेको मिडिया परिदृश्यमा डिजिटल प्लाटफर्म र सामाजिक सञ्जालले अभूतपूर्व तरिकाले पीडित आवाज बढाएको छ । भिडियोहरू र नागरिक पत्रकारिताले राज्य–नियन्त्रित वा अभिजात वर्ग–प्रभुत्व भएका कथामाथि चुनौती दिएको छ । पत्रकारिताको यस्तो लोकतान्त्रिकीकरणले गलत सूचनाको जोखिम सिर्जना गर्छ तर यसले मुख्यधाराका मिडियामाथि पीडितहरूलाई गम्भीरतापूर्वक लिन दबाब पनि दिन्छ ।

पत्रकारसँग अब पीडितहरू खारेज गर्नुको सट्टा प्रमाणित गर्ने, सन्दर्भ सापेक्ष गर्ने र नैतिक रूपमा सेट गर्ने ठूलो जिम्मेवारी छ । अन्ततः न्याय र लोकतान्त्रिक जवाफदेहिताका लागि पीडितकेन्द्रित पत्रकारिता आवश्यक छ । उत्पीडकहरू– चाहे राज्य होस् वा संस्था, राजनीतिक अभिजात वर्ग वा शक्तिशाली सामाजिक समूह, यी सबै प्रायः मौनता, डर र नियन्त्रणमा भर पर्छन् । पीडितहरूलाई केन्द्रित गर्ने पत्रकारिताले यस्तो मौनता, डर र नियन्त्रणबाट मुक्त बनाउन सहयोग गर्छ ।

नेपालमा संक्रमणकालीन न्याय अपूर्ण छ, धेरै पीडित अझै पनि मान्यता र क्षतिपूर्तिको पर्खाइमा छन् । त्यस्तो अवस्थामा पीडितकेन्द्रित पत्रकारिता केवल एक व्यावसायिक छनोट होइन तर नैतिक दायित्व हो । सीमान्तकृत आवाजलाई बढावा दिएर, शक्तिको दुरुपयोग उजागर गरेर पत्रकारिताले सत्य, मर्यादा र सार्वजनिक हितको सेवा गर्दै सर्वोच्च उद्देश्य पूरा गर्छ । आगामी समयमा यस्तो पत्रकारिता साहसपूर्वक कति उभिन्छ भन्ने विषयले सफलता मापन गरिनेछ ।

पीडितकेन्द्रित राजनीति, कानुन र पत्रकारिता

पीडितकेन्द्रित न्यायको खोजीमा कानुन र पत्रकारिता अन्तरसम्बन्धित हुन्छन् । वर्तमानको अमेरिकी पत्रकारिता अपेक्षित काम नभएको हुन सक्छ । तर, मोन्टगोमेरी बस बहिष्कारका (१९५५–१९५६) समयमा पत्रकारहरूले रोजा पार्कको गिरफ्तारी ‘मोन्टगोमेरी एडभरटाइजर एन्ड जेट म्यागाजिन’ जस्ता अफ्रिकी–अमेरिकी पत्रिकाले पीडित अनुभवहरू रिपोर्ट गरे र प्रणालीगत अन्याय उजागर गरे । तिनीहरूको रिपोर्ट कभरेजले जनचेतना बढायो, समर्थन परिचालन गर्‍यो र सामाजिक न्यायतर्फ कानुनी–राजनीतिक अधिकारीलाई दबाब दियो । अमेरिकी सर्वोच्च अदालतले बसमा यात्रा गर्दा काला–गोरा रंगभेदलाई असंवैधानिक घोषित गर्ने फैसला गर्‍यो । 

वर्तमान समयमा भारतीय मुख्यधाराका मिडियाको प्रायः सनसनीपूर्णता, राजनीतिक पंक्तिबद्धता, पीडितकेन्द्रित रिपोर्टिङभन्दा सरकारी शक्तिलाई निरन्तर प्राथमिकता दिएकामा आलोचना गरिन्छ । युरोपेली मिडियाले युद्ध र शान्ति सम्बन्धित समाचार प्रकाशन भूराजनीतिक र सुरक्षा दबाबबाट प्रभावित छ ।

