विकासदेखि सामाजिक कार्यक्रममा जनसहभागिताले प्रभावकारी काम भएको छ : खेलराज पाण्डेय, प्रमुख, बुटवल उपमहानगरपालिका
भैरहवा — उपमहानगरपालिकाको सुन्दर पक्ष शिक्षा, स्वास्थ्य, पूर्वाधारदेखि पर्यटन विकासका कार्यक्रम रहेको नगरप्रमुखहरूले बताएका छन् । आत्मनिर्भर शिक्षा, कृषि, पर्यटनले रोजगारी सिर्जना गर्ने हुँदा ती क्षेत्रमा प्राथमिकता दिएको उनीहरूको भनाइ छ ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ अन्तर्गत दोस्रो सत्र ‘उपमहानगरको उन्नति’ मा तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले शिक्षा सुधार्ने अभियानमा लागेको बताए । यही कारण शिक्षामा राम्रो परिणाम ल्याउने पालिकाका रूपमा तुलसीपुर स्थापित हुन सकेको उनको भनाइ छ । ‘मेट्रो कलेजमार्फत ८ वटा प्राविधिक विषयमा साढे ७ सयभन्दा बढीलाई पढाइरहेका छौं । विपन्न वर्गलाई निःशुल्क गरेका छौं,’ खड्काले भने । तर संघले दरबन्दी नदिँदा शिक्षा क्षेत्रमा अलमल र अन्योल भएको खड्काको भनाइ छ ।
१५ शय्याको नगरस्तरीय अस्पताल पनि सुरु गरेको उनले जनाए । त्यस्तै, फोहोर व्यवस्थापनका लागि प्रयत्न भइराखेको समेत खड्काले बताए । पर्यटन क्षेत्रमा होमस्टे सञ्चालन गरी थारू, कुमाल जातिका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको उनको भनाइ छ । गत वर्ष ३० करोड राजस्व उठाएको बताउँदै खड्काले चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको जनाए ।
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विकासदेखि सामाजिक कार्यक्रममा जनसहभागिता गराइएको बताए । ‘फस्ट कम फस्ट सर्भिस’ भनेर ७० प्रतिशत जनता र ३० प्रतिशत स्थानीय सरकारको सहभागितामा बजेट विनियोजन गरेका छौं,’ उनले भने । पूर्वाधार विकासमा जनताको सहभागिता भएकाले काम गर्न सकेको उनको भनाइ छ । प्रदेशबाट ५ लाखभन्दा माथिको काममा टेन्डर गर्ने भनेपछि त्यो सहभागिता शून्यमा झर्न लागेको उनले बताए । ‘सहभागिताको अभ्यासले भन्दा पनि टेन्डरको प्रक्रियाले ती अभ्यासलाई छाड्दै जानुपर्ने स्थिति आएको छ,’ पाण्डेयले भने ।
सीप नभएका कारण ठूलो नेपाली युवा जनशक्ति यत्तिकै बसेको उनले बताए । ‘हामीले गरगहना बनाउनेबारे १ सय जनालाई तालिम दियौं, करिब शतप्रतिशत रोजगार भएका छन्,’ उनले भने, ‘अहिले भारतबाट अर्बौंको कृषि उपकरण आउँछ, हामीले आरन स्तरवृद्धिको कुरा गर्यौं, एउटा आरनका लागि ५ लाख दिएर वर्षमा ५ वटा आरनको स्तरवृद्धि कार्यक्रम बजेटमा राख्यौं । अहिले ती आरनको स्तरवृद्धि सुरु भएको छ ।’ किसानका लागि भैंसीका पाडी वितरण कार्यक्रम सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा ल्याएको उनले जानकारी दिए ।
२०२६ सालदेखि पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिण राजमार्ग बनेपछि बुटवल व्यापार तथा यातायात क्षेत्रको हबका रूपमा विकास हुँदै गएको उनले बताए । ‘अहिले बुटवलले शिक्षा र स्वास्थ्यमा फड्को मारेको छ, बुटवलमा ९१ हजार विद्यार्थी छन्,’ उनले भने, ‘सरकारी विद्यालयलाई देशभरिकै नमुना विद्यालयका रूपमा बुटवलले स्थापित गरेको छ ।’ शिक्षा र स्वास्थ्यलाई बुटवलले उच्च प्राथमिकतामा राखेको पनि उनले बताए ।
घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीले सडक, पूर्वाधारदेखि जलाशय क्षेत्रमा काम गरेको जानकारी दिए । ‘विगतमा घोराही सुक्खा क्षेत्र थियो । वर्षात्का बेला मात्रै खेतीपाती हुन्थ्यो । बहुउद्देश्य हिसाबले पानी जम्मा गरेर विकास, समृद्धि र रोजगारी सिर्जना गर्न अगाडि बढ्यौं,’ उनले भने, ‘अहिले ४३ वटा कृत्रिम जलाशय निर्माण भएको छ । लिफ्ट सिँचाइ र सतह सिँचाइ पनि हुन्छ ।’ जलाशयको वरिपरि पर्यटक आउने र ती क्षेत्रमा होटल पनि सञ्चालनमा आएको उनले बताए ।
‘जलाशयले जमिनलाई रिचार्ज गरेको छ । डिप बोरिङ र इनार पनि सुकेका छैनन् । खानेपानीमा सहयोग पुगेको छ,’ चौधरीले भने, ‘युवा तरकारी खेतीमा लागेका छन् ।’ ठूला खोला थुनेर ढुंगा, गिट्टी, बालुवा र पानीको सदुपयोग गर्न सकिने घोराहीको अवधारणा रहेको उनले बताए । मल र ग्यास उत्पादनको काम भइरहेको उनले जानकारी दिए । छाडा गाईबस्तु, अनाथ बालबालिका र माग्ने व्यक्तिलाई पनि व्यवस्थापन गरिएको उनले जनाए ।
पालिकाभित्र निःशुल्क रगत उपलब्ध गराएको पनि बताए । ‘मोतीबिन्दुको अपरेसन निःशुल्क हुन्छ । ज्येष्ठ नागरिकलाई मासिक रूपमा घरदैलोमा स्वास्थ्य जाँच गरिरहेका छौ,’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सर जाँच निःशुल्क गरेका छौं ।’ १९ वडा रहेको उपमहानगरका सबै क्षेत्रमा सडक सञ्जाल विस्तार भइसकेको र एम्बुलेन्स सेवाले सहजता प्रदान गरेको उनले बताए । संघ र प्रदेश सरकारले गर्नुपर्ने काम समयमा नगर्दा जनगुनासो धेरै हुने र स्थानीय तहका प्रमुखले सुन्नु परेको उनको भनाइ छ ।
