काठमाडौँ — विश्वमा ५३ करोड बौद्धमार्गी रहेको र त्यसको सानो हिस्सा मात्रै पनि लुम्बिनी आए नेपालको पर्यटन सफल हुने लुम्बिनी बौद्ध विश्वविद्यालयकी सह-प्राध्यापक शारदा पौडेलले धारणा राखेकी छन् । उनले लुम्बिनीको पर्यटन सम्भावनाबारे बोल्दै त्यसका लागि बौद्ध दर्शन, कला, साहित्यमा ज्ञान बढाउन जरुरी रहेको उल्लेख गरिन् ।
बुधबार कान्तिपुर मिडिया ग्रुपले भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको तेस्रो सत्र ‘लुम्बिनीको आह्वान: अन्तर्राष्ट्रिय उडान’ मा बोल्दै पौडेलले लुम्बिनीको दिगो विकासका लागि पर्यटन पूर्वाधारका साथै बौद्ध अध्ययन, बौद्ध दर्शन, कला र साहित्यमा अनुसन्धान र अध्ययन आवश्यक रहेको बताइन् ।
‘भगवान बुद्धले बौद्ध धर्मप्रति आस्थावान् वा शान्ति चाहने कुनै पनि मान्छेले लुम्बिनी, बोधगया, सारनाथ र कुसीनगर गरी चार स्थानमा जानु र त्यहाँ जानेले परम शान्ति पाउँछन् भन्नु भएको छ,’ उनले महापरिनिर्वाण सुत्तको सन्दर्भ दिँदै भनिन्, ‘हामी बुद्ध, बुद्ध भनिरहेका छौँ तर बुद्धका दर्शनको मनन गरिरहेका छैनौँ ।’
सह-प्रा. पौडेलका अनुसार विश्वभर करिब ५३ करोड बौद्ध धर्मावलम्बी छन् । तीमध्ये ०.५ प्रतिशत अर्थात् २६ लाखजति मात्रै लुम्बिनीमा भित्र्याउने वातावरण बनाउन सकिए पनि नेपालको पर्यटन उद्योगमा उल्लेखनीय वृद्धि हुने उनको भनाइ छ । ‘बौद्ध दर्शनको राम्रो जानकारी भएमा बौद्ध पाहुनाहरू हाम्रो आचरण र व्यवहारबाट आकर्षित हुन्छन् र फेरि-फेरि लुम्बिनी आइरहन चाहन्छन्,’ उनले भनिन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा हाल ‘कोर बुद्धिजम’ र ‘अप्लाइड बुद्धिजम’ दुवै विषय अध्यापन हुँदै आएको उल्लेख गर्दै उनले विगत सात वर्षदेखि ट्राभल एन्ड टुरिजमका विद्यार्थीहरू उत्पादन भइरहेको जानकारी दिइन् । ‘हाम्रा विद्यार्थीहरूले भैरहवा र बुटवलका होटल तथा रेस्टुरेन्टमा इन्टर्नसिप गरेका छन् र अहिले चीनमा गएर थप अध्ययन गरिरहेका छन्,’ उनले भनिन्, ‘त्यस्तै, हामीकहाँ २ सय चिनियाँ विद्यार्थी अध्ययनरत छन् ।’
उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न शिक्षा, अनुसन्धान र व्यवहारिक ज्ञानको संयोजन आवश्यक रहेकोमा जोड दिइन् ।