कानुनले अधिकार, जवाफदेहिता र समाधानका लागि औपचारिक रूपरेखा प्रदान गर्छ । पत्रकारिताले सार्वजनिक संयन्त्रका रूपमा कार्य गर्छ, जसले उल्लंघनहरू ल्याउँछ र संस्थागत प्रतिक्रिया माग गर्छ । पीडितकेन्द्रित पत्रकारिताले विशेष गरी शक्ति असन्तुलन र संरचनात्मक असमानताले चिनिने समाजहरूमा, प्रायः कानुनी अभिलेखबाट बहिष्कृत रहेका जीवित अनुभवको दस्ताबेजीकरण गरेर कानुनीे शासन बलियो बनाउँछ । पीडितहरूको आवाज केन्द्रित गरेर पत्रकारिताले अमूर्त कानुनी सिद्धान्तलाई मानव वास्तविकतामा अनुवाद गर्न मद्दत गर्छ, न्याय प्रणालीको नैतिक उद्देश्य सुदृढ पार्छ ।

नेपालमा जबसम्म कानुनी उपचारहरूमा पहुँच प्रायः राजनीतिक प्रभाव, सामाजिक वर्गीकरण वा संस्थागत ढिलाइले सीमित हुन्छ, पत्रकारिताले पीडित र न्यायबीच पुलका रूपमा काम गर्न सक्छ । यस्तो पत्रकारिताले कानुनी ग्यारेन्टी र वास्तविक अभ्यासलाई उजागर गर्न सक्छ । जस्तै– राज्य शक्तिलाई कार्य गर्न दबाब, कानुनी सुधार र जवाफदेहिता प्रक्रियालाई सुरक्षित गर्न सक्छ । पीडितकेन्द्रित पत्रकारिताले वस्तुनिष्ठतालाई कमजोर पार्दैन, बरु अन्यायको सामना गर्दा नैतिक जिम्मेवारी पुनः स्थापित गर्छ । तथ्यात्मक स्पष्टताबिनाको कानुन निष्क्रिय हुने जोखिम हुन्छ र कानुनी आधारबिनाको पत्रकारिता क्षणिक हुने जोखिम हुन्छ । पीडितकेन्द्रित न्यायमा पत्रकारिता र कानुनको समागमले पीडालाई बेवास्ता वा सामान्यीकृत नगर्ने तर अधिकार, मर्यादा र सार्वजनिक सरोकारको विषयका रूपमा मान्यता दिने सुनिश्चित गर्छ ।

अन्त्यमा, पीडितकेन्द्रित पत्रकारिता गर्ने वा नगर्ने निर्णय पूर्णतया प्रत्येक पत्रकारमै निर्भर हुन्छ । प्रत्येक राजनीतिज्ञ र कानूनविद्को हकमा पनि त्यस्तै हुन्छ । जब पीडितको आवाज बेवास्ता गरिन्छ तब न्याय र जवाफदेहिताको अर्थ हराउँछ । पत्रकार होस्, राजनीतिज्ञ होस् वा कानुनविद्– पीडितलाई प्राथमिकता दिएर मुद्दाको सही पक्षमा उभिनु सबैको नैतिक कर्तव्य हो ।

(देशका राजनीतिक, संवैधानिक, औद्योगिक र सामाजिक संरचनाजस्तै मिडिया क्षेत्रमा पनि गहिरो समीक्षा, आत्मसमीक्षा र परिमार्जनको आवश्यकता छ । ‘मिस्इन्फर्मेसन’ र ‘डिस्इन्फर्मेसन’ को बाढीले विश्वसनीय, जिम्मेवार र जवाफदेही पत्रकारिताको संवेदनशील भूमिका झन् धेरै आवश्यक छ । यही सन्दर्भमा आलोचना, समालोचना, समीक्षा, सुझावलाई विशेष स्थान दिन कान्तिपुरले बहस–शृंखला आरम्भ गरेको छ । हामी वस्तुनिष्ठ र जिम्मेवार बहसमा सरोकारवाला तथा विज्ञहरूको सहभागिताका लागि प्रतीक्षारत छौं ।)

कान्तिपुर : मिडिया विमर्श

कटक मल्ल स्टकहोम सेन्टर फर इन्टरनेसनल ल एन्ड जस्टिस, स्टकहोम युनिभर्सिटीका सिनियर फेलो हुन् ।

Link copied successfully