पछिल्लो दुई दशकमा लुम्बिनीले कति प्रगति गर्यो र अहिले कहाँ पुगेको छ ? यो अवधिको वृद्धिले आगामी दशकमा लुम्बिनी कहाँ पुग्छ र अर्को एक दशकमा यो कहाँ पुग्छ भन्ने दिशा तय गर्छ । दुई दशकका यात्रा र उपलब्धिलाई विश्लेषण गर्दा आगामी दिनमा लुम्बिनी कहाँ पुग्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
म दृढ भएर भन्न सक्छु– छिट्टै लुम्बिनी प्रदेश आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रका सबै परिसूचकका रूपमा देशको सबैभन्दा अग्रणी भागमा रहनेछ । यसमा कुनै द्विविधा वा अलमलमा पर्नुपर्ने कारण छैन ।
लुम्बिनी अनायासै यहाँ आइपुगेको होइन । यसको पृष्ठभूमिमा धेरै धेरै संगठित प्रयास भएका छन् । यहाँका नेताहरू, राजनीतिक दलहरू, सामाजिक जीवनका उद्योग व्यवसाय, लब्धप्रतिष्ठत व्यक्तिहरू, आमनागरिक सबैको अथक प्रयास पृष्ठभूमिमा रहेको छ ।
अहिले गौतमबुद्ध विमानस्थल चलेन भन्ने चिन्ता छ । जुन जायज हो । चलाउनु पर्ने आवश्यकता ज्वलन्त र निकै महत्त्वपूर्ण छ । तर हिजो यहाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ कि चाहिँदैन भन्ने विवाद थियो । कतिपय मानिसले चाहिँदैन भन्दै थिए । निर्माण सम्पन्न भइसक्दा पनि विमानस्थल चाहिँदैन भन्ने बाँकी नै छन् ।
उनीहरूले कहिले आफ्नो मानसिकता बदल्ने हुन् हेर्न बाँकी छ । विमानस्थल चाहिन्छ कि चाहिँदैन भन्ने समूहको बीचमा हामी केही मानिस थियौं । जसले पहलकदमी लियौं । हामीले विमानस्थल चाहिन्छ मात्र भनेनौं, त्यसका लागि राज्यका समृद्ध निकायलाई निर्णय गर्ने तहसम्म पुर्यायौं, आवश्यक स्रोत प्रबन्ध गर्यौं र निर्माणको प्रक्रियामा प्रवेश गर्यौं । निर्माण हुँदै गर्दा पनि केही मानिस नबन्ने भयो, ठेकेदार भाग्ने भयो भन्ने कुरा गर्न थाले । तर, सबै प्रकारका आशंका चिर्दै हामीले विमानस्थल बनायौं । आज लुम्बिनीको आगमनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल छ । यसको रनवे र क्षमतालगायत हिसाबले यो अन्तर्राष्ट्रिय स्तरको पूर्ण क्षमताको विमानस्थल हो ।
दोस्रो चरणको टर्मिनल निर्माण गर्न बाँकी छ । विमान स्थलको अहिलेको टर्मिनल सानो छ, त्यसलाई आन्तरिक टर्मिनका रूपमा परिणत गरेर अन्तर्राष्ट्रिय उडानका लागि अर्को टर्मिनल बनाउने योजना छ । त्यसो भएमा यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि नेपालकै सबैभन्दा ठूलो, पर्याप्त पूर्वाधारसहितको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ ।
अहिले फेरि विमानस्थल चल्छ कि चल्दैन भन्ने प्रश्न उठेको छ । नयाँ विमानस्थल सञ्चालनमा आउँदा जहाँ पनि यो प्रश्न आउँदो रहेछ । जापान, चीन, भारतलगायत अरू राष्ट्रमा पनि नयाँ विमानस्थल निर्माण हुँदा यस्तै प्रश्न उठेका थिए । बन्दाबित्तिकै पूर्ण क्षमतामा चल्छ भन्ने हुँदैन । यसकारण यो विमानस्थलको बारेमा पनि प्रश्न उठ्नु स्वाभाविक हो ।
विमानस्थल बनाउनका लागि मात्र नभएर चलाउनका लागि बनाइएकाले छिट्टै पूर्ण क्षमता (फूल फ्लेज)मा सञ्चालन हुन्छ । विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भनेरै केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सम्बन्धित मन्त्रालय, विभाग, सरोकारवाला निकायहरूबीच पटक–पटक बैठक गरेका छौं । ती बैठकहरूमा महत्त्वपूर्ण निर्णय भएका छन् । तीमध्ये केही निर्णय कार्यान्वयनमा आइसके भने केही कार्यान्वयको चरणमा छन् ।
