‘औद्योगिक वातावरण नहुँदा उद्योगी–व्यवसायी उत्पादनमूलक भन्दा व्यापारतिर उन्मुख’

चैत्र १८, २०८१

भवानी राणा

”In the absence of an industrial environment, industrialists and businessmen are oriented towards trade rather than production”

निजी क्षेत्रले सधैं सरकारसँग मिलेर काम गरिरहेको छ । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र लडिरहेको छ । प्रजातन्त्र आउने बेला निजी क्षेत्रको वातावरण उत्साहजनक थियो । पर्यटन, एयरलाइन्स, सेवा, मिडिया र उत्पादनलगायत धेरै क्षेत्रमा अवसर सिर्जना भएको थियो । त्यतिबेला अन्तर्राष्ट्रिय कम्पनीहरूसमेत भित्रिएका थिए । उत्पादन क्षेत्र ८० देखि ९० प्रतिशत वृद्धि भएको थियो ।

पछिल्लो समय जनयुद्ध, भूकम्प र कोरोना महामारीसमेत आयो । कोरोना महामारीमा मौद्रिक नीति राम्रै आएकाले हाम्रो अर्थतन्त्रलाई धान्न सकेको थियो । तर अहिले निजी क्षेत्र धराशयी बनेको छ । मुलुकको आर्थिक विकासका लागि अर्थतन्त्रलाई प्राथमिकता दिएर दुई ठूला दल मिलेर सरकार बनेको छ । निजी क्षेत्र उत्साहित थियो । केही अध्यादेशबाट निजी क्षेत्रमैत्री कानुन आयो तर भूमिसम्बन्धी आउन सकेन । तर पनि निजी क्षेत्रको अवस्था ओरालो र अप्ठ्यारो स्थितिमा छ ।

विश्वमा बजार बढिरहे पनि नेपालमा खुम्चिँदै गएको छ । माग र आपूर्तिमा फरकपन आइसक्यो । एकातिर बैंकहरू ऋण दिन ग्राहक कुरिरहेका छन् भने ऋण लिन कोही गइरहेका छैनन् । निजी क्षेत्रले यसअघि लिएको ऋण घरजग्गा बेचेर पनि तिर्न सकेको छैन । व्यवसाय सञ्चालन गर्न कठिन भइरहेका बेला नयाँ ऋण कसरी लिने ?

अर्कोतिर अध्यादेशबाट आएका ऐन, कानुन, नीतिहरूको कार्यान्वयनमा पनि प्रश्न उठेको छ । हामी राम्रा नीतिहरू ल्याउँछौं तर कार्यान्वयन पाटो निकै कमजोर देखिएको छ । खुम्चिएको बजार, अस्थिर नीतिले निजी क्षेत्रमैत्री वातावरण बन्न सकेको छैन । सरकारले नीति ल्याउँदा कम्तीमा १५ देखि २० वर्ष स्थिर हुनुपर्छ । र, नीति परिवर्तन गर्दा त्यस क्षेत्रमा लगानी गरेका व्यवसायीलाई समेत जानकारी दिनुपर्छ । जस्तै– नेपाल–भारतको सीमाक्षेत्रमा रहेका पुराना होटलमा क्यासिनो सञ्चालनको विषय आयो । एकैपटक क्यासिनो सञ्चालन गर्न ५ किलोमिटरको दूरी चाहिन्छ भनेपछि सबै व्यवसायी धराशयी भए । शून्य किलोमिटर वा एक किलोमिटरमा क्यासिनो सञ्चालन गर्ने व्यवस्था मिलाउन हामीले पहल गर्‍यौं । नेपालतर्फ छलफल गर्दा भारतको सुरक्षा चासोले गर्दा भनियो तर भारतको दूतावासमा कुरा गर्दा सुरक्षाको कुनै समस्या नरहेको थाहा पायौं । एउटा नीति कुनै एउटा व्यवसायी वा केही समयका लागि नभई स्थिर हुनुपर्छ ।

पछिल्लो समय भारत र अन्तर्राष्ट्रिय कम्पनीबाट लगानी आउन सकेको छैन, जुन सरकार र निजी क्षेत्रको चासो बन्दै गएको छ । जलस्रोतमा भारत सरकारको लगानी आए पनि निजी क्षेत्रको लगानी आउन सकेको छैन । हाम्रो नीतिमै सुधार गर्नुपर्ने त छँदै छ, कार्यान्वयन पक्ष पनि बलियो बनाउन जरुरी छ । सरकार, प्रदेश र पालिकाबीचको समन्वय नहुँदा धेरै अप्ठ्यारा छन् । त्यसमा पनि एकरूपता हुनु पर्‍यो । शक्ति र विकासको विकेन्द्रीकरण गर्न संघीयता जारी भयो । तर त्यसको मर्मअनुरूप हुन सकेको छैन । अहिले व्यवसायीहरू लगानी गरौं कि नगरौं भन्ने स्थितिमा छन् । लगानी डुब्ने हो कि, नीति परिवर्तन हुने हो कि वा कार्यान्वयन नहुने हो कि भन्ने विषयले गर्दा लगानी विस्तार गर्न सकेको छैन ।

