काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सात वर्षमा प्रदेश सरकारले १५ हजार किलोमिटर सडक निर्माण गरेको बताएका छन् । यस अवधिमा २२ सय किलोमिटर सडक कालोपत्रे र ४ सय किलोमिटर सडक ढलान गरेको समेत बताए ।
‘जनताको आशा, भरोसा विकासको निम्ति प्रदेश सरकार बनेको छ, जनताको आशा र भरोसा नै प्रदेश सरकार हो । गाउँमा विकास, योजनाको कुरा गर्नुस्, ती आयोजना प्रदेशबाटै सञ्चालित छन् । प्रत्येक वडा वडामा प्रदेशको कार्यक्रम बढेको छ,’ कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रमको ‘चौथो सत्र : अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै उनले भने, ‘लुम्बिनीमा चालुभन्दा पुँजीगत खर्च बढी छ । ७ वर्षको अवधिमा १ हजार १ सय ५५ वटा झोलुंगे र २ सय बढी पक्की पुल निर्माण भएको छ । १५ लाख बढी जनतााको घरमा खानेपानीको धारा पुर्याएका छौं ।’
२४ प्रतिशत सिँचाइ भूमिबाट ५५ प्रतिशत पुर्याउन सफल बताउँदै मुख्यमन्त्री आचार्यले शिक्षा क्षेत्रमा आफ्नै प्राविधिक विश्वविद्यालय बनाएको बताए । ‘अब लुम्बिनी प्रदेशलाई आवश्यक प्राविधिक जनशक्ति तयार गर्न सक्छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षको कुरा गर्दा राजनीतिक अस्थिरताका कारण केही उपलब्ध हासिल हुन सकेन । राजनीतिक अस्थिरता र सस्तो लोकप्रियताको निम्ति घाटाको बजेट ल्यायौं । घाटाको बजेट ल्याउँदा त्यसबाट निस्कने प्रतिफल राम्रो आएन । राजस्व उठ्नेभन्दा बढी आंकलन गर्यो । सञ्चित कोषमा आवश्यकताभन्दा बढी बजेट रहने अनुमान गर्यो । त्यही कारण नम्बरको हिसाबले लुम्बिनी पछाडी पर्यो ।’
कुनै जमानामा लुम्बिनी लगातार ३ वर्ष पहिलो स्थान हासिल गर्न सफल भएको जनाए । ‘७ प्रदेशमध्ये ३ वर्ष लगातार पहिलो स्थान हासिल गर्न सफल भएका थियौं । ९९.९ प्रतिशत पुँजीगत खर्च गर्ने प्रदेश पनि हो,’ उनले भने, ‘एउटा घटनाक्रमले सिंगो व्यवस्थामाथि प्रश्न खडा गर्नु बेठिक हो ।’