खास गरेर श्रम स्वीकृति, स्वास्थ परीक्षणलगायतका केही काम बाँकी छन् । ती काम पूरा हुनेबित्तिकै हामीले यो विमानस्थलमा अवतरण गर्ने र यहाँबाट उडान भर्ने जहाजका निमित्त विशेष सुविधा र सहुलियतका प्याकेज ल्याउने निर्णय गरेका छौं । यसले यो विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि टेवा पुग्छ । यसका लागि विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग छलफल भइरहेको छ । हिजो एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन सक्ने अवस्था थिएन, अहिले सातामा १५ उडान गर्ने अवस्थामा आएका छौं । अझै आलोचना हुँदै गरोस्, बाँकी पूर्वाधारको काम पूरा गरेर हामी छिट्ट्रै पूर्ण क्षमतामा विमानस्थल सञ्चालन गरेर देखाउँछौं ।
विमानस्थलसँगै यो प्रदेशका अरू पूर्वाधार निर्माणको काम पनि तीव्र रूपमा अघि बढेको छ । यात्रुले लामो समयदेखि भोग्दै आएको सास्तीलाई मध्यनजर गर्दै नारायणगढ–बुटवल सडक खण्डको काम बर्खाअघि नै एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी सम्पन्न हुन्छ । अर्को एक वर्षमा सबै निर्माण सम्पन्न हुन्छ ।
मुलुकले एउटा राजनीतिक चक्रबाट गुज्रनु परेको छ । राजनीतिक अस्थिरताका प्रभाव सामाजिक, आर्थिक तथा जीविकाका विभिन्न क्षेत्रमा देखिएको छ । त्यसकै कारण सडक निर्माण तोकिएको समयमा सम्पन्न हुन सकेन । कामले गति लिएको थिएन, अवरुद्ध बनेको थियो, जसले गर्दा धेरैलाई यो सडक बन्छ भन्ने विश्वास नै थिएन ।
कतिपयले ठेक्का तोड्नुपर्ने सुझावसमेत दिएका थिए । अर्थमन्त्रीको हैसियतले लगानीकर्ता, निर्माण व्यवसायी तथा सम्बद्ध सबै निकायसँग छलफल गरी निष्कर्ष निकाल्यौं कि यो सडक बन्नेछ । निर्माण कार्य पूरा नहुँदासम्म आशङ्का गर्नेलाई त्यो सुविधा दिनुपर्छ ।
नारायणगढ–बुटवल सडक तोकिएको मापदण्ड (स्ट्यान्डर्ड) अनुरूप नै बन्नेछ । पूर्वाधार निर्माणका सन्दर्भमा केही समस्या छन् । हामी क्यालेन्डर बनाएर समयमै काम सम्पन्न गर्ने कुरामा चुकेका छौं । यसबाहेक, आयोजना कहिल्यै पनि प्रक्षेपित लागतमा पूरा हुँदैनन्, न त निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न हुन्छन् । तर, यी सबै समस्या पहिचान गरी सुधारका लागि आवश्यक काम थालनी भइसकेको छ ।
नारायणगढ–बुटवल सडक मात्र नभई बुटवलदेखि गोरुसिंगेसम्मको सडक खण्डको ठेक्का भइसकेको छ । गोरुसिंगे–चन्द्रौटा खण्डको निर्माण कार्य सुरु भइसकेको छ । नारायणगढ–बुटवल सडकमा जस्तो समस्या यो खण्डमा हुने छैन । निर्धारित समयमै निर्माण सम्पन्न हुने गरी काम अघि बढेको छ । यो सडक निर्माणको कालखण्डमा मानिसहरूले गिज्याउँथे । हामीलाई वर्षौंसम्म मुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । यद्यपि, हामीले यी निर्माणका लागि समयमात्र बिताएका छैनौं । धेरै अनुभव पनि सँगालेका छौं ।
लुम्बिनीमा विकास यात्रा यत्तिमै मात्र रोकिने छैन । अहिले सिद्धबाबा सुरुङ मार्गको चर्चा देशैभरि छ । जुन अहिले ब्रेकथ्रु भइसकेको छ । यसले धेरै ठूलो सकारात्मक सन्देश गएको छ । यद्यपि, सिद्धबाबा सुरुङले मात्र सिद्धार्थ राजमार्गको सबै काम पूरा गर्न सक्दैन । यसकारण बुटवलदेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई १०२ किलोमिटरको ‘डेडिकेटेड’ दुई लेनमा स्तरोन्नति गर्दैछौं । सडक सञ्जालको दृष्टिकोणले यो प्रदेशलाई अत्यन्त आधुनिक र व्यवस्थित बनाउने छौं ।
विगतमा मदन भण्डारीले आवश्यकता ठानेको मुलुकका विकास पूर्वाधारमध्ये एउटा हो ‘कालिगण्डकी तिनाउ डाइभर्सन’ । यद्यपि कालिगण्डकी तिनाउ डाइभर्सनले लामो समयसम्म गति लिन सकेको थिएन । हामीले नेतृत्व लियौं, निर्माण सूचारु गर्न आवश्यक सबै पूर्वतयारी भइरहेको थियो । त्यसैबीच अदालतमा मुद्दा पर्यो । प्रक्रिया रोकियो । अहिले ‘तिनाउ डाइभर्सन’ले न्याय पाएको छ । अदालतबाट यो आयोजना निर्माण गर्नुपर्छ भन्ने फैसला आएको छ । ठूलो लगानी र केही वर्ष लाग्न सक्छ तर यो आयोजना सम्पन्न भएरै छोड्छ ।
