काठमाडौँ — गृहमन्त्री रमेश लेखकले संविधानमा व्यवस्था भएको राजनीतिक संस्थाको सफल कार्यान्वयन भए पनि आर्थिक समृद्धिसँग जोडिएको विषय कार्यान्वयन हुनमा समय लागेको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले लुम्बिनीको भैरहवामा बुधबार आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य : अर्थ–सामाजिक शक्ति, सम्भावना र सम्बोधन’ कार्यक्रममा उनले उक्त भनाइ राखेका हुन् ।
‘संविधानले राजनीतिक अधिकारको व्यवस्था गरेको छ । राजनीतिक संस्थाको निर्माण गर्छ । राजनीतिक अधिकारको बाँडफाँड गर्छ । ती कुराहरू राम्रैसँग कार्यान्वयन भएका छन्,’ चौथो सत्र : अलमलमा अर्थनीति र राजनीति भन्ने विषयमा आफ्नो भनाइ राख्ने क्रममा उनले भने, ‘तर आर्थिक समृद्धिसँग जोडिएका विषयहरूमा कार्यान्वयन हुन ढिलाई भएको छ । समय लागेको छ । अब ढिलो नगरी अगाडि बढ्नुपर्छ ।’
अन्तर्राष्ट्रिय परिस्थिति, संसारभरिको आर्थिक मन्दी, कोभिड–१९ लगायत विभिन्न कारणले आर्थिक समृद्धिमा चुनौती थप गरेको उनको भनाई छ । संविधान जारी भएको एक दशकमा कतिपय व्यवस्था कार्यान्वयनमा राजनीतिक दल क्रियाशील रहेको र समय लागेको कुरालाई गम्भीरतापूवर्क लिइएको उनले बताए ।
यसैगरी उनले वर्तमान गठबन्धनको सरकारबारे उठेको चासोको सम्बन्धमा गृहमन्त्री लेखकले स्थिर सरकार निर्माण गर्ने उद्देश्यले गठबन्धन गरेको बताए ।
‘यो सरकार एउटा विशिष्ट राजनीति अवस्थामा निर्माण गर्नुपरेको हो । पटक–पटक सरकार २/३ महिनामा प्रधानमन्त्रीले विश्वास र अविश्वासका विषय व्यहोर्नुपर्ने र सरकार अस्थिर भइराख्नुपर्ने स्थितिबाट सरकारलाई स्थिर गर्दै अगाडि बढौं भन्ने मुख्य उद्देश्यका साथ अहिलेको गठबन्धनको सरकार गठन गरिएको हो,’ उनले भने, ‘अब सरकारले सबै कुरा बेठिक मात्र गरेको छ ठिक केही पनि गरेको छैन भन्दा पनि ठिक ठाउँमा नपुगेला जस्तो लाग्छ । सरकारले सबै कुरा गज्जब गरिसकेको छ अब गर्न बाँकी रहेन भन्ने कुरा ठिक हो जस्तो लाग्दैन । त्यस कारण भएका केही राम्रा कामका बारेमा चर्चा गर्न जरुरी हुन्छ । के खराबी छन् भने तिनलाई पनि सुधार गर्दै लानुपर्छ ।’