बजार खुम्चिँदै गएको छ, औद्योगिक करिडोरमा १२ देखि १४ घण्टा लोडसेडिङका कारण उद्योग–व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ । नेपालमा उद्योग–व्यवसाय सञ्चालन लागत महंगो छ । त्यसलाई सस्तो बनाउन सक्नुपर्‍यो । त्यसो हुन सके आन्तरिक मात्र होइन, बाह्य लगानी पनि भित्रिनेछ । 

नेपालको जुनसुकै कालखण्डमा निजी क्षेत्रले नै मुलुकको अर्थतन्त्र धानिरहेको छ । पर्ख र हेरको अवस्थामा निजी क्षेत्र धेरै समय बस्यो । सरकार परिवर्तन हुँदा निजी क्षेत्रमैत्री केही आउँछ कि भन्दै पर्खिए । आफ्नो व्यवसायलाई निरन्तरता दिने, बढावा दिनेमा निजी क्षेत्र अहिले पनि पर्ख र हेरको अवस्थामै छ । कता कता निजी क्षेत्रमा ‘फ्रस्ट्रेसन’ आइसकेको छ । 

देशमा उत्पादन होस्, आर्थिक गतिविधि होस् र आफू पनि बनोस् र देशलाई राजस्व पनि मिलोस् भनेर निजी क्षेत्रले आफ्नो सबैथोक राखेर लगानी गर्छ । तर पछिल्लो समय निजी क्षेत्रमा निराशा पैदा भएको छ । कुनै काम गर्दा कसैलाई नसमाती काम नै पूरा नहुने जस्तो समय आएको छ । आफ्नो काम गराउन, व्यवसायलाई निरन्तरता दिन, नडुबोस् भन्न र नयाँ काम गर्न कोहीसँग ‘टाइअप’ गरेन भने गाह्रो हुने रहेछ । जस्तै, जनयुद्धका बेलामा धेरै व्यवसायी आफ्नो व्यवसाय बचाउनकै लागि माओवादीमा गए । निजी क्षेत्र सडकमा गएर आन्दोलन गर्न सक्दैन । आन्दोलन र बन्दुकको विरोधीका बाबजुद अहिले निजी क्षेत्रले आफ्नो काम गराउन साथमा कोही लिएर जाँदा काम बन्छ कि भन्ने प्रवृत्ति देखिएको छ । जसको पहुँच छ– त्यसको काम हुने, जसको पहुँच छैन– त्यसको काम नहुने प्रवृत्ति देखिरहेका छौं । 

निजी क्षेत्र र जनताले स्थिर सरकारसँगै परिवर्तन खोजेका छन् । नीतिहरू कार्यान्वयन हुन्, विकासका योजना सुरु हुन् । भैरहवा विमानस्थल बने पनि उडान छैन, त्यसलाई नियमित सञ्चालन गर्न ठोस नीति आओस् । अनिवार्य रूपमा श्रमिकलाई भैरहवाबाटै उडाउने नीति ल्याइयोस् । भारतको युपीका जनतालाई पनि लुम्बिनीको औद्योगिक क्षेत्रमा लगानी गर्न प्रेरणा दिऔं । व्यवसाय नचलेपछि वा डुब्यो भन्दै आत्महत्याका संख्या बढिरहेको छ । त्यसैले आफ्नो व्यवसाय बचाउन निजी क्षेत्रले कसै न कसैलाई गुहार्नुपर्ने अवस्था आएको छ । त्यसैले गुड गभर्नेन्स एकदमै महत्त्वपूर्ण छ । त्यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य हुन जरुरी छ । 

नेपालमा सम्भावना नै सम्भावना छ । ऊर्जामा हामीले फड्को मारेका छौं । निजी क्षेत्रले उत्पादनमूलक उद्योग गर्दा पनि वातावरण नहुने र बजार खुम्चिएकाले नेपालमै खपत गर्न सकेका छैनौं । युवाहरू विदेशिने क्रममा बढ्दो र हाम्रो माग र आपूर्ति नमिल्दा उत्पादनमूलक उद्योग फस्टाउन सकेका छैनन् । निर्यात बजारमा जान सकेका छैनौं । नेपालमा भएका जडीबुटीहरू प्रशोधन गरेर डलरमै बेच्ने वातावरण बनाउनु पर्‍यो । कहिलेसम्म भारुमा बेच्ने ? एकीकृत ल्याबको अभाव वा अरु के छ, त्यसमा सरकारले ध्यान दिनुपर्‍यो । निजी क्षेत्र उत्पादन उद्योग सञ्चालनमा अप्ठ्यारो भएकाले व्यापारमा गएको हो । नीति, लगानी विस्तार, बजारका कारण व्यापारतर्फ गइरहेको छ । औद्योगिक वातावरण नहुँदा उद्योग–व्यवसाय उत्पादनमूलक भन्दा व्यापारतर्फ उन्मुख भइरहेको छ ।

(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ मा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणाद्वारा व्यक्त विचार)

भवानी

Link copied successfully