हामीले अर्को गेमचेन्जर आयोजना ‘नौमुरे बहुउद्देश्यीय आयोजना’को काम पनि अघि बढाएका छौ । यस्ता आयोजनाबाट लुम्बिनीको मुहार फेर्ने र यहाँको लुकेको सामर्थ्य उजागर गर्ने हाम्रो योजना छ । हामीले लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्न बाँकी छ । लुम्बिनी विकास क्षेत्रको व्यवस्थापनका लागि विकास कोषको व्यवस्था गरिएको छ । तर, कोषको प्रभावकारी भूमिका नहुँदा स्रोतको पर्याप्त व्यवस्था हुँदा हुँदै पनि काम हुन सकेको छैन । यो क्षेत्रको विकासका लागि करिब ८ अर्ब लाग्छ भनिएको छ । तर, आजसम्म विकासको कामले गति लिन सकेको छैन । यद्यपि, यो काम सम्पन्न गर्न हामी प्राथमिकताका साथ लागिपरेका छौं ।
लुम्बिनीसँग आफू मात्र बाँच्ने सामर्थ्य छैन । समग्र देशलाई नै बचाउन र आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सामर्थ्य छ । यसकारण लुम्बिनीलाई धार्मिक पर्यटकीय र अरू हिसाबले पनि विकास गर्न सक्छौं । भगवान् गौतम बुद्धको जीवनसँग जोडिएका निकै महत्त्वपूर्ण ठाउँहरू यहाँ छन् । जन्मिएको लुम्बिनी, बाल्यकालमा खेलेको हुर्केको तिलौराकोट दरबार, बुद्धको अस्तु राखिएको रामग्राम (जुन उत्खनन गर्न बाँकी छ) र उनको मावली देवदह छ । यी महत्त्वपूर्ण सांस्कृतिक सम्पदालाई उत्खनन, संरक्षण, प्रवर्द्धन र विश्व बजारमा प्रचारप्रसार गर्ने काम गर्नुछ । यो कुनै बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभएर शान्ति चाहने सम्पूर्ण मानव जातिको रोजाइको स्थल बनाउन सक्छौं ।
लुम्बिनीलाई नयाँ उचाइमा पुर्याउन सहरी, औद्योगिक, शिक्षा तथा स्वास्थ्य पूर्वाधार विकासका लागि सरकार प्रतिबद्ध छ । यसका लागि मुलुकमै नयाँ मानक स्थापना हुने गरी पहलकदमी लिइरहेका छौं । यस प्रक्रियामा सबैको सहयोग र साथ आवश्यक छ ।
लुम्बिनीले प्रगति गर्न सक्ने धेरै प्राकृतिक र सांस्कृतिक सम्पदा छन् । तिनको भरपूर उपयोग गरेर हामीले धेरै लाभ लिन सक्छौं । जसबाट सबै मानकहरूमा उत्कृष्ट नतिजा प्राप्त गरेको प्रदेश बनाउन मात्र नभएर सिङ्गो अर्थतन्त्रलाई समृद्धिमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्न सकिन्छ ।
अहिले धेरैमा निराशा, चिन्ता र यहाँ केही पनि हुँदैन भन्ने नकारात्मक मानसिकता छ । अब त्यो छोड्नुपर्छ । केही वर्षअघिसम्म यहाँ राम्रा होटल थिएनन् । अहिले धेरै तारे होटल बनेका छन्, अरू तारे होटलहरू पनि निर्माणको क्रममा छन् । अरू लगानीकर्ता पनि आउन चाहनुभएको छ भने पनि अब ढिलो नगर्नुहोस् ।
लगानीको उत्कृष्ट गन्तव्यमध्ये लुम्बिनी पनि एक हो भन्ने कुरामा हेक्का राख्नुस् । निजी क्षेत्रको मनोबल बढाउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन । निजी क्षेत्रले दशकौंदेखि भन्दै आएका दर्जनौ माग पूरा हुन सकेको थिएन । यो सरकार बनेको केही दिनमै एउटै बैठकबाट अध्यादेशमार्फत २९ वटा कानुनमा संशोधन गरेका छौं । निजी क्षेत्रको मनोबल बढाउन र उनीहरूको समस्या सम्बोधन गर्न यो काम गरिएको हो । जुन निर्णयहरू लगानीमैत्री वातावरण निर्माण र विदेशी लगानी भित्र्याउन निकै महत्त्वपूर्ण छन् ।
निजी क्षेत्रको मनोबल बढाउन युवा उद्यमीहरूलाई नेपालमै व्यवसाय गर्ने वातावरण बनाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटमार्फत विभिन्न व्यवस्था गर्दैछौं । ढुक्क हुनुहोस्– लुम्बिनीलाई सबै पक्षबाट बलियो र देशकै अग्रणी बनाउँछौं ।
(‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तर्क्रिया कार्यक्रमका मुख्य वक्ताका रूपमा
उपप्रधान एवं अर्थमन्त्री पौडेलले व्यक्त गरेका विचार)
